रामकृष्ण आचार्य स्मृति प्रतिष्ठानद्वारा स्थापित ‘आचार्य स्मृति पत्रकारिता’ पुरस्कार यसवर्ष राससका रसुवा जिल्ला समाचारदाता ज्ञानेन्द्र न्यौपानेलाई अर्पण गरिएको छ । रसुवा जिल्लाको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥यावापत उहाँलाई रु ११ हजार एक सय ११ राशिको सो पुरस्कार प्रदान गरिएको हो । ९०.३ मेगाहर्ज रेडियो लाङ्टाङको तेस्रो अधिवेशन तथा आठौँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा पत्रकार न्यौपानेलाई सो पुरस्कार सहित सम्मान समेत गरिएको थियो । आचार्यले विज्ञान एवं कृषिमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । यसैबीच सामुदायिक रेडियो सङ्घ (अकोराव)को केन्द्रीय बैठकसमेत दक्षिणी रसुवाको स्याउबारीमा शनिबार सम्पन्न भएको छ । अकोरावका अध्यक्ष अर्जुन गिरीसमेतका अधिकांश रेडियोकर्मीको सहभागिता रहेको थियो । रेडियोको महत्व र आजको आवश्यकता, लाङ्टाङ एफएमले गरिरहेको सेवाप्रति कार्यक्रमका सहभागीले उच्च प्रशंसा गरेका थिए । जिल्ला समन्वय समिति रसुवाका उपप्रमुख विजय लामाको प्रमुख आतिथ्य र रेडियो लाङ्टाङका अध्यक्ष जितेन्द्रमान श्रेष्ठको सभापतित्वमा सम्पन्न अधिवेशनमा कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, नेपाली कांग्रेसका ओमप्रसाद आचार्य, नेकपा (एमाले)का उद्वव रिजाल, नेकपा (माओवादी केन्द्र)का मेघनाथ घिमिरे, नेकपा (एकीकृत समाजवादी)का विष्णुप्रसाद देवकोटाले रेडियो लाङटाङ्को योगदान अत्यन्तै सरहानीय भएको बताउनुभयो ।