शासकहरुले देश (Country) बनाउन सक्छन तर राष्ट्रियता (Nationality) बनाउन सक्दैनन् : गंगा श्रेष्ठ

 

काठमाडौं, भदौ २५ गते ।

नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगा श्रेष्ठले ‘शासकहरुले देश (Country) बनाउन सक्छन् तर राष्ट्रियता (Nationality)  बनाउन सक्दैनन्’ भन्ने स्टाटस लेख्नु भएको मैले पढें । यसले मलाई गम्भीर बनायो । आखिर यो के हो ? यसो भन्नुको मतलब के हो ? यसको सम्बन्धमा मलाई पनि केही भन्न मन लाग्यो । शासकहरुले देश बनाउन सक्ने तर राष्ट्रियता बनाउन नसक्ने भनेको के हो ? हाम्रो देश नेपाल हो । वर्तमान नेपाल भन्ने देश पृथ्वीनारायण शाह लगायतको योगदानबाट बन्यो । नेपाली हाम्रो राष्ट्रियता हो । नेपाल भन्ने देश भएकै कारण नेपाली भन्ने राष्ट्रियता निर्माण भयो । नागरिकतामा हामीले राष्ट्रियता नेपाली भनेर लेख्छौँ । देश नेपाल नभई अरु भन्न सकिँदैन । राष्ट्रियता नेपाली नभनी अरु भन्न सकिँदैन । उहाँले ‘देशमा रहेका राष्ट्रियताहरुलाई भावनात्मक रुपमा एकताबद्ध नबनाएसम्म देशले शान्ति र समृद्धि प्राप्त गर्न सक्दैन’ पनि भन्नु भएको छ । मेरो विचारमा देशको भौगोलिक सिमारेखा हुन्छ । राष्ट्रियताको सिमारेखा भावना र संस्कृतिमा हुन्छ ।

नेपाल भन्ने देश खोज्न दक्षिण एसियाको हिमाली श्रृङ्खलाको दक्षिणतर्फको भूभागमै पुग्नु पर्ने हुन्छ । नेपाली नामको राष्ट्रियता खोज्न भने नेपाल देशको भावना, संस्कृति र नागरिकता बोकेको मान्छे जहाँ पुगेको हुन्छ, त्यहीँ पुगे हुन्छ । हामीलाई भारतीय, चिनियाँ, अमेरिकी जस्ता राष्ट्रियता भन्दा नेपाली राष्ट्रियता प्यारो लाग्छ । यस हिसाबले नेपाली राष्ट्रियता नेपाल देशमा बस्ने मान्छेको अन्तर्राष्टिय तहको राष्ट्रियता हो । यो देशसँग जोडिएको राष्ट्रियता हो । नेपाली वाह्य पहिचानको राष्ट्रियता हो भने आन्तरिक पहिचानका राष्ट्रियताहरुको पनि सम्मान गरिनुपर्छ भन्नु भएको हुनुपर्छ । त्यसलाई हामीले सहर्ष स्वीकार गर्नुपर्छ । ‘नेपाल एउटा देश हो तर यहाँका राष्ट्रियताहरुबीच अझै भावनात्मक एकता कायम हुन सकेको छैन’ पनि भन्नु भएको छ । त्यसका लागि ‘समावेशी, समानुपातिक र सहभागितामूलक लोकतन्त्रको अभ्यासबाट सम्भव हुन्छ’ भन्नु भएको छ । ‘नेपाल समाजवादी पार्टी त्यसमा प्रतिबद्ध छ’ पनि भन्नु भएको छ । राम्रो कुरा ! आन्तरिक राष्ट्रियताको उन्नयन हुनुपर्छ । त्यसका लागि समावेशी, सामानुपातिक र सहभागितमूलक लोकतन्त्रको अभ्यास गर्ने सुत्र पनि ठिक छ ।

सबै राष्ट्रियताहरुको प्रतिनिधित्व र पहुँच मार्फत् बहुआयामिक उन्नयन गरिनुपर्छ । तर, राष्ट्रियताको आवरणमा ‘जातीय पोलोराइजेशन’ खतरनाक छ । जसपामा मैले देखेकै बोलिमा पहिचान र अधिकार तर व्यवहारमा जातीय पोलोराइजेशन हो । बोली एकातिर व्यवहार अर्कैतिर देखेँ । त्यहाँ बदला देखिन्थ्यो । त्यहाँ कमजोरी देखिन्थ्यो । त्यहाँ मुख्र्याईँ देखिन्थ्यो । हजारौँ वर्ष लगाएर निर्माण भएका राष्ट्रियता हाम्रा नीधि हुन् । तिनीहरुको संरक्षण र उन्नयन गर्नु हाम्रो दायित्व हो । यो समृद्धिको एक प्रमुख आधार हो । आन्तरिक राष्ट्रियताहरुको वेवास्ता गर्दा द्वन्द्व हुने खतरा हुन्छ । तिनीहरुको सम्मान सहितको उन्नयन अनिवार्य छ । समृद्धिको मियोमा आन्तरिक राष्ट्रियताको विकास खोजौँ । गलत अभ्यास हुने खतराबाट सतर्क बनौँ । गंगा श्रेष्ठसँगको प्रत्यक्ष कुराकानीमा उहाँ सतर्क र सावधान रहनु भएको पाएको छु । समृद्धिको महअभियानमा लाग्न चाहने करोडौँ नेपालीहरुका लागि नेपाल समाजवादी पार्टी मूलमार्ग बनोस् ।
–परिवर्तन भट्टराई (कृति)

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *