जलेश्वरीमा हप्ता दिनअघि पहिरो गएको ठाउँबाट लडेर एक जनाको मृत्यु

 

खोटाङ, २९ साउन

खोटाङमा हप्ता दिनअघि पहिरो गएको ठाउँबाट लडेर एक जनाको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी माझगाउँमा गत २१ साउनको राती पहिरो गएपछि बनेको भिरबाट खसेर सोही ठाउँका ४७ वर्षीय भोजकुमार राईको शनिबार मृत्यु भएको हो ।

भीरबाट करिब डेढ सय मिटर तल खसेका राईको घटनास्थलमै मृत्यु भएको स्थानीय जनकल्याण आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष धनकुमार राईले बताए । उनी तल्लो गाउँमा झरेर घर निस्कनेक्रममा पहिरोबाट खसेका हुन् ।

करिब चार सय मिटर चौडाइमा फैलिएको पहिरो करिब सात सय मिटर तल मेकुखोलामा थुप्रिएको छ । पहिरो गएको ठाउँमा डरलाग्दो भिरालो भिर निस्किएको छ । आवत–जावत गर्ने मानव तथा गाईबस्तुलाई भिरबाट जोगाउन स्थानीयले पहिरोको शिरमा बाँसको घेराबार हालेका छन् । तर घेराबार नाघेर हिँड्नेक्रममा राई भीरबाट लड्न पुगेको प्रहरीले जनाएको छ । पहिरोले भौतिक क्षति भएको हप्ता दिनपछि नै मानवीय क्षति भएको अध्यक्ष राईले बताए ।

जलेश्वरीमा गएको पहिरोले एक करोड ५० लाखको क्षति भएको अनुमान गरिएको छ । पहिरोले साल, सल्ला र बाँस भएको वन, बारी, खरबारी, सडक लगायत बगाउँदा डेढ करोड बराबरको क्षति भएको अनुमान गरिएको ऐसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राई बताउँछन् ।

पहिरोका कारण रुद्रबहादुर राई, अधिराज राई, ललितकुमार राई, चन्द्रबहादुर राई लगायतका ११ घर उच्च जोखिममा परेको छ । स्थानीय जनकल्याण आधारभूत विद्यालय समेत जोखिममा परेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *