विभिन्न स्थानमा डुबेर पाँच जनाको मृत्यु

 

काठमाडौं, १७ साउन

दाङ, मोरङ, कञ्चनपुर, उदयपुर र धनुषामा डुबेर पाँच जनाको मृत्यु भएको छ । दाङको बंगलाचुली गाउँपालिका–२ स्थित स्याला खोलामा डुबेर घोराही उपमहानगरपालिका–१५ रतनपुर बस्ने एक युवतीमो मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं महाराजगन्ज घर भएकी १७ वर्षीया सुनिता बुढा मगर रहेकी छन् । उनको सोमबार मृत्यु भएको हो । खोला तर्ने क्रममा बगाउँदा उनी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनको खोजी गरेको थियो । सोही क्रममा घोराही उपमहानगरपालिका–१९ स्थित कटुवा खोलाको किनारमा उनको शव फेला पारेको हो ।

मोरङको विराटनगर महानगरपालिका–१९ स्थित ऋषिवन पोखरीमा पौडी खेल्ने क्रममा डुबेर सोही महानगरपालिका आमबारी घर भएका ३० वर्षीय फुलसरा ऋषिदेवको सोमबार मृत्यु भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ स्थित स्याली नदीमा डुबेर सोही ठाउँ बस्ने बैतडी सुर्नाया गाउँपालिका–५ घर भएकी १८ वर्षीया जानकी मडैको सोमबार मृत्यु भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–७ कुबिण्डे बस्ने ५० वर्षीय बौवा चापागाईको सोही ठाउँस्थित त्रियुगा खोलामा डुबेर सोमबार साँझ मृत्यु भएको छ । मुर्कुची बजारबाट घर फर्किने क्रममा उनलाई खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा खोलाको बीच भागमा उनको शव फेला परेको हो । धनुषाको हंसपुर नगरपालिका–९ रूदौली बस्ने नरेश प्रसाद साहको छोरा ९ वर्षीय प्रशान्त कुमार साहको आफ्नै घर नजिक पानी जमेको खाल्डोमा डुबेर सोमबार मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *