काठमाडौं, माघ १८ गते ।
राजनीति सबैभन्दा महत्वपूर्ण क्षेत्र हो । यसलाई सम्पूर्ण भनिन्छ । किनकि यसले थाहा छैन वा थाहा पाइन भन्न पाउँदैन । अरु सबैले माफ पाउँछन् । राजनीतिले त्यो सुविधा पाउँदैन । राजनीतिको पञ्जाबाट कुनै चिज बाहिर परेछ भने त्यो असुरक्षित हुन्छ । राजनीति जस्तो पवित्र चिज अर्को केही छैन् । राजनीतिक पुण्यभन्दा अर्को कुनै पुण्य छैन् । बाँदरको हातमा नरिवल भने जस्तै बाँदरे प्रवृत्ति भएकाहरुको हातमा राजनीति पर्दा फोहोरी भएको हो । यसको असली चरित्र सेवा हो । आम मान्छेको सेवा हो । प्रकृति, समाज र दुनियाँको रक्षा गर्ने यसको दायित्व हो । कल्याणकारी राजनीति गर्नेले कुनै भगवानको खोजी गर्नु पर्दैन । कुनै देवी देवतासँग स्वर्ग जान पाउँ भनेर लम्पसार पर्नु पर्दैन । नेपालको राजनीति कल्याणकारी भएन । स्वार्थको घेराबन्दीमा फस्यो । राजनीतिका दुस्मनले राजनीतिको घाँटी निचोरे । परिणामतः राजनीति भन्यो कि फटाहा काम भन्ने भयो । राजनीति गर्ने मान्छे पनि फटाहाको कित्तामा प¥यो । नेपालमा विभिन्न विचारधारा बोकेका पार्टी छन् । पार्टी फरक–फरक छन् । पार्टीका नाम फरक छन् । त्यसको विपरीत पार्टी सञ्चालन गर्ने मान्छे भने ठ्याक्कै एकै नासका छन् । पार्टीमा जीवनभर नाइके हुनुपर्ने । आफू कमसल भएपनि अब्बल देखाउनु पर्ने । आफ्नै पार्टी राम्रो भन्ने । म नै राम्रो छु भन्ने फूर्ति लगाउने । मेरो विचार नै राम्रो छ भन्ने ।
पार्टीभित्र गुट बनाउनै पर्ने । सानो घेरामा बसेर अवसरवादी चरित्र देखाउनै पर्ने । जुन पार्टीमा हे¥यो त्यही पार्टीमा फटाहा प्रवृत्तिका मान्छे हुने । कोही दक्षिणपन्थी भयो रे । कोही पश्चगामी भयो रे । कोही दलाल भयो रे । कोही उग्रवादी भयो रे । कोही नश्लवादी भयो रे । कोही जातिवादी भयो रे । तर, आफू चाहिँ अब्बल रे । के यो दुनियाँमा अरु सबै खराब आफू मात्रै अब्बल भन्ने हुन्छ ? तपाईँले कुन पार्टी त्यस्तो पाउनु भयो कल्याणकारी राजनीति गरेको होस् । मैले उठान गर्न खोजेको कुरा भनेको तिम्रो चिन्तन प्रणाली र कार्यशैलीको हो । पुराना पार्टी सञ्चालकहरुको चिन्तन प्रणाली र कार्यशैली खुरापाती, अधिनायकवादी भयो भनेको होइन ? आफूले चाहिँ असल राजनीति गर्ने भनेको होइन ? वैकल्पिक राजनीति गर्ने भनेको होइन ? अरुले समावेशी राजनीति गरेनन्, आफूले गर्ने भनेको होइन ? सामूहिक नेतृत्व प्रणालीबाट पार्टी सञ्चालन गर्ने भनेको होइन ? सबै जाति, भाषा, धर्म, सम्प्रदायका मान्छेलाई समान व्यहार गर्ने भनेको होइन ? आफूलाई अब्बल भन्ने तिमीले कस्तो समावेशी अभ्यास गर्दैछौ ? आफ्नो कार्य क्षमताको कहिल्यै मूल्याङ्कन गरेको छौ । कुनै विशिष्ट परिस्थितिले तिमीलाई त्यो अवसर प्राप्त भयो भन्दैमा तिमी अब्बल नै हौ त ?
आफैँलाई शीरदेखि पैतालासम्म हेरेका छौ । खै मैले त तिमीलाई त्यस्तो अब्बल त देख्दिन त । तिम्रो चिन्तन प्रणाली र कार्यशैली त नश्लीय नै देख्छु त । त्यसो भए तिमीले नश्लवादको विरोध गर्नुको कुनै तुक छ ? अरु जातीवादी भए आफू हुँदिन भनेको होइन ? अरु क्षेत्रीयतावादी भए म हुँदिन भनेको होइन ? अरु एकल नेतृत्व भए आफू सामूहिक नेतृत्व मान्छु भनेको होइन ? आखिर तिमी पनि त त्यही ड्याङको मूला रहेछौ नि ? अरु भन्दा तिमी केमा फरक देखिएयौ त ? त्यसो भए तिम्रो राजनीति वैकल्पिक भयो त ? त्यसो भए तिमीबाट राजनीतिमा शुद्धीकरणको अपेक्षा गरौँ त ? तिमीले अरुलाई आरोप लगाउँदैमा असल भयौ त ? तिम्रो कार्यशैली त झनै कनिष्ट पो देखिन्छ त ? तिम्रो कार्यशैलीले उत्पीडनको अन्त्य होला त ? अहँ मलाई त विश्वास लागेन । आफू पनि गर्न नसक्ने, नजान्ने अरुलाई पनि बाटो खुला नगर्ने तिम्रो चिन्तनलाई मैले के भनेर बुझौँ त । स्पष्ट भन तिम्रो मनमा जातिवाद छ कि छैन ? तिम्रो मनमा कुनै जाति विशेषप्रति पूर्वाग्रह छ कि छैन ? के तिमीसँग सुध्रिने ल्याकत छ ? छ भने बुढो गरुको चाल छोडिदेऊ । मार्ग खोलिदेऊ । वैकल्पिक (उन्नत) राजनीतिका लागि तयार होऊ । मापदण्ड नपुगेको तिम्रो ‘शैली’ घर भत्काई देऊ । सक्छौ ?