काठमाडौं, माघ १५ गते ।
जातीय अहंकार (घमण्डवाद) र जातीय संकिर्णता (कुण्ठावाद) वैकल्पिक राजनीतिका शत्रु हुन् । अर्थात् यी दुवै एक सिक्काको दुई पाटा हुन् । हामीले नेपालमा परम्परागत राजनीतिको विकल्पमा वैकल्पिक राजनीतिको कुरा गरेका हौँ । नेपाली राजनीतिले विगतमा जातीय अहंकारको अभ्यास गरेको देख्यौँ । त्यसैगरी जातीय संकिर्णताको पनि अभ्यास गरेको देख्यौँ । वैकल्पिक राजनीति यी दुवै राजनीतिभन्दा फरक र उन्नत हो । मुखले वैकल्पिक राजनीति भन्ने तर व्यवहारमा भने कि त जातीय अहंकार कि त जातीय कुण्ठाको अभ्यास गर्ने प्रवृत्ति देखिन्छ । यसका विरुद्धमा निर्मम नहुने हो भने वैकल्पिक राजनीति भन्न छोड्नु पर्छ । परम्परागत राजनीतिले नेपाली समाजको उन्नयन गर्न सकेन भनेर वैकल्पिक राजनीतिको कुरा गरेका हौँ । कांग्रेस र कम्युनिष्टहरुलाई हामीले परम्परागत राजनीति गर्नेहरु भनेका छौँ । उनीहरुले नेपाली समाजको बहुआयामिक विकास गर्न सकेनन् भनेका छौँ । वास्तविकता पनि त्यही हो । उनीहरुले नेपाली समाजलाई समाजवादी ढाँचामा लैजान सकेनन् । पछिल्ला दिनमा नेपालमा पेटी बुर्जुवाहरुको हालीमुहाली बढ्न थाल्यो । देशले राष्ट्रिय पुँजीको विकास गर्न सकेन । समन्यायिक वितरण हुन सकेन । मानवीय विकास सुचकाङ्कमा अत्यन्तै पछाडी परेको छ । गरिबी र बेरोजगारी उत्कर्षमा छ । युवाहरु पलायन भएका छन् । ब्रेनड्रेन डरलाग्दो अवस्थामा छ । सामाजिक उत्पीडन कायमै छ ।
अन्धविश्वास आधारित मूल्यमान्यता उस्तै अवस्थामा छन् । विगतमा नेपाली समाजले सतिप्रथाको अभ्यास ग¥यो । आज सतिप्रथा जस्तै बलिप्रथा कायमै छ । छुवाछुत कायमै छ । उचनीच कायमै छ । वर्गीय विभेद उस्तै छ । वैकल्पिक राजनीतिको पहिलो सर्त भनेको संस्कृतिमा स्तरीकरण हो । परम्परागत संस्कृतिमा क्रमभंग हो । दुनियाँ अध्यारो अवस्थामा भएको बेला बनेका चिन्तन र व्यवहारका आधारमा विभिन्न मूल्यमान्यता, संस्कार र संस्कृतिको अभ्यास भए । आजको दुनियाँमा तिनीहरु असान्दर्भिक भएका छन् । विज्ञान र प्रविधिले अभूतपूर्व विकास गरेको छ । मान्छेले अत्यन्तै सुक्षम कुरा पनि पत्ता लगाइसकेको छ । अत्यन्तै विशाल यात्रा पनि गरिसकेको छ । समाजको विभिन्न कोणबाट विश्लेषण गर्ने दृष्टिकोण पनि विकास गरेको छ । लोकतन्त्रको अभ्यासका विभिन्न मोडालिटी पनि मान्छेले विकास गरेको छ । कांग्रेस र कम्युनिष्टहरुले लोकतन्त्रका लागि विगतमा गरेको संघर्ष प्रशंसनीय छ । देश गणतन्त्रमा आइपुगेको छ । राजनीतिलाई धर्मभन्दा अलग गर्न नेपाली राजनीति सफल भएको छ । राजनीतिलाई जातीय अहंकार र जातीय संकिर्णता भन्दा माथि उठाउन भने नेपाली राजनीतिले अझै संघर्ष गर्नुपर्ने देखिन्छ । राजनीति पैसावालाको मात्रै भएको छ । मुठ्ठिभर पहुँचवालाहरुले राजनीतिलाई कब्जा गरेको अवस्था छ ।
नेपालको संविधानले लोकतन्त्र, समाजवाद, सामाजिक न्याय, प्रेस स्वतन्त्रता, मानव अधिकार जस्ता थुप्रै कुराहरु संस्थागत गरेको छ । यो नेपाली राजनीतिको ठूलो उपलब्धी हो । अपुगहरुका लागि वैकल्पिक राजनीतिको कुरा गरिएको हो । जो अगुवा उसैले बाटो फोहोर गरुवा भने जस्तै वैकल्पिक राजनीति गर्नेहरु नै जातीय र क्षेत्रीय संकिर्णतामा फसेको देख्दा चाहिँ ताजुव लाग्छ । नेपालको वैकल्पिक राजनीतिले उठाउन नसकेको मुख्य विषय भनेको उत्पीडन भित्रको उत्पीडन हो । त्यो भनेको अमुक जाती, समुदाय र क्षेत्रभित्रको वर्ग विश्लेषण भनेको हो । मधेशमा भएको उत्पीडनमा त्यहाँका जमीनदारहरुको भूमिका कति छ ? एउटा मधेसी मान्छेको सयौँ विघा जमीन छ तर अर्को मधेसी मान्छे घरजग्गा बिहीन छ । राज्यले दिएको सुविधा त्यो उत्पीडित मधेसी जनताले पाएन । उत्पीडक मधेसीले पायो । सबै मधेसी उत्पीडित छन् भन्नु नै गलत हो । मधेसी समाजमा मधेसी–मधेसी बीचको आर्थिक सामाजिक विभेदको कुरा नगर्ने हो भने के को वैकल्पिक राजनीति ? यादव, झा र मिश्र जस्ता मधेसीको आर्थिक र सामाजिक जीवनको मात्रै मुल्याङ्कन वैकल्पिक राजनीतिले गरोस् । उनीहरु उत्पीडित हुन् वा उत्पीडक हुन् भन्ने निक्र्यौल गरोस् वैकल्पिक राजनीतिले ।
करोडौँ र अरबौँको धनसम्पत्ती कुम्ल्याएको जनजाति आफैँमा उत्पीडित होइन । उत्पीडनमा नपरेको जनजाति (आर्थिक र सामाजिक रुपमा) र उत्पीडनमा परेको जनजाति (आर्थिक र सामाजिक रुपमा) बीचको भेद छुट्याउन नेपालको वैकल्पिक राजनीति असमर्थ भएको मेरो आरोप छ । सबै नेपाली महिलाहरु उत्पीडित होलान् त ? कुन समुदायमा कुन सामाजिक र आर्थिक हैसियत भएकाहरुमा महिलाको उत्पीडनको अवस्था के छ भनेर वैकल्पिक राजनीतिले निक्र्यौल गर्नु पर्दैन ? मैले उठाएको उत्पीडन भित्रको उत्पीडनको राजनीतिक मुद्दालाई वैकल्पिक राजनीतिले सुनोस् । मैले दशकौँ देखि उठाएको यो मुद्दा वैकल्पिक राजनीतिको लागि जरुरी छ । यसले अमुक जाति, समुदाय र क्षेत्रमा रहेका उत्पीडक र उत्पीडितलाई एउटै डालोमा राख्न दिँदैन । सबैभन्दा उत्पीडनमा परेकाहरुलाई राज्यले सम्बोधन गर्न पाउँछ । मैले जोड दिएर भन्न खोजेको के हो भने उत्पीडन खोज्दै वैकल्पिक राजनीति परिवार र व्यक्तिसम्म पुगोस् भनेको हो । परम्परागत राजनीति जस्तै वैकल्पिक राजनीति पनि अमुक जाति, समुदाय र क्षेत्रमा मात्रै सीमित भयो ।
त्यसले साँच्चै उत्पीडनमा परेकाहरुले लाभ लिन पाउँदैनन् भनेको हो । मैले नियालेर हेर्दैछु । वैकल्पिक राजनीति गर्नेहरुको तौर तरिका पनि उही परम्परागत राजनीति गर्नेको भन्दा फरक र उन्नत छैन । यो त मुखमा रामराम बगलीमा छुरा जस्तै मात्र हुन्छ । त्यसको पुष्टि उसको चिन्तन र व्यवहारमा हुँदैछ । केही विद्धान साथीहरुले अनावश्यक महिमामण्डन (घिउ दलेको) देख्दा भने उदेक लाग्छ । आन्तरिक सुद्धिकरण गर्न नलेख्ने हातको के काम ? र बोल्न नसक्ने मुखको के काम ? ती विद्धान साथीहरुको महिमामण्डनका भरमा वैकल्पिक राजनीति हुँदैन् । भित्र र बाहिर आलोचनात्मक र रचनात्मक बन्न जरुरी छ । भ्यागुताले स्वर्गको दरबारमा बसेको छु भनेर सोचेर के काम छ र ? जबकी उ हिलोमा फसेको हुन्छ । जुन दिन उसले आफू हिलोमै फसेको अनुभूति गर्छ त्यस दिन सच्चाईको बोध गरिहाल्छ । वैकल्पिक राजनीति जातीय अहंकार (घमण्डवाद) र जातीय संकिर्णतावाद (कुण्ठावाद) भन्दा फरक र माथि लैजान विद्धान साथीहरुको हात र मुख चलोस् । जय वैकल्पिक राजनीति ! जय उन्नत राजनीति !