काठमाडौं, माघ ८ गते ।
राजनीतिमा समावेशी अभ्यास समाजलाई एकताको सुत्रमा बाँध्ने र विकास गर्ने एउटा महत्वपूर्ण रसी हो । समावेशी मात्रै भनेर हुँदैन त्यसलाई पूर्ण समावेशी बनाउनु पर्छ । राजनीति भन्ने बित्तिकै उसको संगठनात्मक संरचनाको कुरा आउँछ । पार्टीको राजनीतिक प्रतिवेदनमा भनेको कुरा संगठनात्मक प्रतिवेदनमा आउँछ, आउनै पर्छ । यी दुई एक ठाउँमा आउन जरुरी हुन्छ । समाजमा अत्यन्तै उत्पीडनमा परेको कुनै समुदाय छ भने उसलाई सकारात्मक विभेदको नीति प्रयोग गरेर भएपनि अगाडी ल्याउनु पर्छ । अर्थात् उसलाई स्थान दिइनुपर्छ । यो विषय त्यत्ति नयाँ कुरा पनि होइन । नेपालका राजनीतिक दलहरुले हाल थोरबहुत अभ्यासमा ल्याएको पाइन्छ । महिला र पुरुषको बीचको समावेशिता धेरै जटील देखिन्छ । राजनीतिमा महिलाको अत्यन्तै न्यून सहभागिता छ । त्यसैले पुरुष बराबर महिला हुने स्थिति प्रत्येक पार्टीमा देखिएको छैन । तेत्तिस प्रतिशतको हाराहारीमा ल्याउन पनि कठिन देखिन्छ । त्यसैगरी पिछडिएको समुदाय र क्षेत्रकाहरुलाई पनि पूर्ण रुपमा समेटिएको देखिँदैन । हामीले कांग्रेस, एमाले, माओवादी, राप्रपाको महाधिवेशन ह¥यौ । उनीहरुले समावेशितालाई जोड्ने प्रयत्न गरेको देखियो । तर, पूर्ण मात्रामा समावेशिताको अभ्यास गरेको देखिएन । जसपाको चाहिँ महाधिवेशन नै नभएकाले उसको अभ्यासलाई हेर्न पाइएको छैन । अपूर्ण प्रकृतिको समावेशिताको कुरा गरेको होइन । पूर्ण प्रकृतिको समावेशिताको कुरा गरेको हो । राजनीतिमा समावेशिताको कुरा किन गरिन्छ भन्ने कुराबाट शुरु गरौँ । समाज विभिन्न जाति समुदायमा विभक्त हुन्छ । उनीहरुको विकासक्रम एकैनासले भएको हुँदैन । इतिहासमा सामाजिक न्यायको अभ्यास नहुँदा केही समुदाय अगाडी पुग्यो । कुनै समुदाय पछाडी प¥यो ।
आज हामी २१औँ शताब्दीमा छौँ । आज मानव अधिकारको कुरा हुन्छ । सामाजिक न्यायको कुरा हुन्छ । सबै व्यक्ति, परिवार, समाज र भूगोललाई समान रुपमा अगाडी लैजानुपर्ने हुन्छ । कुनै एकको प्रगतिले त्यो देशको समग्र विकास हुँदैन । त्यसैले सबैको समन्यायिक विकासका लागि समावेशिताको कुरा गरेको हो । सबैको सँगै विकास गर्नको लागि समावेशिताको मुद्दा उठान गरिएको हो । नेपाल विभिन्न जाति, भाषा, धर्म, संस्कार, संस्कृति र भूगोलको हिसाबले विविधतायुक्त छ । यसलाई नेपालले रंगीचंगी फुलबारीको रुपमा लिएको छ । कुनै फूलको विकास राम्ररी नहुँदा फूलबारीको सौन्दर्यता राम्रो नदेखिएका कारण समावेशिताको कुरा गरिएको हो । जनता समाजवादी पार्टीको समावेशिताको अभ्यास कस्तो होला भनेर मान्छेले हेर्न चाहिरहेका छन् । नेपाल मूलतः तीन जातीय क्लस्टर भएको देश हो । पहिलो आर्यखस समुदाय । दोस्रो आदिवासी जनजाति समुदाय । तेस्रो मधेसी समुदाय । यिनीहरुको जातीय जनसंख्या प्रत्येकको एक तिहाईको हाराहारीमा छ । त्यसैले उक्त पार्टीले पार्टीको संरचना निर्माण गर्दा सोही बमोजिम गर्नुपर्ने भनेको छ । तर, व्यवहारमा के भइरहेको छ भन्ने प्रश्न खडा भएको छ । पार्टीको केन्द्रको सांगठानिक संरचनामा त्यसको अभ्यास भएको छ कि छैन ? भन्ने प्रश्न सर्वत्र खडा भएको छ । धेरैले त्यसको अभ्यास भएको छैन भनेर आरोप लगाएको पाइन्छ । किन त्यस्तो भयो भनेर कतिपयले विश्लेषण गरेको पनि पाइन्छ । आन्तरिक कुराहरु विस्तारै सतहमा आउँछन् । तिनीहरुलाई सतहमा ल्याउनु पनि पर्छ । नराम्रो अभ्यास भएको भए सच्याउनु पर्छ । राम्रो भएको छ भने झनै उच्चतम अभ्यास कसरी गर्ने भन्ने सोच्नु पर्छ ।
जसपा लोकतान्त्रिक पार्टी हो । यसका छलफल र बहसका विषय जनताको बीचमा लैजानुपर्छ । पार्टीभित्र समस्या छन् भनेर लुकाउनु हुँदैन । राम्रो अभ्यास भएको छ भने पनि जनताको बीचमा लैजानु पर्छ । तर, अभ्यासमा के देखिन्छ भने राम्रो कुरा सुनाउन खोज्ने नराम्रो कुरा जनताको बीचमा लैजान नखोज्ने प्रवृत्तिले पनि घर गर्न खोजेको देखिन्छ । त्यसो गर्नु हुँदैन । त्यसो भएमा वादेवादे जायते तत्व वोध हुँदैन । पार्टी भाषमा फस्ने डर हुन्छ । पार्टीका नेता र कार्यकर्ताहरुलाई गुमराहमा राख्नु हुँदैन । पार्टीले उठाएको विचार, एजेण्डा, नीति र अभ्यास मनोगत भएका त छैनन् ? भनेर सँधै प्रश्न गरिरहनुपर्छ । पार्टीका नेता तथा कार्यकर्ताहरुको कार्यशैली कस्तो छ भन्ने परख गरिरहनु पर्छ । सहने कुरा पनि हुँदैन र फुक्र्याने कुरा पनि हुँदैन । नेपालमा कांग्रेस र एमाले जस्ता पुरानो राजनीतिक इतिहास भएका पार्टी छन् । राजावादी छन् । मधेशवादी छन् । जातिवादी छन् । विभिन्न अन्य थुप्रै दलहरु छन् । उनीहरुसँग प्रतिस्पर्धा गर्न पार्टी धेरै खारिन जरुरी छ । पार्टीका नेताहरु पनि मजाले खारिनु पर्ने देखिन्छ । कार्यकर्ताहरु पनि राम्ररी नै प्रशिक्षित हुनुपर्ने देखिन्छ । झुण्डका अभ्यास गर्ने खतरनाक प्रवृत्ति हावी देखिन्छ । आफू ठिक भन्ने मनोवृत्ति देखिन्छ । अर्को समूह पूर्ण रुपमा बेठिक आफ्नो समूह पूर्ण रुपमा ठिक भनेको देखिन्छ । त्यो दुनियाँमा नहुने कुरा जसपामा हुने कुरै भएन । यो पार्टी विभिन्न घटकहरु एक ठाउँमा आएर बनेको हो । जतिवटा घटक मिलेर यो पार्टी बनेको छ त्यत्तिनै घटक पार्टी भित्र कायम रहेको संकेत हुन्छ । कतिपय पहिचानका लागि भनेर यो पार्टी लागेको देखिन्छ ।
कपिपय समाजको बहुआयामिक विकासका लागि समृद्धिको मुद्दा लिएर आएको देखिन्छ । कतिपय त नेताहरुको पछिपछि लागेको मात्रै पनि देखिन्छ । जसपामा अब विचार, एजेण्डा र कार्यशैलीको बहस जरुरी छ । यसलाई खुलेर सतहमा ल्याउनु पर्छ । सुसुप्त अवस्थामा छोड्नु हुँदैन । विचार भनेको विकास हुने कुरा हो । त्यसैले जसपामा विचारको बहस थालिनु पर्छ । त्यसैगरी एजेण्डालाई पनि बहसको विषय बनाउनु पर्छ । कार्यशैलीको प्रश्न पछिल्ला दिनमा उठ्न थालेका छन् । त्यसलाई पनि बहस र छलफलको विषय बनाउनु पर्छ । पार्टीलाई देशव्यापी सञ्जाल भएको बनाउन जरुरी छ । कुनै एक जाति समुदायको कुरा गरेर हुँदैन । सबै जाति समुदाय र भूगोलको कुरा गरिनुपर्छ । विभिन्न पार्टीमा राजनीतिक अभ्यास गरेर आएकाहरुले आफ्नो पूरानो शैली पनि सँगै लिएको आएको देखिन्छ । जनजाति पृष्ठभूमि भएकाहरुको एक प्रकृतिको बुझाई देखिन्छ । कांग्रेस, एमाले र माओवादीबाट आएकाहरुको अर्को किसिमको बुझाई देखिन्छ । मधेशी राजनीति गरेकाहरुको अर्कै बुझाई देखिन्छ । ती सबै बुझाई हाल पनि बर्करार छन् । भंगालाहरु केही समयपछि नदीमा परिणत हुन्छन् भनिएको छ । तर तिनीहरु नदीमा पुगेको देखिँदैन । इतिहासका लिगेसीलाई नछोड्नेले वैकल्पिक राजनीतिको अभ्यास गर्ने कुरै हुँदैन । जनता समाजवादी पार्टीमा हाल समावेशिताको प्रश्न खडा भएको छ ? त्यसैगरी कार्यशैलीको पनि प्रश्न खडा भएको छ । किन यी विषय उठान भए ? भन्ने प्रश्न खडा भएका छन् । पार्टी प्रमुख नेतृत्व क्षमताको आधारमा हुनुपर्छ । त्यसमा कुनै दुई मत छैन । त्यहाँ कुनै जाति, समुदाय र भूगोल भन्ने हुँदैन ।
पछाडी परेको भूगोल वा समुदायको नै किन नहोस् क्षमता राख्छ भने उसले वैकल्पिक राजनीतिको नेतृत्व गर्न सक्छ । क्षमता राख्दैन भने पाउँदैन र दिनुहुँदैन । पार्टीको प्रमुख कार्यकारी नेतृत्व क्षमता भएको नै चाहिन्छ । विगतमा कुनै एक झुण्डको नेतृत्व गरेको भन्दैमा वैकल्पिक राजनीतिको नेतृत्व गर्न सक्दैन । कुनै समय कसैले कुनै विचार राखेको भरमा आज उसकै विचार नै कायम रहन्छ भन्ने पनि हुँदैन । नयाँ पुस्ता नयाँ विचार, एजेण्डा र कार्यशैली लिएर आएका छन भन्ने पनि बुझ्नु पर्छ । त्यसमा कसैले भ्रम पाल्नै पर्दैन । प्रमुख नेतृत्वले पनि त्यो भ्रम पाल्नु हुँदैन । उसका पछौटे नेताहरु पनि त्यस्तो भ्रमबाट मुक्त हुनै पर्छ । कार्यकर्ताहरु पनि यस बारेमा स्पष्ट हुनुपर्छ । तपाईँले पत्याउनुहोस् वा नपत्याउनु होस् नेपालमा कांग्रेस र कम्युनिष्ट जस्ता जर्बजस्त पार्टी छन् । नेपालको राजनीतिमा उनीहरुको बर्चस्व अद्यापि कायम छ । वैकल्पिक राजनीति भनेको १५/२० सिट ल्याएर २/४ जना मन्त्री हुनु होइन । वैकल्पिक राजनीति भनेको उनीहरुलाई राजनीतिबाट किनारा लगाउने भनेको हो । त्यसको ठाउँमा आफू पुगेर देशको समृद्धि निर्माणको कार्यभार पूरा गर्ने भनेको हो । पार्टीको प्रमुख नेतृत्व चयन गर्न पार्टीको विधान अधिवेशन र महाधिवेशनको प्रक्रिया शुरु गर्न ढिला गर्नु हुँदैन । तत्काल त्यो सम्भव नभएमा आर्यखस, आदिवासी जनजाति र मधेशी क्लस्टरमा एक–एक जनालाई पार्टी सञ्चालन गर्ने समावेशी प्रमुख कमाण्डको जिम्मेवारी दिइनुपर्छ । संक्रमणकालिन समस्याको समाधान गर्न यो विधि सुझाएको हुँ । विधान अधिवेशन र महाधिवेशन पछी भने यस्तो अभ्यास गर्नु हुँदैन । त्यस पछि खुला प्रतिस्पर्धाबाट अध्यक्ष एक र महासचिव एक जस्ता कार्यकारी पदको निर्वाचन गर्नुपर्छ ।