काठमाडौं, पौष ३० गते ।
नेपालमा वैकल्पिक राजनीतिको आवश्यकता महशुस भयो । त्यसैले कांग्रेस र कम्युनिष्टभन्दा अग्रगामी शक्तिको खोजी भयो । कांग्रेसले देशमा लामो समय सत्ताको अभ्यास ग¥यो । कम्युनिष्टहरुले पनि त्यही गरे । परिणाम देश आर्थिक रुपमा जर्जर बन्यो । सामाजिक र सांस्कृतिक रुपान्तरण हुन सकेन । राजावादीहरुको आश गर्ने ठाउँनै भएन । साना पार्टीहरुले देशभर पहुँच बनाउनै सकेनन् । अब के गर्ने ? देशलाई आजको अवस्थाबाट निकाश दिनुपर्ने अवस्था आयो । विश्व विज्ञान र प्रविधिको विकास गर्दै तीब्र गतिमा अगाडी बढ्यो । कतिपय देशहरुले तीन दशकमै आफ्नो देशको कायापलट गरे । प्राकृतिक स्रोत र साधन नभएका देशले पनि प्रगति गरे । मानवीय स्रोतको अभाव भएका देशले पनि प्रगति गरे । नेपाल भने सबै हिसाबले सम्पन्न हुँदा हुँदैपनि पछाडी प¥यो । नेपाल पछाडी पर्नुमा राजतन्त्रलाई दोष दिइयो । राजतन्त्र हट्यो । तर, देश त झनै उही अवस्थामा छ । आजकै कुरा गर्ने हो भने देशको पुँजीगत बजेटको खर्चनै हुँदैन । उद्योग व्यवसाय धारासायी अवस्थामा छन् ।
दलाल र बिचौलियाको दबदबा कायमै छ । भ्रष्टाचार उस्तै छ । युवाहरु प्रायः विदेशमा छन् । देश भने वृद्धवृद्धा र बच्चाबच्ची बस्ने जस्तो भएको छ । नेपालको आजको प्रमुख समस्या भनेकै गरिबी, बेरोजगारी र सामाजिक उत्पीडन हुन् । विश्व बैंकले प्रक्षेपण गरे अनुसार तीन प्रतिशतको हाराहारीमा यो बर्ष आर्थिक वृद्धि हुनेछ । राज्यका संयन्त्रहरुले परिणाममुखी काम गर्न सकेका छैनन् । पुरातन दलहरु पनि सरकारमै छन् । त्यसैगरी आफूलाई वैकल्पिक भन्नेहरु पनि कुनै न कुनै रुपमा सत्ताको वरिपरी नै छन् । तर, देशको अवस्थामा त कुनै सुधार भएको छैन । नयाँ एजेण्डा उठाएकै भरमा वैकल्पिक हुने भए नयाँ कुरा गर्नेहरु सबै वैकल्पिक हुने थिए । त्यसैले मैले विगत लामो समयदेखि पार्टीभित्र पात्र प्रवृत्तिको बहस चलाऔँ भनेको हो । त्यसले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई डेलिभरी गर्न सक्ने बनाउँछ । कर्ता अर्थात् जिम्मेवारी लिएको व्यक्तिले राम्ररी काम गर्न सकेन भने नयाँ एजेण्डा उठाएर मात्रै के हुन्छ र ? आजको प्रमुख आवश्यकता भनेको डेलिभरी आधारित राजनीति हो । हाल संघीय र प्रादेशिक मन्त्रीहरुको डेलिभरी कस्तो छ त ? नयाँ एजेण्डा सुनाएर कसले पत्याउँछ ?
हामी राम्रो छौँ भनेर हुन्छ र ? काम पो राम्रो गर्नु प¥यो त । कांग्रेस र कम्युनिष्टलाई गाली गर्ने तर आफूचाहिँ उनीहरु भन्दा गएगुज्रेको हुने हो भने कसले पत्याउँछ । कांग्रेसमा गुटको राजनीति भयो हामीले गर्दैनौँ भनेको होइन ? खोई त कार्यान्वयन भएको । अरु पार्टीमा समावेशिता भएन भनेको होइन ? खै त वैकल्पिक राजनीतिले समावेशी अभ्यास गरेको ? पार्टीमा आफ्नो पकड कायम गर्न मात्रै ध्यान दिनेले के वैकल्पिक राजनीतिको अभ्यास गर्छन ? जनताले वैकिल्पक भन्नेहरुलाई कांग्रेस र कम्युनिष्ट भन्दा व्यवहारतः फरक र उन्नत देख्नु पर्दैन ? सोही अनुरुपको व्यवहार गर्नु पर्छ । उसको चुरीफुरी त्यसबेला मात्रै उदाङ्गिन्छ जति बेला सत्ताको अभ्यासमा पिच्चु हुन्छ । परफर्मेन्स भने पिच्चु हुने अनि ठूला कुरा गर्ने ? वैकल्पिक राजनीति गर्ने फलानो मन्त्रीले राम्रो काम ग¥यो भन्ने आज कसैले सुनेको छ त ? आजको आवश्यकता ठूलाठूला र चर्काचर्का भाषण गर्नु होइन । काम गरेर देखाउनु हो ।
अरुलाई नराम्रो र आफू चाहिँ राम्रो भन्ने आत्मरतिबाट वैकल्पिक राजनीति मुक्त हुुनुपर्छ । पार्टीभित्र गुटको अभ्यास गरेर सामुहिक नेतृत्वको कार्यान्वयन हुन्छ त ? पुराना दलका मान्छेले बरु अनुभवको आधारमा केही सिन्को भाँचेको देखिन्छ । वैकल्पिक राजनीति गर्नेले त झनै पिच्चु काम गर्ने ? पुरातन दलहरुको संगठन सञ्जाल बलियो छ । स्रोत साधनको पर्याप्तता छ । जनताको भोट प्रभावित गर्छन् । जसले जित्छ उसकै हैसियत हुन्छ । नयाँ विचार र नयाँ मुद्दा भन्ने तर सामुहिक अभ्यास नभएको सांगठानिक अभ्यास गर्ने भन्ने हुन्छ र ? मुख्य कुरा गर्ने हुन्छ । भन्ने कुरा गौण हुन्छ । वैकल्पिक राजनीतिको नेतृत्व गर्नेले सबैभन्दा पहिले सामुहिक अभ्यास गर्नुपर्छ । फुटाउ र राज गर भन्ने नीतिको अभ्यास गरेर हुँदैन । विगतमा थुप्रै वैकल्पिक राजनीतिको अभ्यास गर्न खोजियो । तर, उनीहरु हराए । देशको समस्या के हो ? त्यसको सही पहिचान गर्न नसक्नु नेपालको वैकल्पिक राजनीतिको समस्या हो । आफूले देखेको समस्या जनताको जीवनसँग जोडिएन भने त्यसको के काम ? देशको समस्या एकातिर छ वैकल्पिक राजनीतिले देखेको समस्या अर्कै भएमा जनमत निर्माण गर्न सकिँदैन ।