नेपालको आजको समस्या माक्र्सवाद, लेनिनवाद र माओवादको कार्यान्वयन नहुनु हो र ?

 

काठमाडौं, पौष १७ गते ।

माओवादी केन्द्रको महाधिवेशन चलिरहेको छ । मैले मेरो ल्याकतले भ्याएसम्म राजनीतिक दर्शनको आँखाले उसलाई हेरिरहेको छु । हेर्ने क्रममा तटस्थ र निष्पक्ष हुने कुरामा सक्दो सचेत हुने पनि प्रयत्न गर्दैछु । किनकि आग्रही र पूर्वाग्रही हेराईको हार निश्चित छ । कुनैदिन म पनि नबन्दुके (बन्दुक नबोकेको) माओवादी थिएँ । म नबन्दुकेलाई महान् बन्दुकधारीहरुले बाहिरी घेरामा राखेर व्यवहार गरेको महशुस भयो । त्यसपछि मैले बाटो तताएँ । ०७० सालमा माओवादीको दर्शन, राजनीति र संगठनको घेरा तोडेर बाहिर निस्केको पनि आज ८ वर्ष भएछ । यस अवधिमा मैले फरक खालको राजनीतिक अभ्यास गरेँ, गर्दैछु । मैले आज जुन राजनीतिक संस्कृतिको अभ्यास गर्दैछु, त्यसतर्फ आज जान चाहन्न । त्यसलाई कुनै दिन हेरौँला, कुरा गरौँला । फर्केर आफ्नै राजनीतिक इतिहासलाई हेर्दा केही बढी पाकेको भने अवस्य अनुभूति भएको छ । मैले क्रान्तिकारी रुपान्तरणको राजनीतिक लाईन लिएको रहेछु भन्ने लाग्छ । किनकि मैले सत्ता बाहिरको राजनीतिमा ०४७ सालयता ३१ वर्ष आफ्नो समय खर्च गरेँ । त्यसैलाई प्रमाण मानेको छु । आजको विषय मेरो कुरा सुनाउने होइन । माओवादीको महाधिवेशन केन्द्रित आफ्नो धारणा राख्ने हो । होइन, यो माओवादी केन्द्र आज कुन दुनियाँमा बसेर राजनीति गर्दैछ ? उसलाई आजको दुनियाँ कहाँ छ भन्ने हेक्का छ कि छैन ? राजनीति आजको यथार्थमा हुन्छ कि हिजोको बखान आधारित हुन्छ । माओवादीको दर्शन के हो ? माक्र्सवाद, लेनिनवाद र माओवाद साँच्चै हो ? उसले त्यसका आधारमा राजनीति गरेकै छ त ? गलत ! उसले भ्रमको खेति गरिरहेको छ । दुनियाँलाई हेर्ने उसको माक्र्सवादी, लेनिनवादी र माओवादी आँखा आज असान्दर्भिक भइसकेको छ ।

प्रत्येक दश वर्षमा आज विश्वले कल्प फेर्दैछ भनिन्छ । अघिल्लो दशक पछिल्लो दशक पुग्दा असान्दर्भिक हुन थालेको छ भनिन्छ । माओवादीका अध्यक्षले राजनीतिक प्रतिवेदनमा सन् १८४८ देखि आजसम्मको कम्युनिष्ट धाराको खुबै बयान गरेको देखेँ । उनका कार्यकर्ताले त्यसैलाई अन्तिम सत्य ठानेर एक मतले पारित गरेछन् । अध्यक्ष तथा पार्टी नेतृत्वले कार्यकर्तालाई पुनः एकपटक भ्रमको जालमा फसाउन सफल भयो भन्ने मेरो बुझाई छ । महाधिवेशनमा माक्र्स, एंगेल्स, लेनिन, स्टालिन, माओको खुबै प्रशंसा गरे । त्यो धारालाई तान्दै–तान्दै आजको माओवादी केन्द्रमा ल्याएर टुङ्गाए । आफू असली कम्युनिष्ट भएको पुष्टि गर्न खोजे । यो उनको मान्छे फसाउने पुरानो तरिका हो, जुन आज आएर पनि दोहो¥याए । आजका केही कम्युनिष्ट भन्ने मान्छेहरुमा यो धारावाहिक गीतप्रति खुबै विश्वास र लगाव छ । यो गीत गाउँदा बढो आनन्द मान्छन् । त्यो कुरा माओवादी अध्यक्षलाई राम्रैसँग थाहा छ । उनी के कम । त्यही गीत गाउँदा आफू वरपरकाहरु खुसी हुन्छन् र आफूलाई क्रान्तिकारी नेता भन्छन् भनेर गीत गाए । स्वयम् पुष्पकमल दाहालले व्यवहारतः आफ्नै दस्तावेजको उल्लंघन गर्छन् । विगतमा गरे, आज गरिरहेका छन् र भोलि पनि गर्ने पक्का छ । महाधिवेशनमा जुन दार्शनिक धारा प्रस्तुत गरे व्यवहारतः उल्लघंन गर्ने उनै प्रथम व्यक्ति हुन् । त्यसको साँचो प्रमाण उनले राजनीतिमा खेलेको भूमिका र गरेको व्यवहार हो ।

जस्तै– विद्रोह भन्दै शान्तिपूर्ण राजनीतिको अभ्यास । उनको शान्तिपूर्ण अभ्यास पनि उही कांग्रेस र एमाले जस्तै । अरुपनि त्यही तहमा उल्लघंनकर्ता हुने दौडामा छन् । जुन कुरा व्यवहारमा लागू हुँदैन, गरिँदैन त्यसको गीत किन गाउनु परेको हो ? उनको दुनियाँलाई हेर्ने उपरोक्त दार्शनिक धारा अत्यन्तै गर्मी मौसममा अत्यन्तै जाडो भयो भने जस्तो हो । अर्थात् काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर जस्तै हो । माओवादीको त्यो दार्शनिक धारा लिक बाहिरको रेल हो । त्यसले माओवादीलाई दुर्घटनामा पार्नु बाहेक अर्को विकल्प छैन । आजसम्म माओवादी यतिकै अवस्थामा भएपनि टिक्नुको एकमात्र आधार भनेको आफ्नै दार्शनिक राजनीतिक धारालाई आफैँले उल्लंघन गरेर हो । माओवादीले पारित गरेको उक्त दार्शनिक धारालाई कार्यान्वयनमा लैजान खोज्यो भने उसको राजनीतिक यात्रा चाँडै टुगिंन्छ । आफ्नो राजनीतिक ज्यान बचाउन आफ्नै राजनीतिक दर्शनको खिलाफमा उत्रेर गरिने राजनीतिबाट जनताले के अपेक्षा गर्ने ? देशले के पाउने ! माओवादीको पीडा पनि कम दर्दनाक छैन । भन्नु परेको छ एउटा गर्नु परेको छ अर्कौ । जे गर्ने हो त्यही भन्नु पर्छ । जे भनिन्छ व्यवहारमा त्यही लागू गरिनुपर्छ । माओवादी केन्द्र भन्छ एउटा गर्छ अर्कै ।

महाधिवशेनमा प्रस्तुत दस्तावेजको अध्ययन पश्चात मैले माओवादी सुध्रेको पाइन । आफ्नो दार्शनिक धारालाई सत्य सावित गर्ने प्रयासका लागि आजको विश्व राजनीति र राजनीतिक शक्तिलाई गलत ढंगले व्याख्या गरेका छन् । जुन हिँजो गर्थे । आफूलाई क्रान्तिकारी देखाउनु पर्ने बाध्यता उनमा टड्कारो रुपमा देखियो । आफैँले देखेको सत्यमा विश्वास उनमा छैन । तर, त्यसैको टेको टेक्न माओवादी विवस छ । त्यो विवसतालाई मैले माओवादी केन्द्रको जरा उखेल्दै पात रोप्दैको संज्ञा दिएको छु । तात्पर्य के हो भने जेलाई अगाडि ल्याउनु पर्ने हो त्यसलाई दुत्कारेको छ । जेलाई दुत्कार्ने हो त्यसैको महिमा गाएको छ । राजनीति देशको विशेषतासँग जोडिएको हुन्छ । देशको माटोसँग राजनीतिलाई जोड्नपर्छ । नेपालको राजनीतिका लागि नेपालको इतिहास जोडिनुपर्छ । आजको विश्वमा नेपालको उपस्थितिका आधारमा समृद्धि खोजिनुपर्छ । नेपालको राजनीतिको लागि नेपालको समस्याबाट दर्शन बनाउनु पर्छ । अन्य दार्शनिक धारा सन्दर्भ सामग्री मात्रै हुन्छन् । दर्शन त आफ्नै देश र समाजबाट बनाउने हो वा जन्माउने हो । नक्कल गर्ने होइन । माओवादी केन्द्रले पूरै नक्कल गरेको छ । नेपालको आजको समस्या विपन्नता हो । त्यसबाट मुक्ति समृद्धिको यात्रा हो । समृद्धि आर्थिक, सामाजिक र सांस्कृतिक हुन् । आर्थिक रुपमा देश गरिब छ । त्यसबाट देशलाई बाहिर ल्याउनु पर्छ । त्यो आर्थिक पक्षमा समृद्धि हो । त्यसैगरी नेपाल सामाजिक रुपमा पनि पछी परेको छ ।

यो जाति र उ जाति भन्नै पर्दैन सबैको अवस्था दयनीय नै छ । यहाँ थुपै्र अन्धविश्वासजन्य विकृति, विसंगति र कुसंस्कार छन् । नेपाली समाजको यो अर्को सबैभन्दा ठूलो समस्या हो । गलत मूल्य मान्यताका कारण नेपाली समाजले धेरै सास्ती खेप्नु परेको छ । त्यसबाट उन्मुक्ति गर्नु सामाजिक क्षेत्रको समृद्धि हो । त्यसैगरी अर्को भनेको सांस्कृतिक समस्या हो । आर्थिक विपन्नता र अन्धविश्वासजन्य सामाजिक विश्वासका कारण गलत प्रकृतिका सांस्कृतिक मूल्यको विकास भएका छन् । बलिप्रथाको विरोध गर्दा केहीको निन्द्रा हराम हुन्छ । उ नै ठूलो उत्पीडन विरोधी भएको नाटक गर्छ । गलत र ताज्य सांस्कृतिक मूल्यको अन्त्य नै सांस्कृतिक समृद्धि हो । अर्को अर्थमा नयाँ सांस्कृतिक मूल्यको विकास अथवा निर्माण हो । नेपालको राजनीतिको केन्द्र अर्थात् जरा यहीँ छ । तर, माओवादी दस्तावेज त सन्धर्भहिन माक्र्सवाद, लेलिननवाद र माओवादको धारामा लपेटिएको छ । जुन खतरनाक छ । नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नयनको सुत्र खोज्नु आजको नेपाली राजनीतिको मुख्य कार्यभार हो । त्यसका लागि सोही बमोजिमको कार्यशैलीको निर्माण गर्नु हो । त्यसका लागि अन्तर्राष्ट्रिय राजनीति र सम्बन्धको विश्लेषण गर्ने हो । जरा देशभित्र हुन्छ भने हाँगा र पातहरु विश्वभर फैलिनु पर्छ । तर, माओवादी ठ्याक्कै उल्टो बाटोमा छ । माओवादीको राजनीतिक दर्शनको जरा देशबाहिर छ भने नेपालमा पात मात्रै छ । त्यसैले माओवादी केन्द्र आधारभूत रुपमै गलत जगमा उभिएको छ । विश्वले आज देश र समाजलाई उन्नत र समृद्ध बनाउन थुप्र्रै दर्शन र व्यवहारको विकास गरिसकेको छ । तिनीहरु धेरैनै सान्दर्भिक छन् ।

माओवादीले लास बोकेर हिँडिरहेको छ । अमेरिका जान नेपालीहरु मरिहत्ते गर्छन् । किन होला ? त्यहाँ के छ ? माओवादी दस्तावेजमा त्यो कोणबाट हेरेको देखिँदैन । जापान, दक्षिण कोरिया, सिंगापुर, चीन, स्कान्डेभियन देशहरु कसरी त्यो ठाउँमा पुगे ? त्यो प्रश्नको जवाफ माओवादी दस्तावेजमा छैन । साम्राज्यवाद, विस्तारवाद, अग्रपन्थी, दक्षिणपन्थी, यथास्थितिवाद जस्ता शब्दहरुमा रुमलिएर माओवादी ठिक ठाउँमा पुग्दै पुग्दैन । नेपाल पूर्वीय दर्शनको केन्द्र हो । यसले नेपाली जनजीवन प्रभावित छ । त्यसभित्रका विकृतिलाई तोडेर त्यसको झनै उन्नयन गर्नु पर्दैन नेपाली राजनीतिले ? माओवादी दस्तावेज यसबारे पूर्णतः बेखबर छ । पिँध नभएको लोटा जस्तै भएको छ । माओवादी कम्युनिष्टको लेपन दल्न बाध्य छ । राष्ट्रिय पुँजीको विकासको लागि ठोस आधार खै ? कृषिमा आधुनिकीकरणको सुत्र खै ? व्यापार घाटा र सोधानान्तर घाटा किन हुन्छ ? पुँजीगत खर्च किन हुन सक्दैन ? भ्रष्टाचार किन रोकिँदैन ? त्यसको अन्त्यका लागि के गर्ने जस्ता विषय प्राथमिकतामा पर्नु पर्छ । त्यसैका आधारमा राजनीतिक दर्शको विकास गर्नुपर्छ । जनतालाई त्यसैका आधारमा गोलबन्द गरेर नेतृत्व गर्नुपर्छ । नेपालको आजको समस्या माक्र्सवादको कार्यान्वयन नहुनु हो र ? लेनिनवादको कार्यान्वयन नहुनु हो र ? माओवाद कार्यान्वयन नहुनु हो र ? जे गर्नु पर्ने त्यो नगर्ने । जुन कुरा गर्नुको कुनै तुक छैन त्यसैलाई प्राथमिकता दिनु माओवादीको गम्भीर गल्ती हो ।

 

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *