काठमाडौं, मंसिर २७ गते ।
राक्षस कुलका हिरण्यकशिपुका चार छोरा थिए । प्रह्लाद कान्छा थिए । उनी भगवत भक्त र सत्य प्रतिज्ञ थिए । एकान्तमा बसेर हरेकिर्तन गरिरहन्थे । यो जगत झूटो प्रपञ्च हो भन्थे । अरु बालक खेल्दैखेल्दै प्रह्लादकहाँ पुग्थे । कोही–कोही उनको कुरा सुनेर बस्थे । शुक्रचार्य राक्षस कुलका बालबालिकालाई पढाउँथे । उनी राक्षसहरुका गुरु थिए । एकदिन शुक्रचार्य कतै गएकाले ती बालकहरु प्रह्लाद भए ठाउँमा गए । एउटाले सोध्यो, ‘प्रह्लाद, तिमीसँग भगवद् भक्ति र प्रेम मात्रै छ । भगवद् ज्ञानका कुरापनि गरिरहन्छौँ । तिमीलाई यस्तो ज्ञान कसरी प्राप्त भयो ?’ प्रह्लादले यसको गुदी कुरा बताउन थाले –मेरा पिता हिरण्यकशिपु मन्दराचल पर्वतमा तपस्या गर्न गएका थिए । त्यसबेला इन्द्रादी देवताहरुले हाम्रो नगरमा आक्रमण गरे ।
राजमहलमा पसेर लुटपाट पनि गरे । देवराज इन्द्रले मेरी आमा कयाधुलाई अपहरण गरेर लगे । आमा रोइरहेकी थिइन् । त्यो देखेर देवर्षि नारदले ईन्द्रलाई सोधे, ‘हे देवराज, यी निर्दोष नारीलाई कहाँ लैजान लागेको ? यस्तो कर्म उचित हुँदैन । यी सति साध्वई नारी हुन् । यिनलाई छाडीदेऊ ।’ इन्द्रले भने, ‘यिनका गर्भमा हिरण्यकशिपुका प्रभावशाली छोरो छ, जो असुर रुपमा छ । यो बालक जन्मेपछि त्यसलाई मारेर मात्र छाडीदिन्छु । नारदले भने, ‘हे देवराज, तिमी यो बालकलाई मार्न पाउँदैनौ । नारदले यति भनेपछि इन्द्रले छाडी दिए । त्यसपछि नारदले मेरी आमालाई आफ्नो आश्रममा लिएर गए । त्यतिबेला म आमाको गर्भमा थिएँ । उनी हरेक दिन मेरी आमालाई उपदेश दिन्थे ।
सारा जगतका कर्ता भगवानका लीला सुनाउँथे । परब्रम्ह परमात्माको रहस्य बताउँथे । यो कुरा मेरी आमाले त बिर्सिन होला । भगवानको कृपाले मैले अझै बिर्सेको छैन ।’ प्रह्लादको कुरा सुनेपछि अर्काले सोध्यो, ‘मेरो चित्त परब्रम्ह परमात्मातिर मात्रै जान्छ भन्छौ । तिमीले अटुट रुपमा भगवद् चिन्तन गरेको थाहा पायाँै । भगवद्को चिन्तन भनेको के हो ? हामीलाई पनि बताउन ।’ भगवद् चिन्तन भनेको परमात्माकै बारेमा किर्तन गर्नु र लीला सुन्नु हो । भगवद् ज्ञान जति सुनेपनि अघाइँदैन । सुनिहरन मन लाग्छ । हरेक दिन उनै सच्चिदानन्दको भजन गाइरहन मन लाग्छ । जति गायो त्यतिनै गाउँगाउँ लागिरहन्छ । यसका लागि निष्काम भावले कर्म गर्दै रहनु पर्छ । सबैमा दयाभाव राख्नु पर्छ ।