काठमाडौं, असोज १२ गते ।
नेपाली समाजमा अध्ययन गर्ने विषयलाई गलत ढङ्गले बुझिने गरिन्छ । अध्ययन गर्नुलाई आम प्रतिष्ठाको विषय बनाइन्छ । अध्ययनलाई शक्ति र सम्पत्ति आर्जन गर्न मात्रै केन्द्रित गरिन्छ । शिक्षा आर्जन गर्ने विषयसँग उपर्युक्त कुराहरुको सम्बन्ध नै नभएको त होइन तर तिनीहरुलाई नै प्रधान बनाइनु चाहीँ गलत हो । शिक्षाको सम्बन्ध ज्ञान आर्जन गर्नुसँग सम्बन्धित छ । सही शिक्षाले सही ज्ञान दिन्छ । सही ज्ञानले उन्नत चेतना जागृत गराउँछ । शिक्षाको सम्बन्ध व्यवहारमा सफलता प्राप्त गर्नुसँग हुन्छ । आफूले गर्न चाहेको काम सफलतापूर्वक सम्पन्न गर्न आवश्यक ज्ञान आर्जन गुर्नुसँग शिक्षाको निकटतम् सम्बन्ध हुन्छ । नेपाली समाजमा शिक्षालाई यस हिसाबले नलिइने भएका कारण विद्यमान शिक्षा प्रणालीमा आमुल सुधार गर्नुपर्छ ।
छोरीलाई पढाउनुको कारण राम्रो केटासँग विवाह गर्न हो भन्ने समाजिक बुझाईले नेपाली समाजमा आज पर्यन्त गहिरो जरा गाढीरहेको छ । छोरालाई पढाउनुको कारण ठूलो मान्छे बनाउन हो भन्ने आम धारणा छ । छोरीलाई पढाउनु पर्ने उपर्युक्त कारण भेदभावपूर्ण छ भने छोरालाई पढाउँदा गरिने अपेक्षा पनि ठिक छैन । छोराछोरी दुबैलाई पढाउन एक समान धारणा हुनु पर्छ । शिक्षासँग सम्बन्धित बुझाई आफ्नो रुची अनुसारको विषयको गहिरो ज्ञान आर्जनसँग हुनुपर्छ । त्यसको अनिवार्य सर्त चेतनाको विकास हुनुपर्छ । कुनै व्यक्तिले राम्रो अङ्क ल्याएर माथिल्लो तहसम्म अध्ययन गर्छ तर आचरण भ्रष्टाचार गर्ने र कुनै न कुनै हिसाबले कसैलाई ठग्ने गर्छ भने त्यो कक्षा चढाईको कुनै अर्थ रहँदैन । व्यभिचारमा लिप्त हुने, अन्धविश्वासमा आधारित संस्कारहरुको आँखा चिम्लेर समर्थन र अबलम्बन गर्ने प्रकृतिको भए त्यो शिक्षाको कुनै सार्थकता हुँदैन । शिक्षालाई जीवनसँग जोडेर हेर्न सक्नुपर्छ । जीवनसँग छुट्टिएको शिक्षाको कुनै काम हुँदैन ।