काठमाडौं, साउन ३२ गते ।
प्रत्येक व्यक्तिको फरक–फरक क्रियाकलापले प्रत्येक व्यक्तिलाई फरक–फरक ठाउँमा पु¥याउँछ । व्यक्तिको दिनचर्या नै उसको संस्कार हो जसले उसलाई पुजनीय वा घृणित बनाउँछ । त्यसैले नैतिक शिक्षा अन्तर्गत पर्ने संस्कार सिक्नुपर्छ । तर संस्कारका नाममा अन्धविश्वास आधारित वा खराब मूल्यमान्यतालाई आत्मसात् भने गर्नु हुँदैन । जुन संस्कृतिजन्य संस्कारले व्यक्तिको जीवनलाई उल्लेखनीय रुपमा माथि उठाउँछ त्यसैलाई आत्म्सात् गर्नुपर्छ । संस्कार भनेको सभ्यता विकासको आधार हो । मानव सभ्यताको विकासमा संस्कारको अध्ययन हुन्छ । आजपनि समाजमा उचनीच हावी छ । मान्छेले मान्छेलाई पशुको व्यवहार गरेको देखिन्छ । बोक्सीको नाममा गरिएको अत्याचार हामीले देखेकै छौँ । आर्थिक रुपमा कमजोरहरुलाई ठूला–ठालूले पेलेको पनि देखेकै छौँ ।
कुनै समाज यस्ता पनि छन् कि त्यहाँ कुनै पनि प्रकारका अमानवीय गतिविधि हुँदैनन् । मान्छेले मान्छेलाई सम्मान गरेको पाइन्छ । यो पनि संस्कारको विषयमा पर्छ । जाति, भाषा, देश, वर्णका आधारमा मानिस फरक हुनु उसको रहरको विषय होइन । मान्छेले म यो जाति, भाषा, देश र वर्णमा जन्मन चाहन्छु भनेर हुँदैन । त्यो उसको काबुभन्दा बाहिरको कुरा हो । तर मूल्यमान्यता वा संस्कार भनेको नितान्त व्यक्तिको काबुमा रहने कुरा हो । उसले त्यसको विकास कसरी गर्छ भन्ने मात्रै हो । त्यसैले आफ्नो नियन्त्रणमा रहेको संस्कारलाई उन्नत बनाउन सकिन्छ । उन्नत बनाउन वा बदल्न सकिने कुरालाई लाचार भएर बदल्न वा उन्नत बनाउन नखोज्नु चाहिँ मुर्खता हो । त्यो मुर्खतालाई व्यक्तिले तोड्न सक्नुपर्छ । त्यसैमा नै महानता हुन्छ । उच्च मूल्ययुक्त संस्कार निर्माण गर्न प्रत्येक व्यक्ति तयार हुनुपर्छ । त्यसको फाइदा स्वयम् व्यक्ति, परिवार, समाज र देशलाई हुन्छ ।