राजनीतिक समाजशाश्त्र समाजमा राजनीतिक पक्षको अध्ययन र उपस्थितिको विषय हो ।

 

काठमाडौं, असार २६ गते ।

राजनीतिक समाजशाश्त्र भनेको समाजमा राजनीतिक पक्षको अध्ययन हो । समाजमा राजनीतिक उपस्थिती हो । राजनीति र समाजबीचको सम्बन्धa हो । समाज बृहत्तर क्षेत्र वा विषय हो । मानवशास्त्रले समाजको मानवीय पक्षको अध्ययन गर्छ । अर्थशास्त्रले समाजको आर्थिक पक्ष हेर्छ । भूगोलशास्त्रले समाजको भौगोलिक पक्षको अध्ययन गर्छ । मनोविज्ञानशास्त्र समाजको मनोविज्ञानको पक्षसँग सम्बन्धित छ । त्यसैगरी इतिहास र संस्कृति लगायतका विषयहरु सबै समाजभित्रकै विषय हुन् । मानवीय समाजसँग सम्बन्ध राख्ने वा जोडिने सबै विषयहरु समाजको दायरामा पर्छन । त्यसैगरी राजनीतिपनि समाजको एक प्रमुख अङ्ग हो । राजनीति समाजभित्र हुन्छ तर त्यही समाजलाई अत्याधिक प्रभाव पार्छ । समाजलाई बदल्ने औकात राख्छ । हो त्यसैले सामाजिक जीवनमा राजनीतिलाई बढी ख्याल गरिन्छ । त्यसै कारण राजनीति गर्ने वा नगर्ने सबैले राजनीतिलाई हेर्ने र बुझ्ने गर्छन । राजनीति सामाजिक जीवनको अनिवार्य पक्ष हो । जसलाई चाहेर वा नचाहेर स्वीकार्नु वा भोग्नु पर्छ । सामाजिक जीवनमा त्यसको जीवन्त प्रभाव हुन्छ । जसको प्रभावशाली उपस्थिती हुन्छ । राजनीति समाजभित्र गरिन्छ । त्यसैले राजनीतिकर्मीले प्रत्येक समाजलाई बुझ्न सक्नुपर्छ । होइन भने राजनीति समाजसँग जोडिन सक्दैन ।

समाजलाई उन्नत बनाउने वा बदल्ने भन्ने कुरा त टाढाको विषय बन्छ । यो विभिन्न पक्षको समिश्रण हो । यो समुदाय र देश अनुसार फरक हुनसक्छ । समाजको चरित्र नबुझी राजनीति गर्नु भनेको डाक्टरले रोग पत्ता नलगाई उपचार थाले जस्तो हो । नेपाली राजनीतिको विडम्बना यहीँ छ । सिङ्गो नेपाली समाज छ । यसको थ्रप्रै उपागमहरु छन् । नेपाली राजनीतिकर्मीहरुलाई यस पक्षको ज्ञान वा वास्ता छैन । त्यसैले त नेपालको राजनीतिक लिगभन्दा बाहिर गुडेको रेल जस्तो भएको छ । नेपाली समाज वा नेपाली जनताले खोजेको एउटा छ भने नेपाली राजनीतिले अर्कै डेलिभर गरिरहेको छ । यो त गाईलाई दाल, भात र तरकारीको मिष्ठान्न खुवाए जस्तो भयो । यस्तो राजनीतिले नेपाली समाजलाई बदल्ने त कुनै गुन्जायस नै छैन । त्यही भएर नेपाली राजनीतिमा विकल्पको खोजी हुनुपर्छ भन्ने प्रश्न अन्तर–कुन्तरबाट उठ्ने गरेको छ ।

राजनीति समाजको खातिर निर्मित विधा हो । यो आफैँ परिचालित हुँदैन । त्यसको लागि संरचना निर्माण गरिन्छ । त्यही संरचना मार्फत राजनीति प्रवाहित हुन्छ । समाजलाई बदल्न त्यति सजिलो हुँदैन । किनकि समाज कम्पोजिसन हो । अर्थात् मिश्रण हो । समाज बदल्नु भनेको सामाजिक मिश्रणलाई नै बदल्नु हो । आर्थिक जीवन बदल्नु हो । सामाजिक चिन्तन बदल्नु हो । साँस्कृतिक स्तरिकरण गर्नु हो । राजनीतिले समाजलाई कसरी हेर्नुपर्छ भनेर विभिन्न दृष्टिकोणहरु बनेका छन् । माक्र्सवादी दृष्टिकोण, बहुलवादी दृष्टिकोण, वेवेरिन दृष्टिकोण लगायतका दृष्टिकोणहरु छन् । समाजलाई राजनीतिक चश्माले हेर्ने हो तर त्यो चश्मा दोषी हुनुहुँदैन । कार्ल माक्र्स, म्याक्स वेवर, इमाइल दुर्खिम जस्ता विद्धानहरुले निर्माण गरेका यस सम्बन्धी आ–आफ्नै दृष्टिकोण छन् । राजनीतिक समाजशास्त्र भनेको मुलतः राजनीतिक सामाजिकीकरणको विषय हो । यसको प्रभावकारिताको मूल्यलाई प्रत्येक राजनीतिकर्मीले ध्यान दिन जरुरी हुन्छ । नेपाली राजनीति त्यहीँ चुकेको छ । राजनीतिलाई सत्ताको सिँढीको रुपमा बुझ्नु र त्यही अनुरुप व्यवहार गर्नु राजनीतिक फोहोरीपन हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *