काठमाडौं, जेष्ठ ८ गते ।
शाहवंशकालमा कुमारीलाई नेपालकै उच्च र सम्मानित देवीका रुपमा मान्दै सिक्का निकाल्ने र कुमारीचोक अड्डा स्थापना समेत गरियो । तत्कालिन कुमारी चोक अड्डालाई महालेखा परीक्षकको कार्यालयको रुपमा विकास गरिएको छ । वि.सं. ०६५ जेष्ठ १५ गते सम्म नेपाल राज्य धर्मसापेक्ष अर्थात हिन्दु धर्ममा आधारित राज्य थियो । हिन्दु धर्ममा आधारित धर्मसापेक्ष राज्य भएकै कारण कुमारी सांस्कृतिक परम्परा र राज्यको सम्बन्ध जोडिन पुगेको हो । यो परम्परा धान्नको लागि राज्यले आर्थिक व्ययभार व्यहोर्न थाल्यो । श्रावण शुक्ल द्वादशी, पचली भैरवयात्रा, विहारयात्रा, सेतो मत्स्येन्द्रनाथको स्नान तथा रथारोहणको समयमा कुमारीको विशेष यात्रा हुन्छ । विभिन्न सांस्कृतिक अवसरमा वर्षको १३ दिन कुमारीलाई घर बाहिर निकाल्ने चलन छ ।
कुमारीको हेरचाह गर्ने शाक्य परिवारलाई चिताइदर भनिन्छ । पौराणिक ग्रन्थहरुका अनुसार कुमारी काठमाडौंका संरक्षक देवताको रुपमा मानिने देवता पचली भैरवकी छोरी हुन् । ती ग्रन्थहरुकै अनुसार काठमाडौं राज्य पचली भैरवलाई पराजित गरी एक दैत्यले कब्जामा लिएको थियो । कुमारीले उक्त राज्य दैत्यबाट खोसेर बाबुलाई फिर्ता दिएकी थिइन् । त्यस हिसाबले पनि कुमारीलाई शक्तिको प्रतीकको रुपमा पनि हेर्ने गरिन्छ । काठमाडौंका शाक्य परिवारका ३ देखि ६ वर्षसम्मका बालिकाहरुमध्येबाट कुमारी छान्ने परम्परा छ । कुण्डली राम्रो भएकी शरीरमा चोट नलागेकी बालिका छानेर राष्ट्रप्रमुख समक्ष पेश गर्ने चलन छ । दशैंको महाअष्टमीको दिन हनुमानढोकाको मुलचोकमा प्रतिस्थापन गरी उनको पुजा गर्ने चलन छ । प्रत्येक समुदायका मानिस संस्कृतिप्रेमी हुन्छन् र यो सांस्कृतिक परम्पराको आस्था पनि काठमाडौंबासीमा व्यापक छ ।