काठमाडौं, जेष्ठ ७ गते ।
ठाकुर र महतोको अवसरवाद वैकल्पिक राजनीतिको यात्रामा एक ठेस ।, नेपालका एक अध्यक्ष महन्थ ठाकुर र एक वरिष्ठ नेता राजेन्द्र महतोले पटक–पटक पार्टी विरुद्ध गतिविधि गरिरहेका छन् । एकपछि अर्को गर्दै पार्टीलाई बदनाम गरिरहेका छन् । पार्टी निर्णयलाई पटक–पटक उल्लंघन गरिरहेका छन् । उनीहरुले पार्टीको निर्णय विरुद्ध पटक–पटक गरेको क्रियाकलाप असह्य प्रकृतिका छन् । विगतमा नै उनीहरुले गम्भीर गल्तीहरु गरेका थिए । गल्ती सच्याउँछन् भन्ने अपेक्षा सहित उनीहरुलाई छुट दिने काम भयो । तर, झन पछि झन उनीहरुले पार्टी विरुद्ध क्रियाकलाप गर्दै गएका छन् । केपी शर्मा ओलीका हरेक असंवैधानिक कदमको समर्थन गरेका छन् । ओली नेपाली राजनीतिका एक धुर्त पात्र हुन् । उनले राष्ट्रपति संस्थाको चरम दुरुपयोग गरेका छन् । आफ्नो पार्टी फुटाएर धुलो–धुलो पारे । दुई तिहाई नजिक बहुमतको सरकारलाई क्षतविक्षत पारे । समृद्ध नेपाल र सुखी नेपालीको नारा लगाएर त्यसको विरुद्धमा काम गरिरहे । देश झनै आर्थिक र सामाजिक रुपमा कमजोर हुँदै गएको छ । कोरोना संक्रमणका कारण दैनिक सयौँ जनताले मृत्युवरण गरिरहेका छन् ।
राजनीतिलाई त पूरै दुर्गन्धित बनाए । देशको राजनीति आजको अवस्थामा आउनुमा ओली नै प्रमुख जिम्मेवार हुन् । भारतीय नाकाबन्दी विरुद्ध राष्ट्रवादको नारा लगाएर जनताको मत बटुले । प्रधानमन्त्री भएपछि सबैलाई लत्याउँदै गए । आज देशलाई यस्तो दुर्दशामा पु¥याए । त्यस्तो खलपात्र ओलीलाई महन्थ ठाकुर र राजेन्द्र महतोले साथ दिइरहेका छन् । पार्टीले महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउँन खोज्दा समेत मानेन् । आफू प्रधानमन्त्री नहुने तर ओलीलाई प्रधानमन्त्रीमा टिकाई राख्न खोज्नुको रहस्य के हो ? आफू प्रधानमन्त्री हुँदा रेशम चौधरी लागयतकालाई छुटाउन सहज हुन्छ कि ओली प्रधामन्त्री हुँदा छुटाउन सजिलो हुन्छ । ठाकुर र महतोको नियत ठिक छैन भन्ने यहिँबाट पुष्टि हुन्छ । मधेशको माग पुरा गर्न ओली चाँहदैनन् । दाउपेचको राजनीति गर्न माग पुरा गर्ने नक्कली कुरा गरेका हुन् । किस्ताबन्दीमा माग पुरा गर्ने भन्दै छन् । ओलीले सत्ता जोगाउन ठाकुर र महतोको दुरुपयोग गरिरहेका छन् । ओलीको त्यो कपटपूर्ण खेललाई उनीहरुले जानाजान साथ दिइरहेका छन् ।
संविधानको धारा ७६(१) हुँदै धारा ७६(५) पुगिसके । सरकार गठनको अन्तिम धारामा पुग्न सफल भइसकेका छन् । उक्त धाराबाट पनि सरकार बन्न नसकेको देखाएर देशलाई मध्यावधि निर्वाचनमा लैजान खोजिरहेका छन् । यदि मध्यावधि निर्वाचन भयो भने ठाकुर र महतोले के पाउँछन् । मधेस आन्दोलनको रापतापमा बल्लबल्ल १५–१६ सिट ल्याएका थिए । आज मधेसमा त्यो अवस्था छैन् । एमाले र कांग्रेसको संगठन मधेसमा बलियो छ । उनीहरुले पाएको त्यो सिट शुन्यमा पु¥याइदिन्छन् । त्यसबेला उनीहरुको चुरीफुरी के हुन्छ ! मधेसी जनताले के भन्दैछन् ? नसुने जस्तो र नथापाए जस्तो गर्दैछन् । आज सबैभन्दा बढी विरोध ओलीको भइरहेको छ । त्यसपछि ठाकुर र महतोकै भइरहेको छ । जनता समाजवादी पार्टीका नेता कार्यकर्ता उनीहरुको क्रियाकलाप विरुद्ध छन् । पार्टीका कार्यकर्ता, समर्थक र शुभचिन्तकलाई चिड्याइरहेका छन् । म आफैँ जसपाको एक कार्यकर्ता हुँ । ठाकुर र महतोको हर्कत देखेर आजित भएको छु । यी दुई पात्रले पार्टीलाई बन्धक बनाएर राखेका छन् ।
पार्टी एकीकरण भएको एक वर्ष भइसक्यो । केन्द्रीय कमिटीको एक पटक बैठक बसेको छैन । प्रदेश, पहिचानका प्रदेश, जिल्ला र स्थानीय कमिटीहरु छिटपुट बाहेक समायोजन भएका छैनन् । जनवर्गीय संगठनहरुको हालत पनि उस्तै छ । तटस्थ बस्ने नाटक गरे तर ओलीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे । आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने भएमा वा राष्ट्रिय सहमतिको सरकार बन्ने भएमा मात्रै सरकार गठनका लागि अग्रसर हुने भन्ने पार्टीको निर्णय भएको थियो । सोही बमोजिम कार्यकारिणी समितिको बैठक बोलाइएको थियो । दुई अध्यक्षको संयुक्त हस्ताक्षर गरेर प्रेस विज्ञप्ति पनि स्वयम्ले जारी गरे । मनमा एउटा कुरा बोकेर बाहिर नाटक मञ्चन गरेका रहेछन् । यी दुई पात्रले पहिचान र अधिकारको कुरा खुबै गर्छन् । त्यो सुन्दा हासो लाग्छ । गर्नेलाई भन्दा देख्नेलाई लाज ! कपटपूर्ण राजनीति गर्नलाई यिनीहरुले त ओलीलाई नै पो उछिन्ने रहेछन् । सबैभन्दा आश्चार्यको कुरा त ठाकुर तिमी प्रधानमन्त्री बन । तिमीलाई प्रधानमन्त्री बनाउन पार्टीले भूमिका खेल्छ भन्दा मानेन् ।
मधेशको माग पुरा गराउन ओली नै चाँहिन्छ भन्दै ओलीका पक्षमा हस्ताक्षर गरे । यो कस्तो पात्र हो जो आफूमा विश्वास गर्दैन । मधेसको हिमायती भन्छ तर मधेसको माग पुरा गर्न आफू प्रधानमन्त्री हुन मान्दैन । पार्टी सञ्चालन गर्ने न्यून क्षमता पनि रहेनछ भन्ने गुनासो पार्टीभित्र व्याप्त छ । यस्तो अध्यक्षबाट वैकल्पिक राजनीति सम्भव हुँदैन भन्ने आम पार्टी पंक्तिमा झाँगिएको छ । आफ्ना कार्यकर्ताले के भन्दैछन् भन्ने थाहा नै पाउँदा रहेनछन् । ओलीको राजनीतिक अवसान धेरै दर्दनाक देख्छु मैले । आफू र आफ्ना गुटका बाहेक अरु सबैलाई देख्नै नसक्ने र मिल्नै नसक्ने कस्तो चिन्तन र स्वभाव होला ! त्यस्तो व्यक्तिका पछि–पछि ठाकुर र महतो दौडिरहेका छन् । एक वर्षको अवधिमा यी दुई पात्रलाई राम्ररी चिन्ने अवसर प्राप्त भयो । सुध्रिने गुञ्जायस मैले चाहिँ देखिन् । काम गर्दागर्दै गल्ती हुनु एउटा कुरा हो । जानीजानी पटक–पटक योजनावद्ध गल्ती गर्नेबाट सुध्रिने आशा गर्न सकिँदैन । पार्टीलाई यिनीहरुले झनै दुर्घटनामा पार्ने भए । त्यसैले बिना मुलाकाज यी दुई पात्रलाई पार्टीले तुरुन्तै कारबाही गर्नुपर्छ । पार्टीले त्यो आँट गरोस् । जनता समाजवादी पार्टी, नेपाल –जीन्दावाद !