सन् १८१४ देखि १८१६ सम्म नेपाल र अङ्ग्रेजबीच भएको युद्धपछि सुगौली सन्धि भएको थियो ।

 

काठमाडौं, वैशाख २५ गते ।

सन् १८१४ देखि सन् १८१६ सम्म नेपाल र अङ्ग्रेजबीच भएको युद्धपछि सुगौली सन्धि भएको थियो । उक्त युद्धमा नेपालले आफ्नो एक तिहाई भूभाग गुमाउनु परेको थियो । उक्त युद्ध अन्त्यका लागि नेपाल र अङ्ग्रेजबीच सुगौली सन्धि भएको थियो । भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लाको सुगौली भन्ने सहरमा सन्धि भएको थियो । सुगौली सन्धिमा ५ भाग गरेर नेपालले आफ्नो भूभाग गुमाएको थियो ।

काली र राप्ती नदीबीचको तल्लो समथर भूभाग, राप्ती र गण्डक नदीबीचको तल्लो समथर भूभाग, गण्डक र कोशी नदीबीचको तल्लो समथर भूभाग, मेची र टिस्टा नदीबीचको तल्लो समथर भूभाग र मेचीदेखि पूर्वको सम्पूर्ण पहाडी भूभाग तथा कालीदेखि पश्चिमको सम्पूर्ण भूभाग गुमाउनु परेको थियो । सन् १८५७ मा भारतमा भएको सिपाही बिद्रोह दबाउन जंग बहादुर राणाले सहयोग गरे बापत नेपालको हालको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाहरु सन् १८६० मा अङ्ग्रेजले नेपाललाई फिर्ता गरेको थियो ।

उक्त ४ जिल्लाको कुल क्षेत्रफल ९ हजार २ सय ७ वर्ग किलोमिटर रहेको छ । अङ्ग्रेजबाट ४४ वर्षपछि उक्त भूभाग नेपाललाई फिर्ता भएको थियो । अङ्ग्रेजबाट फिर्ता भएको उक्त भूभागलाई नयाँ मुलुक भन्ने गरिएको छ । सुगौली सन्धिको ड्राफ्ट सन् १८१५ डिसेम्बर २ का दिन गरिएको थियो भने सन् १८१६ मार्च ४ का दिन हस्ताक्षर गरिएको थियो । फिर्ता भएका उक्त भूभागलाई राणा परिवारले बिर्ताको रुपमा प्रयोग गरेका थिए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *