काठमाडौं, वैशाख २३ गते ।
बिरामी भएर हस्पिटल जाँदा डाक्टरले सोध्ने पहिलो प्रश्न भनेको तपाईँले चुरोट रक्सी खानुहुन्छ ? दोस्रो प्रश्न माछामासु कतिको खानुहुन्छ ? त्यसैको जगमा डाक्टरले रोग खोज्न थाल्छ । त्यसैको आधारमा औषधिको सिफारिस पनि गर्छ । टीभी, रेडियो, पत्रपत्रिका, सामाजिक सञ्जालमा सरकार, गैरसरकारी संस्था, क्लब, स्कुल, कलेज आदि सबै ठाउँमा चुरोट, रक्सी, मासुको बारेमा सचेतना सञ्चार भइरहेका हुन्छन् । कसैले पनि चुरोट, रक्सी र मासु खानै पर्छ भनेको पाइँदैन । फलफूल, सागसब्जी, साधा, उसिनेको खानेकुरा स्वस्थकर हुन्छ भनेकै सुनिन्छ । तर व्यवहारमा भने नगर्नु भनेकै कुरा बढी गरेको पाइन्छ ।
अझ धन भएका, पढेका, देशविदेश घुमेका, अगुवा भनिएकाहरुनै यसमा नाइके भएको पाइन्छ । यो चिन्ताको विषय हो । केही वर्ष पहिलेसम्म मदिरा खानु डरको विषय हुन्थ्यो । लाजको विषय हुन्थ्यो । आज यो घर–घरमा सगुनको रुपमा प्रबेश गरेको छ । यसले जीवनशैलीलाई विकृत बनाउँदै छ वा सुसंस्कृत ? आजकाल रक्सी खानुलाई जातले रोक्न सकेको छैन । धर्मले छेक्न सकेको छैन । असभ्यताको सूचकले रोक्न सकेको छैन । यो त दुःख सुखको साथी जस्तो पो भएको छ ! खुसी हुँदापनि, दुःखी हुँदापनि, उत्सव मनाउँदापनि, थकान मेटाउँदापनि, उपहार दिँदापनि उही चुरोट, रक्सी र मासु अझ रक्सी ! मदिरा सेवन गर्ने घर परिवार र व्यक्तिलाई विगतमा नराम्रो नजरले हेरिन्थ्यो भने आज सानमा विस्तारै रुपान्तरण हुँदैछ ।
आखिर यो भएको के हो ? कतिपयले त मात्रा मिलाएर मदिरा सेवन ग¥यो भने औषधिको काम गर्छ भनेको सुनिन्छ । मदिरामा अल्कोहल हुन्छ । त्यो अल्कोहलले मात्रा मिलाएमा औषधिको काम त गर्ला तर मात्रा मिलाएर कसले खाने ? त्यसैले यो वाहियात तर्क हो । फरि औषधिको काम गर्न सम्बन्धित रोग त लाग्नु प¥यो नि । फ्रान्समा बनेको ‘क्याम्यु ५.५’ नाम गरेको एक बोतल मदिराको नेपाली बजार मूल्य ४ लाख ९४ हजार पर्छ । यस हिसाबले ५० रुपैयाँ देखि ५ लाख मूल्य पर्ने मदिरा नेपाली उपभोक्ताले उपभोग गर्छन् । शरीरलाई विषाक्त गर्ने सबै खानेकुरा विष नै हुन । नेपाल बिस्तारै मदिरा संस्कृतिमा रुपान्तरण हुँदै गएको छ । यसलाई रोक्न जरुरी छ ।