काठमाडौँ, वैशाख ३ गते ।
सहिष्णुता र अतिथि देवो भवः संस्कार भएको नेपाली समाजमा पशु बलीको कलंक पोतिएको छ । विभिन्न धर्म र ती धर्म आधारित संस्कार र संस्कृतिले नेपाली समाजलाई सभ्य बनाएको पनि छ । तर, कतिपय यस्ता प्रथा र परम्परा कायम छन् जसले यही समाजमाथि प्रश्न चिन्ह खडा गरेका पनि छन् । आजको हाम्रो चासो भनेको संस्कृतिलाई झनै उन्नत बनाउने हो भने संस्कृतिको नाममा अभ्यासमा रहेका विकृतिको भण्डाफोर गरेर त्यसको अन्त्य गर्ने हो । हामी आज दशैँ मनाई रहेका छौँ । यसमा हामीलाई खुसी छ । आम नेपालीहरु प्रफुल्लित छन् । यसमा केही प्रतिक्रिया जनाउनु आवश्यक छैन् । दशैँ जसलाई हिन्दू धर्मावलम्बीहरुको ठूलो चाड भनिन्छ । झनै यसलाई महान् चाडको संज्ञा पनि दिने गरिएको छ । ठूलो वा महान् दुवैको अर्थ हुन्छ महत्व बढी दिनु । महान् भनिएको दशैँमा बलिप्रथा अभ्यासमा छ । यसलाई संस्कृति भन्ने वा विकृति ? यो प्रश्नले मलाई विगत देखिनै झकझक्याइरहेको छ ।
बलिप्रथाका पक्षमा तर्क गर्नेहरुको मत पनि मैले विगत देखिनै सुन्दै आएको छु । त उनीहरुको बलिप्रथाको पक्षमा गरिएका तर्कबाट म सन्तुष्ट हुन सकेको छैन । यही विषयलाई मैले यो लेखमा मन्थन गर्न खोजेको हुँ । मेरा केही तर्क पेश गर्न खोजेको छु । बलिको सिधा अर्थ हत्या हो । एक हो.. दुई हो.. तीन हो.. । यसमा धेरै तर्कवितर्क नगरौँ भन्ने लाग्छ । बलि हत्या नै हो भने यो अपराध नै हो । जुन कुरा अपराध हुन्छ भने हिन्दू लगायतका कुनैपनि धर्महरुले विरोध गर्छन् । त्यसो भए बलि अर्थात् हत्या किन गरिन्छ ? आफ्नो मनोकामना शिद्ध होस् भनी देवता (आजसम्म नदेखेको र अनुभव गर्न नपाएको) लाई खुसी बनाउनको लागि बलि दिएको भनिन्छ । दशैँको बेलामा त झनै हजारौँको संख्यामा पशुबलि गरिन्छ । पशुको रगतको आहालमा रमाएर दशैँ चाडको उत्सव मनाइन्छ । आखिर हो यो के ? पशुबलिका कारण मनोकामना पूरा भएको भन्ने आजका दिनसम्म मैले एकैजना मान्छे भेटेको छैन । तरपनि आँखा चिम्लेर पशुबली गरेको पाइन्छ ।