विश्व समुदायलाई ध्यानाकर्षण गराउन सन् २००९ को अक्टोबरमा माल्दिम्स् मन्त्रिपरिषद्को बैठक समुद्रमा बस्यो ।

 

काठमाडौं, वैशाख २ गते ।

माल्दिभ्स दक्षिण एसियामा अवस्थित एक जलपरिवेष्ठित मुलुक हो । यसको अफिसियल नाम रिपब्लिक अफ माल्दिभ्स हो । राजधानी माले हो । यस देशको सबैभन्दा ठूलो शहरपनि माले नै हो । सरकारी कामकाजको भाषालाई माल्दिभियन भनिन्छ । यहाँका ९९ प्रतिशत भन्दा बढी जनता सुन्नी मुस्लिम धार्मिक समुदायका छन् । यो देशको शासन व्यवस्था एकात्मक राष्ट्रपतीय संवैधानिक गणतन्त्रात्मक रहेको छ । बेलायती उपनिवेशबाट सन् १९६५ जुलाइ २६ मा स्वतन्त्र भयो । सन् २००८ अगष्ट ७ मा जारी गरिएको संविधानद्वारा राज्य सञ्चालित छ । कुल क्षेत्रफल २९८ वर्ग कि.मि. रहेको छ । क्षेत्रफलको हिसाबले यो देश विश्वको १०६ स्थानमा रहेको छ । सन् २०१३ को अनुमानित जनसङ्ख्या ३,९३,५०० जना रहेको छ । जनसङ्ख्याको हिसाबले १७५ स्थानमा रहेको छ । जनघनत्व १,१०२.५ जना प्रति वर्ग कि.मि. रहेको छ ।

जनघनत्वको हिसाबले यो देश विश्वमा ११ औँ स्थानमा रहेको छ । प्रति व्यक्ति बार्षिक आय ८,३४१ अमेरिकी डलर रहेको छ । प्रतिव्यक्ति आयको हिसाबले यो देश विश्वमा ९ औँ स्थानमा रहेको छ । माल्दिभ्सको मुद्रालाई माल्दिभियन रुफिया भनिन्छ । अन्तर्राष्ट्रिय टेलिफोन कोड नं. ००९६० हो । हिन्द महासागरमा अवस्थित यस देशमा १८ सय भन्दा बढी टापुहरु रहेका छन् । त्यसैले यो देशलाई टापुहरुको देश पनि भनिन्छ । ९७ प्रतिशत भन्दा बढी जनता साक्षर रहेका छन् । माछा व्यवसाय र पर्यटन उद्योग नै यो देशको मुख्य आय श्रोत हो । सन् १८८७ मा बेलायतको उपनिवेश प्रारम्भ भयो । सन् १९३० मा संवैधानिक परिवर्तन भयो । सन् १९४८ मा बेलायती प्रतिनिधि बिनाको स्वायत्त सरकारको गठन भयो । सन् १९५२ मा बेलायती नियन्त्रण खुकुलो बनाइयो । सन् १९६५ जुलाइ २६ मा यो देश पूर्ण रुपमा स्वतन्त्र भयो । सन् १९६८ मा सुल्तानी शासन व्यवस्थाको अन्त्य भई गणतन्त्र घोषणा भयो ।

सन् १९७८ मा राष्ट्रपतीय निर्वाचन सम्पन्न भयो । उक्त निर्वाचनबाट मउमुन अब्दुल गयुम विजयी हुनु भयो । उहाँले ३० वर्षसम्म शासन गर्नु भयो । उनी ६ पटकसम्मको राष्ट्रपतीय निर्वाचनमा निर्वाचित हुनु भयो । प्रजातान्त्रिक प्रक्रिया मार्फत ३० वर्षसम्म शासन गर्नु विश्व राजनीतिक इतिहासमा एउटा महत्वपूर्ण घटना हो । समुद्र सतहबाट केही फिटमात्र उचाइमा रहेको दक्षिण एसियाको सबैभन्दा सानो देश माल्दिभ्स विश्वव्यापी जलवायु परिवर्तन र उष्णताको कारण सङ्कटमा पर्दैछ । समुद्री सतहको उचाइ बढेमा यो देश डुब्ने खतरा छ । सन् २००४ को डिसेम्बरमा हिन्द महासागरमा आएको सुनामीले यो देश धेरै नै प्रभावित बन्यो । ठूलो मात्रामा धनजनको क्षति भयो । विश्वव्यापी तापक्रम वृद्धिसँगै यो देशको अस्तित्व सङ्कटमा पर्ने आँकलन गरिएको छ । कतिपय साना टापुहरु अहिले नै सङ्कटमा पर्ने अवस्थामा छन् । सन् २००५ को जुनबाट दल दर्ताको अनुमति प्रदान गरियो ।

सन् २००७ मा जनमत सङ्ग्रह भयो । उक्त जनमत सङ्ग्रहमा बेलायती मोडेलको वेष्ट मिनिष्टर शैलीको शासन प्रणाली वा अमेरिकी राष्ट्रपतीय शैलीको शासन प्रणाली भन्ने विकल्प दिइएको थियो । राष्ट्रपति गयुमले अगाडि सारेको अमेरिकी मोडेलको राष्ट्रपतीय शासन प्रणालीको पक्षमा ६० प्रतिशतभन्दा बढी मत प्राप्त भयो । सन् २००८ को अगस्टमा बहुदलीय प्रजातान्त्रिक शासन व्यवस्था र आवधिक निर्वाचन भएको संविधान लागू गरियो । विश्व समुदायलाई ध्यानाकर्षण गराउन सन् २००९ को अक्टोबरमा माल्दिम्स् मन्त्रिपरिषद्को बैठक समुद्रमा बस्यो । त्यस प्रकारको बैठक गर्नुको मुख्य उद्देश्य भनेको विश्वव्यापी उष्णताको कारण समुद्री सतह बढ्दै जाँदा उक्त मुलुकको अस्तित्वमा पर्न सक्ने प्रभावको बारेमा विश्वको ध्यानाकर्षण गराउनु रहेको थियो । विश्वका शक्ति सम्पन्न मुलुकहरुले वातावरणमा पारेको प्रभाव र हुन सक्ने परिणामको बारेमा विश्व जगतलाई जानकारी गराउन र सचेत बनाउन उक्त बैठक सफल भयो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *