काठमाडौं, चैत्र २७ गते ।
सन् १७६० मा बेलायतमा पहिलो औद्योगिक क्रान्तिको शुरुवात भएको थियो । उक्त औद्योगिक क्रान्तिलाई पहिलो औद्योगिक क्रान्ति पनि भनिन्छ । उक्त क्रान्तिले कृषि आधारित अर्थतन्त्र र समाजलाई एकाएक औद्योगिकीकरण र शहरीकरण गरेको थियो । पहिलो औद्योगिक क्रान्ति अठारौँ शताब्दीको मध्यबाट शुरु भएर उन्नाइसौँ शताब्दीको मध्यसम्म रहेको थियो । उक्त औद्योगिक क्रान्तिको मुख्य विशेषता भने जल र वाष्प शक्ति मार्फत् मेशिन सञ्चालन गरी उत्पादन र वितरणमा व्यापक विकास र विस्तार गर्नु रह्यो । बेलायतबाट शुरु भएको यो क्रान्ति यूरोप र विश्वभर फैलियो । औद्योगिक क्रान्तिको कुरा गर्दा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ औद्योगिक क्रान्तिपनि जोडिन्छ । दोस्रो औद्योगिक क्रान्ति सन् १८७० मा शुरु भयो र सन् १९१४ सम्म कायम रह्यो । उक्त क्रान्तिले विद्युतीय शक्तिको प्रयोग गरेर मास प्रोडक्सन ग¥यो ।
तेस्रो औद्योगिक क्रान्ति सन् १९५० मा शुरु भयो । उक्त क्रान्तिका विशेषता रिन्यूएब्ल इनर्जी, पावर प्लान्टको विकास, इनर्जी स्टोरेज टेक्नोलोजीको विकास रहेका छन् । त्यसैगरी चौथो औद्योगिक क्रान्ति सन् २०१६ मा शुरु भएको मानिएको छ । उक्त औद्योगिक क्रान्तिको विशेषता डिजिटल, बायोलोजिकल र फिजिकल विश्वको फ्यूजन रहेको छ । त्यसैगरी आर्टिफिसियल इन्टेलिजेन्सको द्रुत विकास र प्रयोग, क्लाउड कम्प्युटिङ, रोबोटिक्स, थ्रिडी प्रिन्टिङ, इन्टरनेट एक्सेस रहेका छन् । विश्व आज तेस्रो र चौथो औद्योगिक क्रान्तिबाट गुज्रिरहेको छ । विकसित देशहरु पाँचौँ औद्योगिक क्रान्तितर्फ उद्यत रहेका छन् । पाँचौँ औद्योगिक क्रान्तिमा आर्टिफिसियल इन्टेलिजेन्सको अत्याधिक विकास भई नेचुरल इन्टेलिजेनसलाई प्रभावित गर्नेछ । एक विश्लेषण अनुसार पाँचौँ औद्योगिक क्रान्तिमा नचुरल इन्टेलिजेन्स र आर्टिफिसियल इन्टेलिजेनस् सँगै नृत्य गर्नेछन् । त्यो भनेको प्राकृतिक मानव र आर्टिफिसियल मानवको बराबर उपयोग हुनेछ ।