काठमाडौं, चैत्र २७ गते ।
सामान्यतया मुद्रा र साखको कारोबार गर्ने व्यवसायिक संस्थालाई बैंक भनिन्छ । बैंकले निक्षेप संकलन तथा स्वीकार गर्ने, कर्जा प्रवाह गर्ने, जमानत जारी गर्ने, मुद्रा स्थानान्तरण गर्ने, विदेशी विनिमयको कारोबार गर्ने, साख सिर्जना तथा जारी गर्ने जस्ता महत्वपूर्ण कार्यहरु गर्छन् । बैंकको विकास मुद्राको विकास भएसँगै भएको हो । त्यसैले बैंकको विकासक्रम पनि धेरै पुरानो छ । सन् ११५७ मा इटालीमा ‘भेनिसको बैंक’ स्थापना भएको थियो । त्यसपछि सन् १४०१ मा स्पेनको बार्सिलोनामा अर्को बैंकको स्थापना भएको थियो । सन् १६०९ मा हल्याण्ड र सन् १६१९ मा जर्मनीमा बैंकको स्थापना भएको थियो । बैंक विकासको इतिहासमा यी बैंकहरु नै अगुवा बैंकको रुपमा रहेका छन् । त्यसपछि संसारभर बैंकको विकास तीब्र गतिमा भएको पाइन्छ । जहाँ बढी औद्योगिक विकास बढी भयो त्यहाँ बैंकको विकास पनि तीब्र गतिमा भयो । त्यसैले उद्योग, व्यवसाय र बैंकहरुबीच अन्योन्याश्रित सम्बन्ध रहेको पाइन्छ ।
नेपालमा भने वि.सं. १९९४ सालमा नेपाल बैंकको स्थापना भएको थियो । वि.सं. २०१३ सालमा राष्ट्र बैंकको स्थापना भयो । हाल नेपालमा सरकारी र निजी गरेर दर्जनौँ बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा रहेका छन् । वि.सं. २०४६ सालको राजनीतिक परिवर्तन सँगै सरकारले उदारीकरण तथा निजीकरणको नीति लियो । त्यसपछि बैंकिङ क्षेत्रको व्यापक विकास भयो । नेपालमा हाल ६० प्रतिशतको हाराहारीमा मानिस बैंकिङ पहुँचमा पुगेका छन् । १८ प्रतिशत नेपालीहरु वित्तीय पहुँच बाहिर रहेका छन् । २२ प्रतिशत नेपालीहरुले गैरबैंकिङ तथा अनौपचारिक बैंकिङ कारोबार गरिरहेका छन् । बैंकहरुको कुल निक्षेपको ६० प्रतिशत र कर्जा प्रवाहको ४० प्रतिशत कारोबार काठमाडौं उपत्यकामा हुने गरेको छ । बैंकिङ कारोबारलाई विकेन्द्रित गर्नुपर्ने चुनौती रहेको छ ।