काठमाडौँ, चैत्र २३ गते ।
संस्कृत साहित्यका महाकवि कालिदास राजा विक्रमादित्यका प्रमुख सभापण्डित थिए । राजाले उनलाई अनेक प्रश्न सोधिरहन्थे भने कालिदासपनि आफूले जाने बुझेको जति तर्कसंगत उत्तर दिएर राजालाई सन्तुष्ट बनाउने गर्थे । उनको उत्तर दिने शैली राजालाई असाध्यै मन पथ्र्यो भने बाँकी सभापण्डित चाहिँ उनको तार्किकता, विद्वता र प्रत्युत्पन्नमतिको भित्रभित्रै इष्र्या गर्थे । एकदिन राजा विक्रमादित्यले कालिदाससित प्रश्न गरे । कविज्यू तपाईँ असाध्यै विद्वान हुनुहुन्छ । तर तपाईँको शरीर भने बुद्धि जस्तो सुन्दर छैन । यसको कारण के हो ? के हामी थाहा पाउन सक्छौँ ? राजको प्रश्न सुनेपछि कालिदासले तत्काल कुनै प्रतिक्रिया वा जवाफ दिएनन् । उनले यताउता कुरा गरेर राजाको जिज्ञासालाई त्यत्तिकै अल्झाई दिए । एकदिन राजाले आफ्ना सेवकलाई पिउने पानि ल्याउने आदेश दिए । राजाको आदेश पाउना साथ पानि लिन गएको सेवकलाई कालिदासले इसारा गरेर एउटा चाँदीको र अर्को माटोको गिलासमा ल्याउन लगाए । सेवकले कालिदासको इसारा अनुसार नै पानि ल्यायो ।
त्यसरी पानि ल्याएको देखेर राजा छक्क परे । उनले केही बोल्नु अघिनै कालिदासले भने, महाराज हजुरको लागि मैले नै विशेष अनुरोध गरेर दुई अलग–अलग गिलासमा पानि ल्याउन लगाएको हुँ । हजुर दुवै गिलासको पानि पिउनुहोस् महाराज ! राजाले कालिदासको अनुरोध अनुसार दुवै गिलासको पानि पिए । केही समयपछि कालिदासले विनम्रतापूर्वक राजासित प्रश्न गरे । महाराज, यी दुई मध्ये कुनचाहिँ गिलासको पानि हजुरलाई बढी शितल लाग्यो ? राजाले सरलतापूर्वक जवाफ दिए । पक्कै पनि माटोको गिलासको पानि बढ्ता शितल र केही हदसम्म मिठो पनि थियो । राजाको जवाफ सुनेपछि कालिदास मुसक्क हाँस्दै भने – महाराज, जसरी पानिको शितलता भाँडाको सुन्दरतामा निर्भर हुँदैन त्यसैगरी मान्छेको बुद्धिको सुन्दरता पनि उसको शरीरको सुन्दरतामा निर्भर हुँदैन । राजाले आफूले केही दिन अघि गरेको प्रश्नको तार्किक जवाफ पाए ।