नेपालको राजनीति आज अकर्मण्यतामा फसेको छ । राजनीति कुन दिशामा जान्छ कुनै टुङ्गो छैन् । जे हुनु पर्ने हो त्यो हुँदैन । जे नहुनु पर्ने हो त्यही भइरहेको छ । निकास बिहीन राजनीतिले जनता आजित छन् । विकास र समृद्धिको नारा फिका भएको छ । चुनावमा भोट माग्न जाँदा देशलाई चाँडै समृद्ध बनाउने नारा लगाउनेहरु सत्ता स्वार्थमा लिप्त छन् । जनता बिष्फोटनको अवस्थामा छन् । देश गरिबी, बेरोजगारी र सामाजिक सुरक्षाका हिसाबले संकटमा छ । उत्पादन ठप्प छ । नुनदेखि सुनसम्म विदेशबाट आयत गर्नुपर्छ । देशको अर्थतन्त्र रेमिट्यान्समा टिकेको छ । भ्रष्टाचार ब्याप्त छ । महंगी अचाक्ली छ । जनताको दैनिकी असहज अवस्थामा छ । हुनेलाई चैन छ । नहुनेको बिजोग छ । जोसँग सत्ता र धन छ उ मात्रै टिक्न सक्ने अवस्था छ । देश र जनताको अवस्था अत्यन्तै कमजोर छ । विगतमा राजनीतिक अस्थिरताका कारण देशको विकास भएन भनियो । शासन प्रणालीका कारण विकास भएन भनियो । राणा शासन, पञ्चायत शासन, संवैधानिक राजतन्त्रको शासन विरुद्ध आन्दोलन भए । आज देश लोकतान्त्रिक अभ्यासका हिसाबले संघीय लोकतान्त्रिक गणतन्त्रमा छ । केही अपुग बाहेक विकास र समृद्धिका लागि ०७२ सालको संविधान बाधक छैन । राजनीतिक अस्थिरताको अन्त्यका लागि दुई तिहाई नजिकको बहुमत प्राप्त सरकार बन्यो । तर, आज देश भने जर्जर अवस्थामै छ । देश र जनताको दुर्दशाको मुख्य कारण के हो ? जवाफ छ तर निकास हुँदैन । नेकपा (एमाले) का अध्यक्ष प्रधानमन्त्री छन् । उनलाई काम गर्न केहीले छेकेको छैन । तर, काम गर्न दिइएन भन्छन् । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अनावश्यक द्वन्द्व भयो । अनायस प्रतिनिधिसभाको विघटन र नेकपा दुई टुक्रा भयो । आज देशको राजनीति कुन दिशातर्फ जान्छ कुनै निकास छैन । जता गएपनि निकास देखिँदैन् । ओली नेतृत्वको सरकार संकटमा छ । आफ्नो सरकारको समर्थन गर्ने दल नेकपा (माओवादी केन्द्र) सँग प्रधानमन्त्री ओलीको द्वन्द्व छ ।
माओवादी केन्द्रले कुनैपनि बेला सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्छ । उनी विश्वासको मत लिन सक्ने अवस्थामा छैनन् । प्रमुख प्रतिपक्षी कांग्रेस कुहिरा भित्रको काग जस्तो छ । सरकारको नेतृत्व गर्नको लागि तयार नभए जस्तो गरिरहेको छ । माओवादी केन्द्र र जसपाले प्रतिगमन विरोधी दलहरु एक हुनुपर्ने बताई रहेका छन् । अब सरकारको नेतृत्व जसपा, माओवादी केन्द्र र कांग्रेस कसले गर्ने हो कुनै टुंगो छैन । नेपालको राजनीति कहाँ चुक्यो । गलत व्यक्तिको हातमा राजनीति पुगेको हो वा अन्य कुनै कारण छ । राज्य प्रणालीमा दोष छ वा शासन प्रणालीमा समस्या छ । राजनीतिक दलमा समस्या छ कि नेताहरुमा समस्या छ । कि जनतामा समस्या छ । कि समाजमा समस्या छ । नेपालको राजनीति किन निकास बिहीन अवस्थामा छ । के गर्न बाँकी छ । नेपालको राजनीतिलाई स्थिर र स्वस्थ बनाउन के गर्नु पर्छ । कि नेपाली युवाहरुको हस्तक्षेप पुगेन । भयो के ? ०७२ सालको संविधानपछि बनेको दुई तिहाई नजिकको सरकार बनेपछि राजनीतिक स्थिरता हुने विश्वास थियो । देशले विकास र समृद्धिका लागि मार्ग समात्न सक्ने विश्वास गरिएको थियो । आज त्यस्तो अवस्था छैन । नेपाली कांग्रेसको इतिहास सबैलाई थाहा छ । उसले दशकौँ शासन ग¥यो । उसको खुट्टी सबैले देखिसकेका छन् । उसबाट कुनै आशा छैन । नेपाल कम्युनिष्ट पार्टीले भारी जनमत प्राप्त ग¥यो । आज छिन्नभिन्न अवस्थामा छ । उबाट पनी आशा मरेको छ । जनता समाजवादी पार्टीबाट कुनै अपेक्षा गर्न सकिन्छ कि सकिँदैन ? यो पनि उस्तै हो कि वा केही गर्छ भन्ने छ । देशलाई वैकल्पिक निकास दिनका लागि भनेर विभिन्न पार्टीहरुको एकीकरण मार्फत् यो पार्टी बनेको छ ।
एकीकृत रुप धारण गरेपछि उसले देशलाई निकास दिने हुँकार गरेको छ । समाजवादी आन्दोलन मार्फत् आफूलाई अग्रगामी बनाउन चाहन्छ । यसका थुप्रै नेता तथा कार्यकर्ता उत्साहित पनि छन् । २०औँ शताब्दीमा उत्कर्षमा पुगेको साम्यवादी आन्दोलन आज लगभग समाप्त भएको छ । नेपालमा भने पुँजीवादी अभ्यास गर्दै केही कम्युनिष्ट नामधारीहरु सत्तामा छन् । चाँडै सिद्धिने संकेत देखिँदैछ । देशलाई राजनीतिक निकास दिन जनता समाजवादी पार्टीले नेतृत्वदायी भूमिका खेल्न जरुरी छ । आन्तरिक पार्टी जीवनलाई चुस्तदुरुस्त बनाएर जनताको बीच चाँडै पुग्नुपर्छ । जनतालाई यो पार्टीले केही गर्न सक्छ भन्ने व्यवहारिक संकेत दिन ढिला गर्नु हुँदैन । विचार र एजेण्डाका कुरा गरेर मात्रै जनताले पत्याउने छैनन् । हुने विरुवाको चिल्लो पात हुन सक्नुपर्छ । त्रिशंकु संसदबाट बनेको सरकारको दुई चार मन्त्रालयमा केही व्यक्तिलाई सवार गराएर केही हुनेवाला छैन् । पार्टीमा परिणामुखी नेता र कार्यकताहरुको विकास गर्नुपर्छ । देशैभर जनमत निर्माण गर्नुपर्छ । आफ्नै नेतृत्वको सरकार निर्माण गर्नुपर्छ । दुई चार मन्त्रालय लिएर बदनाम बन्नु हुँदैन । सत्ताको खेलमा भन्दा आन्तरिक पार्टी जीवनलाई सशक्त बनाउन जोड दिनुपर्छ । पार्टीमा सक्षम मान्छेहरुलाई जिम्मेवारी दिनुपर्छ । मान्छेको भीड जम्मा पारेर मात्रै केही हुनेवाला छैन् । आजको अस्तव्यस्त अवस्थाबाट देशलाई निकास दिन जसपाले महत्वपूर्ण भूमिका खेल्नै पर्छ । संकटको आजको घडीमा निकासको सारथी बन्नै पर्छ ।