काठमाडौं, फागुन १५ गते ।
वि.सं. १८७१ साल असार २९ गते नेपालको तनहुँ जिल्लाको चुँदीरम्घा भन्ने ठाउँमा जन्मनु भएका नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्य विश्वभरीका नेपाली भाषा साहित्यका पारखीहरुका प्रिय कवि हुन् । संस्कृत साहित्यमा आदिकवि बाल्मिकी र हिन्दी साहित्यमा सन्त तुलसीदासको जुन स्थान छ नेपाली भाषा साहित्यमा भानुभक्त आचार्यको त्यस्तै गौरवमय स्थान छ । इतिहासकार सूर्यविक्रम ज्ञवालीले ‘भानुभक्त युरोप वा अमेरिकामा जन्मेका भए उनको जीवनी सम्बन्धी समालोचनाका सामग्रीले पुस्तकालय भरिन्थ्यो’ भन्नुले पनि उनको स्थान प्रतिविम्बित गर्छ ।
सूर्यका भानु जस्तै चम्कन सफल उनले नेपाललाई पनि सम्मानित गरेका छन् । नेपाली साहित्याकाशमा नेपाली भाषा र भानुभक्त एकअर्काका पर्यायवाची जस्तै छन् । साहित्यमा अराजकतावादी हुँ भन्ने विश्वेश्वरप्रसाद कोइराला भन्दा ठ्याक्कै १ सय वर्ष जेठा भानुभक्त आचार्य साँच्चै भानुनै भए । भानुभक्त आचार्य आदिकवि मात्र नभएर रोमान्टिक र आँसुकविका रुपमा पनि परिचित छन् । ज्ञान, बुद्धि र विवेकको उच्चतम् प्रयोग गर्न खप्पिस उनी नअस्ताउने नक्षत्र हुन सफल भए । संस्कृत भाषाको राम्रो ज्ञान हुने व्यक्तिले मात्रै रामायण पढ्ने र बुझ्ने स्थितिको अन्त्य गरेकै कारण उनी नेपाली भाषीका लागि प्रिय भए ।