काठमाडौँ, ६ वैशाख : रक्षामन्त्री हरिप्रसाद उप्रेतीले श्रीमद्भागवत धर्म मात्रै नभएर विज्ञान पनि भएको बताउनुभएको छ । गोकर्णेश्वर नगरपालिका-४ संयुक्त अपाङ्गएकता आवाज केन्द्रमा आजदेखि आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङगारिक महाआरती २०८१ लाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री उप्रेतीले श्रीमद्भागवतमा पाँच हजार वर्ष पहिला लेखेका विषय अहिले पुष्टि भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच हजार वर्ष पहिले हाम्रा ऋषिमुनीले पत्ता लगाएका कुरा अहिले पुष्टि भइरहेको छ, त्यसैले श्रीमद्भागवत धर्म मात्रै नभएर विज्ञान पनि हो, कलियुगमा हुने कुराका बारेमा जे लेखिएको छ, त्यो पुष्टि हुँदैछ ।” संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा रहेका ५७ जना अनाथ बालबालिकाको सहयोगका लागि मन्त्री उप्रेतीले आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । यसैगरी संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका अध्यक्ष तिलबहादुर कार्कीले संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा रहेका अनाथ बालबालिकाको खाना, बस्न तथा अन्य सहयोगार्थ सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको बताउनुभयो ।
