दिपेन्द्रको पाइलट बन्ने रु १ अभियानलाई सुन्दर शान्त नेपालको सहयोग

 

काठमाडौं, माघ २० गते ।

दोलखा जिल्ला बैतेश्वर गाउँपालिका वडा नम्बर २, मुलाबारीका दिपेन्द्र घिसिङले पाइलट बन्ने सपना बोकेर रु १ अभियान सञ्चालन गरिरहेका छन् । उनको सानैदेखि पाइलट बन्ने सपना थियो । उनले जुनसुकै समयमा पनि पाइलट बन्ने सपना देखिरहेका हुन्थे । पाइलट बन्न लगभग ८१ लाख लाग्ने भयो । त्यसका लागि उनीसँग त्यति ठूलो रकम उपलब्ध भएन । सामान्य किसान परिवारको भएका कारण पैसाकै अभावको कारण उनको पाइलट बन्ने सपना पुरा नहुने भयो । उनले स्थानीय, प्रदेश र संघीय सरकारसँग त्यसका लागि सहयोगको याचना गरे । तर, पाउन सकेनन् । त्यसपछि उनले जनतासँग रु १ अभियान सञ्चालन गरेर उक्त रकम उठाउने योजना बनाए । उक्त योजना बमोजिम उनी हाल पाइलट बन्नको लागि चाहिने रकमको जोहो गर्दै हिँडेका छन् ।

स्रोतका अनुसार हालसम्म लगभग ६३ लाख रकम संकलन भइसकेको छ । रकम संकलन भइसकेपछि फिलिपिन्समा पाइलट अध्ययन गर्न जाने उनको योजना रहेको छ । दिपेन्द्रको उक्त अयियानमा विभिन्न सहयोगीहरुले सहयोग गरिरहेका छन् । सोही क्रममा ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका, इमाडोलस्थित सुन्दर शान्त नेपालले एक कार्यक्रम आयोजना गरेर विभिन्न सहयोगीहरुबाट संकलन गरेको रकम हस्तान्तरण गरेको छ । माघ २० गते थ्रिडी म्युजियम, ललितपुरको भवन प्राङ्गणमा आयोजना गरिएको कार्यक्रम मार्फत् संकलित रकम हस्तान्तरण गरियो । रु १२,९४१ नगद हस्तान्तरण गरिएको छ भने पन्ध्र हजारभन्दा बढीको प्रतिबद्धता प्राप्त भएको आयोजकले जनाएको छ ।

कार्यक्रमको सभापतिमा शैलेन्द्र खत्री हुनुहुन्थ्यो भने प्रमुख अतिथिमा परिवर्तन भट्टराई हुनुहुन्थ्यो । त्यसगरी विशेष अतिथिमा निल कुमारी खत्री हुनुहुन्थ्यो । सुन्दर शान्त नेपालका सहायक परिकल्पनाकार तथा अभियान्ता जित बहादुर तामाङले कार्यक्रमको सम्पूर्ण व्यवस्थापन गर्नु भएको थियो । अतिथिहरुमा क्रमशः गायिका तथा कलाकार सलिना मोक्तान, हरिसिद्धि डोजाङका प्रमुख पुनम श्रेष्ठ, गायिका तथा कलाकार सानु मगर, थ्रिडी आर म्युजियमका प्रोप्राइटद्वय मनु थापा विष्ट र रिना बुढाथोकी, सरु खत्री, सानुकाजी खत्री, गोविन्द लुङ्गेली मगर, योगेन्द्र पराजुली, लाल बहादुर तामाङ, रोशन घिसिङ लगायतकाहरु हुनुहुन्थ्यो ।

पाइलट बन्ने सपना बोकेर रु १ अभियान सञ्चालन गरिरहेका दिपेन्द्र घिसिङलाई प्रधानता मिडियाको तर्फबाट हार्दिक शुभकामना ! यस कार्यमा महत्वपूर्ण सहयोग गर्ने सुन्दर शान्त नेपाल परिवारलाई पनि धन्यवाद !

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *