सूर्यविनायक नगरपालिकाको वडा कार्यालय भवन निर्माण शिलान्यास

 

काठमाडौं । सूर्यविनायक नगरपालिका वडा नं. ५ को वडा कार्यालयका लागि सुविधासम्पन्न पक्की भवन निर्माण हुने भएको छ । एक कार्यक्रम गरि निर्माणाधीन भवनको शिलान्यास गरिएको छ । सूर्यविनायक नगरकालिकाका प्रमुख बासुदेव थापाले वडा कार्यालय भवन तथा कटुन्जे स्वास्थ्य चौकीको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै नगरप्रमुख थापाले सूर्यविनायक नगरपालिकाका १० वडा मध्ये १ नं. वडाको बाहेक सबै वडाहरूले आफ्नै भवन हुने बताएका छन् । वडा नं. १ मा भने जग्गाको विषयमा केही समस्या देखिएकाले केही समय लाग्ने बताएका छन् ।

नगर प्रमुख थापाले सूर्यविनायक नगरपालिका पनि अबको केही समयमा आफ्नै भवनबाट सेवा दिने बताएका छन् । त्यसको लागि भवनको निर्माण कार्य तीब्रगतिमा भइरहेको उनले बताए । सूर्यविनायक नगरपालिका वडा नं. ५ अन्य वडाभन्दा बढी क्षेत्रफल ओगटेको, बढी जनसंख्या भएको र अन्य कार्यालयहरू रहेको वडा भएको पनि प्रमुख थापाले बताए । नगरपालिका भित्र विभिन्न विकासका कार्यहरू तीब्रगतिमा भइरहेको पनि उनले बताए । नगरलाई स्वच्छ, हराभरा र आवासयोग्य बनाउन नगरपालिका दत्तचित्त भएर लागेको पनि नगर प्रमुख बासुदेव थापाले बताए ।

त्यस्तै नगर उपप्रमुख सरिता तिमल्सिना भट्टराईले नगरपालिकाले नियम र कानुनमा टेकेर भौतिक विकासका कार्य तथा मानवीय विकास कार्यलाई एकसाथ अगाडि बढाइरहेको बताइन् । नगरपालिकाभित्र रहेका एकल महिला, भिन्न क्षमता भएका व्यक्ति, महिलाहरूको शसक्तिकरणका लागि विभिन्न कार्यक्रम गरी उनीहरूको क्षमता अभिवृद्धि गरी आर्थिक आयआर्जनयोग्य बनाउन बजेट छुट्याइएको पनि बताइन् । नयाँ प्रस्तावित भवन वडा नं. ५ को पुरानो भवनसँग निर्माण गरिने छ । भवन निर्माणका लागि रु. ४ करोड ७ लाख नगर कार्यपालिकाबाट रकम विनियोजित गरिएको वडा नं. ५ का वडा अध्यक्ष राजकुमार जोशीले बताए ।

नयाँ भवनको निर्माण कार्य १८ महिनामा सकिने वडा अध्यक्ष जोशीले कोटगढी साप्ताहिकलाई बताए । उनले वडा नं. ५ बढी जनघनत्व भएको, धेरै उपभोक्ता समिति भएको पनि बताए ।कार्यक्रममा प्रमुख अतिथ सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा रहनु भएको थियो । कार्यक्रममा नगरका उपप्रमुख सरिता तिमल्सिना भट्टराई, घट्टेखोला खानेपानी समितिका अध्यक्ष प्रकाश ढुंगेल, घट्टेखोला लिफ्टिङ खानेपानी जलस्रोत समितिका अध्यक्ष पूर्ण नेपाली, वडाका वडा प्रशासकीय प्रमुख मोहन देउजा, सामुदायिक प्रहरी प्रमुख, विभिन्न राजनैतिक दलका नेता, पदाधिकारीहरू, पत्रकारहरू, कर्मचारीहरू तथा ठुलो संखयामा स्थानीयबासीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता वडा नं. ५ का वडा सदस्य मनोज थापा तथा सञ्चालन वडा अध्यक्ष राजकुमार जोशीले गरेका थिए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *