काठमाडौँ, २ पुसः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले भृकुटीमण्डपस्थित खुल्ला बजारको समस्या तत्काल समाधान गरिने जानकारी दिनुभएको छ । ‘भृकुटीमण्डप हाताभित्र अवस्थित खुल्ला बजारको ३२औँ स्थापना दिवस’ का अवसरमा काठमाडौँ निम्न व्यापारी सङ्घद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले खुल्ला बजारभित्रका समस्या तत्काल समाधान गर्न सङ्घ र समाज कल्याण परिषद्लाई निर्देश गर्नुभयो । “ प्लास्टिकको छानालाई टिनको छानामा परिवर्तन गर्न लागि पहल भइरहेको छ”, उहाँले भन्नुभयो, “शौचालय, खानेपानी, ढल निकासलगायत यस क्षेत्रका समस्या समाधान गर्न सरकारले बजेट बिनियोजन गरेको छ । ” सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद ओलीले प्लास्टिकको छानामुनि व्यापार गर्न जोखिम रहेकोे बताउनुभयो । “परिषद्लाई टिनको छाना लगाउन पहल गर्न पटक पटक अनुरोध गरेको तर अझै पनि छानामुनिको कष्टप्रद व्यापारी, ग्राहकले भोगिरहेका छन् ।
विगतदेखिका यी समस्या समाधानमा समन्वयात्मक पहल आवश्यक रहेको छ,” उहाँले भन्नुभयो । समाज कल्याण परिषद्, भृकुटीमण्डप व्यवस्थापन विभागका प्रमुख दीपेन्द्र पन्तले शौचालय, खानेपानीलगायत समस्या समाधान गर्नेतर्फ विभाग अग्रसर रहेको बताउनुभयो । सङ्घ उपाध्यक्ष गोविन्द पौडेलले निम्न आय भएका मानिसको रोजाइमा रहेको भृकुटीमण्डप खुल्ला बजारमा दैनिक ४०–४५ हजार मानिस किनमेल गर्न आउने गरेको दाबी गर्नुभयो । समाज कल्याण परिषद्का सदस्यसचिव मनोजकुमार भट्टले व्यवस्थित पार्किङको काम सुरु भइसकेको जानकारी दिँदै भृकुटीमण्डप खुल्ला बजारको उचित व्यवस्थापनका लागि पहल गर्ने बताउनुभयो । समाज कल्याण परिषद्का नाममा रहेको जग्गामा भृकुटीमण्डपका व्यापारीहरुले व्यापार गर्दै आएका छन् । सङ्घले स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ७० जना बढीले रक्तदान गरेको आयोजकले जनाएका छन् ।