इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले गाजामा बन्धक बनाइएका करिब ५० जना इजरायली महिला तथा बालबालिकाको रिहाइका लागि योजनाबद्ध सम्झौताबारे बुधबार एक वक्तव्य जारी गर्दै यसलाई एउटा ‘नैतिक कर्तव्य’ बताउनुभएको छ । इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच कम्तीमा चार दिनका लागि युद्धविराम गर्ने पनि सम्झौतामा उल्लेख छ । राष्ट्रपति हर्जोगले यस सम्झौताका बारेमा इजरायली नागरिकहरूको आपत्तिलाई ‘बुझ्न सकिने, पीडादायी र कठिन’ तर स्वभाविक प्रतिक्रिया भएको बताउनुभएको छ ।
हर्जोगले भन्नुभयो, “परिस्थितिलाई ध्यानमा राख्दै बन्धकहरूलाई मुक्त गर्ने सम्झौताको साथ अगाडि बढ्ने प्रधानमन्त्री र सरकारको निर्णयलाई समर्थन गरिएको छ ।” “यो एक नैतिक कर्तव्य हो जसले बन्दी बनाइएकाहरूको स्वतन्त्रता सुरक्षित गर्ने यहूदी र इजरायली मूल्यलाई सही रूपमा व्यक्त गर्दछ”, उहाँले भन्नुभयो, “सबै बन्धकहरूलाई घर फर्काउने पहिलो कदम हुन आशाका साथ गरिएको सम्झौता हो । “इजरायल (राज्य), आईडीएफ, र सबै सुरक्षा बलहरूले इजरायलका नागरिकहरूको पूर्ण सुरक्षाको बहालीको साथसाथै यो लक्ष्य प्राप्त गर्न हर सम्भव तरिकाले कार्य जारी राख्नेछन्,” हर्जोगले भन्नुभयो ।