गण्डकी, २२ असोज : चाडबाडलाई लक्षित गरी पोखरामा ‘किताब मेला’ सुरु भएको छ । आइतबारदेखि न्यूरोडस्थित हिमालयन रिडर्स कर्नरले किताब खरिदमा विशेष छुट योजनासहित मेला सुरु गरेको हो । रिडर्स कर्नरका सञ्चालक विजय भण्डारीका अनुसार आउँदो कात्तिक चार गतेसम्म किताब मेला जारी रहने छ । दसैँ, तिहारजस्ता पर्वका अवसरमा पाठकलाई सहुलियत दरमा पुस्तक उपलब्ध गराउन मेला आयोजना गरिएको उहाँले बताउनुभयो । “रिडर्स कर्नरको यो छैटौँ किताब मेला हो”, उहाँले भन्नुभयो, “चाडबाडको यामलाई किताबको किनमेल र पठन संस्कृतिसँग जोड्ने हाम्रो ध्येय हो ।” मेलामा किताब खरिद गर्दा विभिन्न छुट योजना ल्याइएको छ । रु १९ सय ९९ को किताब खरिदमा १० प्रतिशत, रु दुई हजारदेखि ३४ सय ९९ सम्मको किताब किन्दा १५ प्रतिशत, रु ३५ सयदेखि ४९ सय ९९ सम्मको किताबमा २० प्रतिशत छुट पाइनेछ ।
रु पाँच हजारदेखि माथिको किताब किन्दा २५ प्रतिशत छुट र दुई वटा किताब सित्तैमा दिइने सञ्चालक भण्डारीले बताउनुभयो । पुस्तकालयका लागि रु १० हजारदेखि रु २५ हजार नौ सय ९९ सम्मको नेपाली साहित्यका किताब खरिद गर्दा २० प्रतिशत र अङ्ग्रेजी भाषाका किताब किन्दा १५ प्रतिशतसम्मको छुट पाइने जनाइएको छ । यस्तै नेपाली साहित्यतर्फ रु २६ हजारदेखि रु ४९ हजार नौ सय ९९ सम्मको किताबमा २५ प्रतिशत र अङ्ग्रेजी किताबमा २० प्रतिशत छुटको व्यवस्था रहेको उहाँले बताउनुभयो । रु ५० हजारभन्दा माथिको नेपाली साहित्यको किताब किन्दा ३० प्रतिशत र अङ्ग्रेजी साहित्यको किताब किन्दा २५ प्रतिशत छुट दिइने उहाँको भनाइ छ ।
किताब मेलामा राखिएका कतिपय किताब ५० प्रतिशतसम्म छुटमा उपलब्ध गराइने रिडर्स कर्नरले जनाएको छ । पोखरास्थित साझा प्रकाशनको शाखा कार्यालयमा पनि अहिले पुस्तक प्रदर्शनी चलिरहेको छ । यही असोज सात गतदेखि सुरु भएको प्रदर्शनी सोमबार सकिने कार्यालयका प्रमुख जीतेन्द्र लावतीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनीमा राखिएका पुस्तकको बिक्रीमा न्यूनतम ३० देखि बढीमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । विसं २०४० अघि प्रकाशित पुस्तकमा ५० प्रतिशत, विसं २०४० देखि विसं २०५० को बीचमा प्रकाशित पुस्तकमा ४० प्रतिशत र विसं २०५० यता प्रकाशित भएका पुस्तकमा ३० प्रतिशत छुट दिइएको प्रमुख लावतीले बताउनुभयो । प्रदर्शनीमा साझा र अन्य प्रकाशनका पुस्तक राखिएको छ । प्रदर्शनीमा कला, साहित्य, इतिहास, संस्कृति, दर्शन, मनोरञ्जनलगायत विधाका पुस्तक राखिएको कार्यालयले जनाएको छ । साझा प्रकाशनले पनि बर्सेनि पुस्तक प्रदर्शनीको आयोजना गर्दै आएको छ । प्रदर्शनीबाहेकको समयमा पनि रु पाँच सयको पुस्तक किन्दा २० प्रतिशत र रु एक हजारसम्मको पुस्तक किन्दा २५ प्रतिशत छुट दिने गरिएको छ ।