लेखनाथ (कास्की), १९ असोज : पर्यटकीय गन्तव्यको रुपमा चिनिएको पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अध्ययन, अवलोकन गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । हिमाल र हिमाली क्षेत्रका सम्पूर्ण गतिविधिको पहिचान झल्किने गरी स्थापना गरिएको यस सङ्ग्रहालयमा अध्ययन, अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको हो । हिमाली क्षेत्रमा बसोबास गर्ने जातजातिको रीतिरिवाज, वेशभूषा, कला र संस्कृतिका साथै भौगोलिक अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त सङ्ग्रहालय अवलोकन गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेको सङ्ग्रहालयका निर्देशक निर्मला न्यौपानेले बताउनुभयो । नेपाल पर्वतारोहण सङ्घद्वारा विसं २०६० मा एक सय रोपनी क्षेत्रफलमा निर्माण गरी सञ्चालनमा ल्याइएको उक्त सङ्ग्रहालयमा हालसम्म २५ लाखभन्दा बढी पर्यटकले अध्ययन, अवलोकन गरिसकेका उहाँले जानकारी दिनुभयो । “पछिल्लो समय अधिकांश पर्यटकको रोजाइमा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय नै पर्ने गरेको छ”, न्यौपानेले भन्नुभयो, “गत साउनमा मात्रै १२ हजारभन्दा बढी पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेका छन् ।
” उहाँका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सङ्ग्रहालयमा अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या एक लाख ३७ हजार चार सय ८८ रहेकामा आव २०७९/८० मा त्यो सङ्ख्या बढेर दुई लाख पुगेको थियो । यो सङ्ग्रहालय पोखरामा पर्यटकको बसाइ लम्ब्याउन उत्तिकै महत्वपूर्ण बनेको उहाँको भनाइ थियो । सङ्ग्रहालयमा विश्वका आठ हजार मिटरभन्दा बढी उचाइ भएका १४, सात हजार पाँच सयदेखि सात हजार नौ सय ९९ मिटर उचाइसम्मका ४०, छ हजारदेखि छ हजार नौ सय ९९ मिटरसम्मका छ सय तीनसहित अन्य हिमाल गरी कूल एक हजार नौ सय १३ हिमचुचुरा र त्यस क्षेत्रमा बसोबास गर्ने बासिन्दाका वेशभूषा, संस्कृति, दैनिक उपयोग गर्दै आएका विभिन्न सामग्री सङ्ग्रह गरी प्रदर्शनमा राखिएका निर्देशक न्यौपानेले जानकारी दिनुभयो । “सङ्ग्रहालयले मुख्य आम्दानीको स्रोत टिकटबाट उठ्ने शुल्क नै हो”, उहाँले भन्नुभयो, “आव २०७८/७९ मा टिकट शुल्कबापत रू एक करोड ४३ सङ्कलन भएकामा आव २०७९/८० मा रू दुई करोड ३४ लाख सङ्कलन भएको छ ।” सङ्ग्रहालय अध्ययन अवलोकन गर्ने पर्यटकका लागि टिकट शुल्कबापत विद्यार्थीका लागि रू ५०, सर्वसाधारण नेपालीका लागि रू एक सय, सार्कस्तरीय पर्यटकलाई रू दुई सय ५० र बाह्य पर्यटकका लागि रू पाँच सय लिइँदै आएको न्यौपानेले जानकारी दिनुभयो । त्यस्तै लामो समय नेपालमै बसोबास गर्दैआएका विदेशी नागरिकलाई रू दुई सय ५० र सङ्ग्रहालयको बगैँचा मात्रै अवलोकन गर्नका लागि रू ३५ लिने गरिएको उहाँले बताउनुभयो ।
वर्षका सबैदिन खुला रहने सङ्ग्रहालयमा दसैँ र तिहारको लामो बिदामा अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या उल्लेख्य रहने न्यौपानेको भनाइ थियो । उहाँका अनुसार विश्वका हिमशृङ्खलाको उत्पत्ति, महत्व, यस क्षेत्रका वन्यजन्तु, वनस्पति तथा खनिज पदार्थलगायत सामग्री सङ्ग्रहालयमा राखिएका छन् । “विसं २०६० मा पोखरा–१७ स्थित घारिपाटमा रू १० करोडको लागलमा सङ्ग्रहालय निर्माण गरिएको हो । यसमा सरकारका तर्फबाट रू ३० लाख, जापान सरकारबाट रू एक करोड ४५ लाख ७८ हजार एक सय ११, कोरियाबाट रू छ लाख ६९ हजार तीन सय, चीनबाट रू तीन लाख ३६ हजार सात सय ५०, भारतबाट रू तीन लाख २० हजार र स्पेनबाट रू ३७ लाख सहयोग प्राप्त भएको थियो”, न्यौपानेले भन्नुभयो, “बाँकी रकम विभिन्न सङ्घसंस्था र व्यक्तिबाट पनि प्राप्त भएको छ ।” हिमाली क्षेत्रको कला संस्कृति र भौगोलिक अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले सङ्घले प्रत्येक वर्ष महोत्सवको आयोजना गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर ११ लाई विश्व पर्वतारोहण दिवस घोषणा गरेकाले विगत पाँच वर्षदेखि यसै दिन अन्तर्राष्ट्रिय पर्वतारोहण महोत्सव मनाउँदै आइएको निर्देशक न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा हिमाली क्षेत्रका जनजातिको दैनिकी, कला, संस्कृति र रीतिरिवाजलगायतको जानकारी समेटिने गरिएको छ ।
सङ्ग्रहालयमा विश्वकै अग्लो सगरमाथाको चुचुरो र गहिरो इजरायलको डेड्सीबाट ल्याइएको चट्टानसमेत पर्यटकको आकर्षण बनेको न्यौपानेको भनाइ थियो । उहाँका अनुसार एशियाकै नमूनाका रुपमा रहेको सङ्ग्रहालयमा भारत, पाकिस्तान, चीन, जापान, स्लोभानिया, ताइवान, अस्ट्रेलिया, बेलायत, अमेरिका, इजरायल, कोरियालगायत विभिन्न देशका पर्वतीय गतिविधि झल्काउने सामग्री पनि राखिएका छन् । पर्यटक लक्षित लगानी बढिरहेको अवस्थामा पर्यटकको सङ्ख्या वृद्धिका साथै उनीहरूको बसाई लम्ब्याउनेतर्फ सबैले ध्यान दिनुपर्ने पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई बताउनुभयो । पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको पोखरालाई पर्यटकीय राजधानीको रुपमा घोषणा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । यहाँका पर्यटक व्यवसायी धर्म पन्थीले पोखरामा सञ्चालनमा आएको अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटक भित्र्याउन सरकारले अन्तर्राष्ट्रिय उडानलाई नियमितता दिन पहल गर्नुपर्नेमा जोड दिनुभयो । पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने भएकाले सरकारले नेपालमा विदेशी पर्यटन भित्र्याउन र यहाँ बसाइ लम्बाउनतर्फ विशेष भूमिका खेल्नुपर्नेमा उहाँको भनाइ थियो ।