गण्डकी, १९ असोज : बिहीबार बिहानैदेखि हिमालपारिको जिल्ला मुस्ताङको सदरमुुकाम जोमसोम बजारमा स्थानीयवासीको राम्रै चहलपहल थियो । परम्परागत थकाली पोशाकमा सजिएका थकाली समुुदायका महिला तथा पुुरुष घरपझोङ गाउँपालिकाको आयोजनामा बिहानैदेखि कृषि तथा पर्यटन मेलाको तयारीमा जुुटिसकेका थिए । चिसोको प्रवाह नगरी मेलालाई लक्षित गरी तयारी गरिएको झाँकी, घोडचढीहरूको चहलपहललाई मुुस्ताङ भित्रिएका स्वदेशी एवं विदेशी पर्यटकले पनि उत्सुकतापूर्वक नियालिरहेका थिए । सोह्र श्राद्धको समयका कारण यतिखेर ठूलो सङ्ख्यामा धार्मिक पर्यटक मुस्ताङमा छन् ।
दुुई दिनअघिदेखि लगातार पानी परे पनि बिहीबारदेखि मौसम खुल्दा मुस्ताङको वातावारण सुन्दर देखिनुुका साथै महोत्सवको उद्घाटन भव्य बनेको थियो । चिसो मरुभूमिका उपमा पाएको मुस्ताङका पर्यटकीय आकर्षण, यहाँका कृषिजन्य उत्पादनको प्रवर्द्धनको उद्देश्यका साथ बिहीबारदेखि तीनदिने कृषि तथा पर्यटन महोत्सव आयोजना गरिएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताउनुुभयो । मुस्ताङमा रहेका प्राचीन मौलिक संस्कृतिसँगै यहाँका उत्पादनलाई बजारमा पुर्याउँदै कृषि र पर्यटनलाई जोड्नका लागि महोत्सवको आयोजना गरिएको उहाँले बताउनुुभयो । महोत्सवका अवसरमा मौलिक संस्कृतिमा आधारित थकाली नृत्य, याक नृत्य आदिलाई पर्यटकले अभिरुचिपूर्वक अवलोकन गरेका थिए । घरपझोङ गाउँपालिकामा उत्पादित कृषिजन्य सामग्रीका साथै अन्य विभिन्न गरी १५ व्यापारिक कक्ष राखिएका रोजगार संयोजक शर्मिला श्रीसले जानकारी दिनुुभयो ।
व्यापारिक कक्षमा स्याउ, जाम, माडा, सुकुुटीलगायत बिक्रीका लागि राखिएको छ । महोत्सवमा आउने पर्यटकले स्याउका विभिन्न प्रजाति, समाजमा प्रचलित प्राचीनकालदेखि प्रयोग हुँदै आएका भाँडाकुँडा आदि अवलोकन गर्न, जान्न र बुुझ्न पाउने व्यवस्था मिलाइएको छ । महोत्सवमा व्यापारिक कक्ष राखेको जोमसोम महिला लघुु उद्यमी समूूहले आफ्ना उत्पादन बिक्री एवं प्रदर्शनीका लागि राखेको मीना शेरचनले बताउनुुभयो । “हामीले समूहबाटै उत्पादित जाम, माडा, स्याउको सुकुुटी आदि व्यापार एवं प्रदर्शनीका लागि राखेका छौँ”, उहाँले भन्नुुभयो, “समूह भर्खर–भर्खरै कृषिजन्य उत्पादनको प्रशोधन एवं ब्रान्डिङमा लागेकाले हामीलाई तालिम आवश्यक छ ।” यहाँ राखिएका विभिन्न कक्ष उद्यमशीलताको विकासका लागि जान्न र बुुझ्न चाहनेका लागि बहुुउपयोगी बनेको स्थानीयवासीले बताए । महोत्सवमा सिरिघाङ कृषक समूहले आफ्ना समूहबाट उत्पादित उवाको सातु, हरियो केराउ, फापरको पीठो, टिमुरको छोपजस्ता वस्तु प्रदर्शनी एवं बिक्रीमा राखिएको छ । एघार जना स्थानीय आबद्ध भई आफूूहरूले समूहमार्फत कृषिजन्य उत्पादन बढाउँदै त्यसको बजारीकरणमा जुटेको समूहका अध्यक्ष निमकुुमारी शेरचनले बताउनुुभयो ।
आफूूहरूले गाउँघरमा यसअघि गर्दै आएका कृषिकर्मलाई समूहमार्फत सङ्गठित गर्दै अघि बढाउँदा त्यसले प्रत्येकलाई थप प्रोत्साहित गराउने गरेको समूहका सदस्य छिरिङ गुरुङले बताउनुुभयो । महोत्सवमार्फत मौलिक संस्कृति एवं कृषिजन्य उत्पादनको बजारीकरणमा महत्त्वपूर्ण सहयोग पुुगेको उहाँले बताउनुुभयो । महोत्सवमा ठिनी सामुदायिक घरबास (होमस्टे)ले थकाली संस्कृतिमा आधारित विभिन्न खाद्यवस्तुको व्यापारिक कक्ष राखेको छ । फापरले बनाएको झिनुवालगायतका विभिन्न परम्परागत हिमाली खाद्यवस्तु राखिएको होमस्टेका सदस्य निरज थकालीले बताउनुुभयो । “महोत्सवमा राखिएका कृषिजन्य उत्पादन, बन्ने परिकार आदिले यहाँको मौलिकतालाई उजागर गरेका छन्”, उहाँले भन्नुुभयो, “तीनदिने यो मेला यहाँको कृषि र पर्यटनको प्रवर्द्धनका लागि महत्त्वपूर्ण बन्ने विश्वास लिएका छौँ ।” पर्यटनको विकासका लागि स्थानीय कृषिजन्य उत्पादनलाई जोड्नुु अपरिहार्य हुने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका अधिकृत सागर श्रेष्ठले बताउनुुभयो । “पर्यटनलाई लक्षित गरी उत्पादन पनि बढाउनुु आवश्यक छ”, उहाँले भन्नुुभयो, “कृषि र पर्यटनलाई सँगसँगै बढाउन सकेमा यसले दिगो पर्यटनलाई महत्त्वूर्ण टेवा पुर्याउँछ ।”