राँझा(बाँके), ८ असोज : विद्युतीय रिक्सा सञ्चालनमा आएसँगै नेपालगञ्जमा परम्परागत पाइडल रिक्सा विस्थापित हुँदै गएका छन् । करिब दुई दशकदेखि परम्परागत रिक्सा चलाएर घरपरिवार पाल्दै आएका नेपालगञ्ज उपमहानगरपालिका–१२ का मुस्लिम खाँ अहिले आफ्नो रिक्सामा यात्रु बस्न नचाहने गरेको बताउनुहुन्छ । “सबैजना अटोमै चढ्न मन पराउँछन्, हाम्रो रिक्सामा मान्छे बस्नै मन पराउदैनन्”,उहाँ भन्नुहुन्छ,“यो रिक्सा चलाएर गुजारा चलाउन गाह्रो भएको छ, अब अरु कुनै काम गर्ने सोचमा छु ।
” रिक्सामा यात्रु नपाएपछि ९० प्रतिशतले पेसा परिवर्तन गरेको खाँको भनाइ छ । पैसा जोहो गर्न सक्ने धेरैले विद्युतीय रिक्सा किनेर चलाउने गरे पनि अधिकांशले अन्य कामधन्दा गर्ने गरेको उहाँ बताउनुहुन्छ । नेपालगञ्जमा काम नपाएपछि अहिले परम्परागत पाइडल रिक्सा चालकले जमुनाह नाकामा समान ओसार्ने काम गर्दै आएका छन् । जमुनाहबाट भारतीय बजार रुपैडिहा जाँदा–आउँदा दुवै देशका सुरक्षाकर्मीले दुःख दिने गरेको नेपालगञ्ज–१३ का रिक्सा चालक गङ्गाराम रैदास बताउनुहुन्छ । नेपालगञ्जमा विद्युतीय रिक्सा सञ्चालन नहुँदा दैनिक रु एक हजारसम्म कमाइ हुने गरेकामा अहिले मुस्किलले रु दुई सयदेखि तीन सयसम्म हुने गरेको उहाँको भनाइ छ । सीमावर्ती जमुनाह क्षेत्रमा यात्रु पाइने भए पनि अन्यत्र नपाइने रैदास बताउनुहुन्छ ।
एकदशक अघिसम्म नेपालगञ्जको भरपर्दो सवारीसाधनको रुपमा रहेको परम्परागत रिक्सा अहिले नेपाल–भारत सीमा नाका जमुनाह क्षेत्रमा सीमित हुन पुगेको छ । एक दशक अघिसम्म तीन वटा रिक्सा भाडामा लगाउँदै आएका नेपालगञ्ज–१२ का पुत्तन होलीले आम्दानी नभएपछि अहिले पेसानै परिवर्तन गर्नुभएको छ । रिक्सा भाडामा लगाएर आफूले रिक्सा मर्मतको काम गर्दै आउनुभएको उहाँ विद्युतीय रिक्सा आए पनि भाडासमेत उठ्न नसकेका कारण आफूले पेसा परिवर्तन गर्नुपरेको गुनासो गर्नुहुन्छ । रिक्सा मर्मत गर्ने पसलमा अहिले उहाँले पानको पसल सञ्चालन गर्नुभएको छ । नेपालगञ्जबाट विस्थापित भएका परम्परागत पाइडल रिक्सा सीमावर्ती जमुनाह क्षेत्रमा थुप्रिएका छन् । सिमावर्ती भारतीय बजार रुपैडिहामा विद्युतीय रिक्सा प्रवेशमा रोक लगाएकाले जमुनाहदेखि रुपैडिहासम्म र रुपैडिहादेखि जमुनाहसम्म यात्रु तथा समान ओसारपसारमा परम्परागत रिक्साको भीडभाड हुने गरेको जमुनाहइलाका प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर विष्ट बताउनुहुन्छ ।