दाङ, ४ असोज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, बेलायती राजदूत रोब फेन र बेलायती सहायता निकायको विकास निर्देशक पिपा बर्डबीच मुख्यमन्त्री कार्यालयमा देउखुरीमा आज शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा प्रदेशलाई संस्थागत र व्यवस्थित बनाउनका लागि बेलायत सरकारले गर्न सक्ने सहयोग र सहकार्यका बारेमा प्रदेश सरकारले सुरु गरेको मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमलाई प्रभावकारी बनाउन आर्थिक तथा प्राविधिक सहयोगका बारेमा छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक गोपाल शर्मा भट्टराईले जानकारी दिनुभयो । छलफलका क्रममा प्रदेशको दोस्रो आवधिक योजना निर्माण सहयोग गर्न, संस्कृति, पर्यटन विकास ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन, पोषण, स्वास्थ्य र शिक्षा, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, सुशासन र शासकीय प्रणाली सुधारलगायत विषयमा छलफल भएको पनि प्रेस संयोजक भट्टराई जानकारी दिनुभयो ।