काठमाडौँ, ४ असोज : नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाको बाँकी काम नसकिएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा आज यहाँ आयोजित ‘विस्तृत शान्ति सम्झौता (२०६३) कार्यान्वयनका १७ वर्ष : उपलब्धि, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रियामा उहाँले राजनीतिक दलका बीचमा अविश्वास भएका कारण शान्ति प्रक्रियाका बाँकी काम नसकिएको बताउनुभएको हो । नेता सिटौलाले विस्तृत शान्ति सम्झौतामा प्रतिबद्धता गरेअनुरूपका काम अझै अधुरो रहेको बताउनुभयो । राजनीतिक दल एकै ठाउँमा उभिएमा शान्ति प्रक्रियाका बाँकी काम सहजै समाधान हुने उहाँको भनाइ छ । “विस्तृत शान्ति सम्झौतामा हामीले उल्लेख गरेको सत्य निरूपण तथा मेलमिलाप आयोग गठन हुन्छ, बेपत्ताको छानबिन आयोग गठन हुन्छ, त्यसले अनुसन्धान गर्छ, त्यसले निष्कर्ष निकाल्छ, र द्वन्द्वपीडितले न्याय पाउँछन् भन्ने हाम्रो घोषणा हो, त्यो अहिलेसम्म पूरा हुन सकेको छैन”, उहाँले भन्नुभयो । उहाँले राजनीतिक दलहरू आपसी विश्वासमा आएर शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनुपर्ने धारणा राख्नुभयो । विस्तृत शान्ति सम्झौता शान्ति र न्यायको भावनाले सिर्जना गरिएको दस्तावेज भएको उहाँको भनाइ थियो ।