चितवन, ३ असोजः नेपालको संविधान २०७२ ले सबै वर्गको अधिकार सुनिश्चित गरेको यहाँ आयोजित कार्यक्रमका वक्ताले बताएका छन् । संविधान दिवस मूल समारोह समितिले आज यहाँ आयोजना गरेको संविधान दिवस २०८० कार्यक्रममा बोल्ने वक्ताहरुले संविधानले दिएको अधिकार कार्यान्वयनमा ल्याउनुपर्ने जोड दिनुभयो । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले संविधान सबैको साझा सम्पत्ति भएकाले यसको कार्यान्वयनमा सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानले सबै वर्गको अधिकार सुनिश्चित गरेको छ । यसलाई सबैको सम्पत्तिका रुपमा कार्यान्वयन गर्नुपर्छ ।” उहाँले संविधानले दिएको अधिकार सुनिश्चित गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “दलहरु एक अर्कालाई आरोप प्रत्यारोप नगरी संविधान कार्यान्वयनको दिशामा लाग्न जरुरी रहेको छ ।” बागमती प्रदेशसभा सदस्य मायाँ श्रेष्ठ र हरिप्रसाद सापकोटाले संविधान कार्यान्वयनका चरणमा रहेकाले सरकार, राजनीतिक दल र नागरिक समाज सबै एक हुनुपर्ने बताउनुभयो । जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै संविधान कार्यान्वयनमा ल्याइनुपर्ने उहाँहरुको भनाइ थियो । कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा (एमाले ) चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, नेकपा (माओवादी केन्द्र)का द्रोणबाबु सिवाकोटी, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष कृष्ण भुसालले संविधान कार्यान्वयनमा देखिएका चुनौतीहरु समाधान गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति चितवनकी उपप्रमुख कल्पना काफ्ले सापकोटा, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा लगायतले बोल्नुभएको थियो । कार्यक्रमअघि भरतपुरको चौबिसकोठीबाट जिल्ला समन्वय समितिसम्म प्रभात फेरि निकालिएको थियो । संविधान दिवसका अवसरमा आजै भरतपुर अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरणसमेत गरिएको छ ।