काठमाडौं । उद्योग व्यवसायी महासंघ नेपालको वागमती प्रदेशको प्रारम्भिक भेला सम्पन्न भएको छ । ललितपुरमा सम्पन्न उक्त भेलाले ईश्वर घिमिरेको अध्यक्षतामा समिति घोषणा गरेको छ । वरिष्ठ उपाध्यक्ष मान बहादुर लामा रहनु भएको उक्त कार्य समितिमा ४१ जना रहेका छन् । उद्योग व्यवसायी महासंघ नेपालका ईञ्जार्ज राम कुमार पुरीका अनुसार उद्योग व्यवसाय क्षेत्रमा क्रियाशील उद्योगी व्यवसायीहरुको एउटा राम्रो टिम निर्माण भएको छ ।
महासंघका अध्यक्ष मदन महर्जनको अध्यक्षतामा सञ्चालित उक्त भेलामा नेपाल समाजवादी पार्टीका कार्यकारिणी समिति सदस्य सोनामसिं स्याङ्तान प्रमुख अतिथि रहनु भएको थियो । त्यसैगरी विशेष अतिथिमा कार्यकारिणी समिति सदस्य मानुषी यमि भट्टराई हुनुहुन्थ्यो । प्रमुख अतिथि र विशेष अतिथि दुबैजनाले शुभकामना तथा बधाई मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा नेपाल समाजवादी पार्टीका राजनीतिक समिति सदस्य तथा किसान महासंघका ईञ्जार्ज अमृत पुरीको पनि उपस्थिति रहेको थियो । पार्टीका राजनीतिक समिति सदस्य तथा पार्टी केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेल पनि उपस्थिति हुनुहुन्थ्यो ।
समाजवादी सांस्कृतिक महासंघका अध्यक्ष रमेश खड्का र नेपाल समाजवादी महासंघका अध्यक्ष तेज बहादुर श्रेष्ठको पनि उपस्थिति रहेको थियो । त्यसैगरी पार्टीका केन्द्रीय सदस्य तथा नेवाः राष्ट्रिय समितिका अध्यक्ष श्रीराम खाईजु, पार्टीको काठमाडौं जिल्ला समिति अध्यक्ष वासु फुयाल, ललितपुर जिल्ला अध्यक्ष कृष्ण महर्जन, भक्तपुर जिल्ला अध्यक्ष सिद्धिराम खाईजु र मकवानपुर जिल्ला अध्यक्ष राजकुमार भेटवालको पनि उक्त कार्यक्रमा उपस्थिति रहेको थियो । उद्योग व्यवसायको क्षेत्रमा सक्रिय व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो ।