चितवन, २० भदौ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई विश्राम नदिइ अगाडि बढाउने बताउनुभएको छ । सामुदायिक रेडियो माडीको १३औँ वार्षिकोत्सव समारोहलाई आज माडीमा सम्बोधन गर्दै उहाँले यस अभियानमा सम्झौता नगरी अगाडि बढ्ने बताउनुभयो । “यो मेरो मात्रै नभइ सरकारको पनि सङ्कल्प हो । यस अभियानलाई विश्राम लिने छैनौँ”, मन्त्री श्रेष्ठले भन्नुभयो । यस अभियानलाई देशका सबै बुद्धिजीवी, नागरिक समाजले साथ दिइरहेको भन्दै उहाँले सबैप्रति आभार व्यक्त गर्नुभयो । भ्रष्टाचार विरोधी कतिपय कदम चाल्दा अप्ठ्याराले आफूहरुलाई समस्या पारेको भन्दै उहाँले भन्नुभयो, “हाम्रो मिसन र ध्ययमा हामी सम्झौता गर्ने छैनौंँ ।” ‘सरकार तथा गृहमन्त्री दृढताका साथ टिक्छन् त?’ भन्ने चिन्ता र चासो आम जनसमुदायमा रहेको आफूले अनुभूति गरेको भन्दै मन्त्री श्रेष्ठले यस बीचमा भएका कतिपय घटनाक्रमले जनसमुदायमा चासो बढाउनु स्वभाविक भए पनि सरकार भ्रष्टाचार विरोधी अभियानमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “यो सरकार भ्रष्टाचार, तस्करी, कालोबजारी, दण्डहिनता, ठगीको विरुद्धमा उभिएको छ । यस अभियानलाई निरन्तरता दिनेछौँ ।” सरकारी जग्गा, सुन तस्करी र शरणार्थी प्रकरणका अपराधी तथा तस्करलाई कानुनको कठघरामा उभ्याएरै छोड्ने गृहमन्त्री श्रेष्ठले दृढता व्यक्त गर्नुभयो । यी काम सजिलो नभएको भन्दै उहाँले भन्नुभयो, “सजिलो बाटो होइन भनेर तै चुप मै चुप भएर यथास्थितिकै सामु लम्पसार पर्ने काम यो सरकार र गृहमन्त्रीबाट हुनसक्दैन ।” उहाँले भ्रष्टाचार विरोधी अभियान अझ प्रभावकारी बनाउने जनाउँदै यस्तै अन्य घटनाको खोेजी गरी छानबिन गर्ने बताउनुभयो । देशमा ठूलो राजनीतिक परिवर्तन भएको भन्दै गृहमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनलाई परिवर्तनमा मात्रै सीमित नबनाएर यसलाई माध्यम र साधन बनाएर सामाजिक, आर्थिक रुपान्तरण गर्ने चाहना रहेको बताउनुभयो । उहाँले भन्नुभयो “क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउने सन्दर्भमा होस् वा नेपालमा लोकतन्त्र स्थापना गर्ने सन्दर्भमा होस् सञ्चार माध्यमले महत्वपूर्ण भूमिका खेलेका छन् ।
” नेपालको जुन राजनीतिक परिवर्तन भए पनि त्यसका पछाडिका उपलब्धिलाई रक्षा गर्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको गृहमन्त्री श्रेष्ठको भनाइ थियो । “परिवर्तनलाई माध्यम र साधन बनाएर सामाजिक, आर्थिक रुपान्तरण गर्न, विकास र समृद्धिको प्रक्रिया अगाडि बढाउन, जनताको जीवन फेर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ”, उहाँले भन्नुभयो । रेडियो माडीले यस क्षेत्रमा पुर्याएको योगदानको गृहमन्त्री श्रेष्ठले प्रशंसा गर्नुभयो । कार्यक्रममा रेडियो र यसले आम नागरिकलाई पुर्याएको योगदानको बारेमा संस्थाका अध्यक्ष ओमनाथ पाण्डेले प्रकाश पार्नुभएको थियो । सो अवसरमा माडी नगरपालिका प्रमुख तारकुमारी काजी महतो, नेपाली कांग्रेस चितवनका सभापति शोभाखर चापागाइँ, नेकपा माओवादीका केन्द्रीय सदस्य सन्देश पौडेललगायतले रेडियोलाई शुभकामना दिँदै माडी क्षेत्रका समस्याका बारेमा उपप्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । आज माडी पुग्नुभएका उपप्रधानमन्त्री श्रेष्ठ बिहीबार बिहान मात्रै फर्किने कार्यक्रम छ ।