दोधारा चाँदनी (कञ्चनपुर), १३ भदौ : कञ्चनपुरको भीमदत्त नगरपालिका–४ शिवधाममा केही दिनयता साँझ पख्ख अरु बेलाको भन्दा छुट्टै रौनक देख्न पाइन्छ । हरेक दिन यहाँ नब्बे वर्षीय वृद्धदेखि किशोरसम्म दिउँसोदेखि भेला हुन थाल्छन् । एउटै घरबाट बाजेदेखि नातिसम्म यहाँ आउने गरेका छन् । उनीहरु सबै एउटै गोलो घेरामा गोलवद्ध हुन्छन् । सबैले खुट्टाको चालमा चाल मिलाउँछन् । यसरी तीन पुस्ता एकसाथ देउडा खेल्दै रमाइलो गर्ने गरेका छन् । गोलो घेराको बीचमा देउडिया (गीतकार)ले गीत गाउँछन् । त्यही गीतलाई गोलो घेरामा रहेकाहरूले लय मिलाएर पालैपालो दोहोर्याउँछन् । शिवधाम अचेल देउडामय बनेको छ । देउडा खेलको दृश्य देख्दा पूर्वपश्चिम राजमार्ग भएर यात्रा गर्ने जो कोहीलाई पनि नाचुँ नाचुँ जस्तै लाग्ने गर्छ । महेन्द्रनगरका विभिन्न ठाउँमा आजभोली यसरी नै तीन पुस्ता एक साथ देउडामा रमाएको छ । जसलाई जता पायक पर्छ त्यतै त्यतै देउडा खेल्ने गरिएको छ । चौरासी वर्षीय रामदत्त जोशी देउडा खेल्कै लागि बैतडीको ग्वाल्लेकबाट महेन्द्रनगर पुग्नुभएको छ । जोशी परिवारको मधेश र पहाडमा दोहरो बसाइँ छ । उहाँ युवा जस्तै देउडा खेल्न सक्रिय हुनुहुन्छ । “अचेल पहाडमा जनसङ्ख्या थोरै छ, देउडा खेल्न पहिला जस्तो रमाइलो छैन, त्यसैले यहाँ आएको हुँ”, देउडा खेल्दै गरेका जोशीले भन्नुभयो– “मान्छे बूढो भए पनि मन बूढो हँुदैन भन्थे हो रैछ ।
” जोशी १६ वर्षको उमेरदेखि देउडा खेल्दै आउनुभएको हो । “देउडा खेल्दा आनन्द आउँछ, सबैसँग भेट हुन्छ”, उहाँले भन्नुभयो । जोशी देउडा गीतकार पनि हुनुुहुन्छ । देउडा खेल्नकै लागि सुदूरपश्चिमका विभिन्न जिल्ला पुग्ने गरेको उहाँले बताउनुभयो । “कैलाली कञ्चनपुरलगायत सुदूरका सबै जिल्लामा देउडा खेलेको छु”, जोशीले भन्नुभयो, “देउडाले नयाँसँग परिचय हुने र भेटघाट हुने अवसर मिल्छ । यसमै आनन्द लाग्छ ।” देउडा मनोरञ्जनमात्रै नभएर यसबाट ज्ञानगुनका कुरासमेत सिकिने भएकाले युवापुस्ता समेत देउडामा आकर्षित हुने गरेका छन् । “गीतमार्फत सवाल–जवाफ हुँदा पुराना कुरा जान्ने अवसर मिल्छ”, स्थानीय नरेश पन्तले भन्नुभयो, “गीतमार्फत मनोरञ्जन पनि हुने, हाम्रो पुर्खा र देवी–देवताका बारेमा जानकारी लिने माध्यम पनि देउडा बनेको छ ।” देउडामा गीतकारले देवी–देवताको गाथा, इतिहास, संस्कृति र देशको वर्तमान अवस्थाका बारेमा समेत गीतमार्फत सवालजवाफ गर्ने गरेका छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । देउडा डोट्याली लोकसाहित्यको एक प्रमुख विधा हो । यो विधा लोकगीतसँग सम्बन्ध राख्दछ । देउडा गायन र खेल दुवैरूपमा प्रस्तुत हुने गर्दछ । देउडा खेल्दा गोलो घेरामा एकापसमा हात जोडेर गाउँदै पैतलाको तालमा घुम्ने गरिन्छ । पाइतालाको चालकै आधारमा डेड पाइला अगाडि र डेड पाइला पछाडि चलाउँदै खेलिने भएकाले यसको नाम देउडा रहन गएको जानकारहरू बताउँछन् । “देउडा खेल्दा डेढ पाइला अगाडि र पछाडि सर्ने भएकाले देउडा भनिएको हो”, साहित्यकार कविराज भट्टले भन्नुभयो, “देउडा लोकवार्ता र लोकनृत्य पनि हो ।” यो सुदूरपश्चिमको ऐतिहासिक, धार्मिक महत्व र पहिचान पनि भएकाले यसको निरन्तरता आवश्यक रहेको उहाँले बताउनुभयो । देउडामा देवगाथालाई मनोरञ्जनात्मकरूपमा प्रस्तुत गरिन्छ । “देउडा खेलमा दुई वा दुईभन्दा बढी डेउडियाबीच दोहोरी हुने गर्दछ”, भट्टले भन्नुभयो, “यसमा एउटाले प्रश्न सोध्ने र अर्काले त्यसको तत्काल उत्तर दिनुपर्ने हुन्छ ।
” देउडामा पुराण, इतिहास, राजनीतिलगायत ज्ञानगुनका विविध विषवस्तुमा आधारित प्रश्न सोधिने गर्दछन् भने कतै व्यग्यको पनि प्रस्तुति हुने सुदूरपश्चिम प्रगतिशील लेखक सङ्घका अध्यक्ष रमेश पन्त ‘मीतबन्धु’ बताउनुहुन्छ । “यसमा समाजका राम्रा नराम्रा पक्ष र समसामयिक घटनाको उठानका साथै मायाप्रेम आदिका कुरा पनि आउने गर्दछन्”, उहाँले भन्नुभयो, “यो विशेषगरी गौरा तथा मेलापर्वको अवसरमा खेल्ने गरिन्छ ।” देउडामा सुखदुःख, मायाप्रेम, हास्यव्यङ्ग्यका साथै विविध ज्ञानगुन र अर्तिउपदेशका प्रश्नउत्तरमा आधारित गीत प्रस्तुत गरिने गीतकार मञ्जु गिरी बताउनुहुन्छ । “माया पिरतीका कुरा देवी–देवताका कुराकानी गीतमार्फत गर्ने गर्छौँ”, उहाँले भन्नुभयो, “देउडामार्फत हुने सवाल–जवाफ रोचक हुने भएकाले युवापुस्तादेखि पाका पुस्तासम्मको सहभागिता हुने गरेको छ ।” गौरापर्वमा गौराको महत्व छुट्टै भए पनि प्रमुख आकर्षण नै देउडा भएकाले युवायुवतीसमेत देउडामा झुम्ने गरेको उहाँको भनाइ छ । गौरापर्वको अवसरमा सुदूरपश्चिममा महिनौँसम्म देउडा खेलिन्छ । देउडा गीत एक प्रकारको भाका हो । यसलाई कुनै पनि लयमा ढालेर गाउन सकिन्छ । देउडामा कुनै भेदभाव पनि हुँदैन । यो खेल नारी, पुुरुष, युवा, बालबालिका सबैले एकसाथ खेल्न पाउँछन् । यसमा जातीय विभेद पनि हुँदैन । पछिल्लो समय देउडाको महत्व अझ बढ्दै गएको पाइन्छ । सुदूरपीश्चमेली रहेका ठाउँमा अचेल देउडा खेल्ने गरिएको पाइन्छ । पछिल्लो समय विश्वका विभिन्न मुलुक जहाँ सुदूरपीश्चमेली रोजगारका लागि गएका छन् त्यहाँ पनि देउडा खेल्ने गरेका छन् ।