दमौली (तनहुँ), १० भदौ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले यही वर्षदेखि मिर्गौला बिरामीका लागि ‘डायलायसिस’ सेवा सुरु गर्ने भएको छ । यसका लागि गाउँपालिकामा तीन थान डायलायसिस उपकरण आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत गाउँपालिकालाई तीन उपकरण प्राप्त भएको हो । करिब रु ४३ लाख ९२ हजार बराबरको डायलायसिस उपकरण आइपुगेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । गाउँपालिकाले नीति तथा कार्यक्रममै समावेश गरी चालु आर्थिक वर्षबाटै आँबुखैरेनी अस्पतालबाट डायलायसिस सेवा उपलब्ध गराउने घोषणा गरेको थियो । यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलगायतको ध्यानाकर्षण गराइएको थियो । सबैको सहयोग र पहलबाट गाउँपालिकालाई डायलायसिस उपकरण प्राप्त भएको गाउँपालिकाका अध्यक्ष चुमानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लामो समयको प्रयासले सार्थकता पाएको छ, अब यही आर्थिक वर्षभित्रै अस्पतालमा डायलायसिस सेवा सुरु हुन्छ ।
” मिर्गौलापीडितका लागि डायलायसिसका लागि अन्यत्रै जानुपर्दा दुःख भएपछि गाउँपालिकाले आँबुखैरेनी अस्पतालमा डायलायसिस केन्द्र स्थापनाको प्रक्रिया थालनी गरेकोे थियो । गाउँपालिकाको चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा डायलायसिस सेन्टर स्थापना गर्ने उल्लेख गरेको छ । गाउँपालिकाभित्र करिब २५ मिर्गौलापीडित रहेकाले उनीहरूलाई सहजरूपमा सेवा दिन अस्पतालमा डायलायसिस केन्द्र स्थापना गरिने अध्यक्ष चुमानको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँका मिर्गौला बिरामीहरू भरतपुर, दमौली, पोखरासम्म पुगेर डायलायसिस गर्नुपर्ने बाध्यता छ । तैपनि भनेको बेला समय नपाउँदा उहाँहरूलाई निकै दुःख भइरहेको छ ।” हाल तनहुँमा दमौली अस्पतालमा मात्रै डायलायसिस सेन्टर सञ्चालनमा छ । मिर्गाैलापीडितको सङ्ख्या बढेसँगै यहाँ सेवा लिनका लागि पालो पर्खनुपर्ने अवस्था छ । दमौली अस्पतालमा ११ उपकरण रहेकामा बिग्रिएर हाल चार वटाले मात्रै सेवा दिइरहेको छ । गाउँपालिकाले आँबुखैरेनी अस्पतालको स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ ।
आगामी आर्थिक वर्षमा अस्पतालबाट शल्यक्रिया सेवा सुरु गरिने अध्यक्ष चुमानले बताउनुभयो । उहाँले भन्नुभयो, “ठूला शल्यक्रिया गर्नुपरेमा महिनामा एकपटक विशेषज्ञ चिकित्सक ल्याएर सेवा दिइनेछ । केही शल्यक्रिया भने नियमितरूपमा अस्पतालमै हुनेछ ।” गाउँपालिकाले जनतासँग स्वास्थ्य कार्यक्रममार्फत ज्येष्ठ नागरिकलाई महिनाको एकपटक घरमै पुगेर सेवा प्रदान गर्ने नीति लिएको छ । उहाँले प्रजनन स्वास्थ्य, पाठेघर ‘क्यान्सर’ परीक्षण कार्यक्रमलाई जोड दिइएको बताउनुभयो । गाउँपालिकाभित्रका सर्वसाधारणलाई क्यान्सर रोग लागेमा रु ५० हजार आर्थिक सहायता दिने कार्यक्रमलाई आगामी वर्षमा निरन्तरता दिइएको उहाँले उल्लेख गर्नुभयो ।