चितवन, ८ भदौ : रोटरी क्लब अफ नारायणगढले माडीमा सिँचाइ र खानेपानीका आयोजना सञ्चालन गरेको छ । क्लबले खानेपानी योजना सम्पन्न गरेको छ भने सिँचाइ योजनाको काम भइरहेको छ । क्लबका अध्यक्ष भोलानाथ लामिछानेका अनुसार माडी नगरपालिका–४ अम्रौली, विराचीलगायत गाउँका किसानको सुविधाका लागि सोलारबाट चल्ने बोरिङ जडानको काम अगाडि बढाइएको हो । रोटरी ग्लोबल ग्राण्ट बजेटबाट प्राप्त रु एक करोड ३६ लाखको लागतमा सिँचाइ आयोजना निर्माण गर्न लागिएको हो । उक्त आयोजनाले तीन गाउँको करिब ६६ बिघा जमिनमा सिँचाइ पुग्नेछ । उक्त आयोजनाका लागि आयरल्याण्डका सात रोटरी क्लबले सहयोग गरेको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो । बेलायत बस्दै आएका वाटर सेन्टर ट्वान्टी वानका निर्देशक विनोद कर्माचार्यको पहलमा सो काम भइरहेको छ । छ महिनाभित्रमा काम सम्पन्न हुने उहाँले बताउनुभयो । लामिछानेले भन्नुभयो, “आयोजना सम्पन्न हुँदै गर्दा बाह्रै महिना सिँचाइ गर्न सकिने छ ।” उर्वर ठाउँ भएकाले पानीको सुविधासँगै तरकारी, खाद्यान्न बाली, माछापालनलगायत कृषि कर्ममा सहयोग पुग्नेछ । यसबाट स्थानीयको जीवनस्तर उकास्न मद्दत पुग्ने छ ।
सोही ठाउँमा गत वर्ष यसै क्लबले खानेपानीको व्यवस्था गरेको थियो । एक सय ७० परिवारको आँगनमा धारा पु¥याइएका छन् । गत पुसदेखि उनीहरुले शुद्ध खानेपानी पिउन पाएका हुन् । सो गाउँमा रोटरी इन्टरनेसनलको ग्लोबल ग्रान्ट बजेटमा रोटरी क्लब अफ नारायणगढले अम्रौली खानेपानी तथा सरसफाइ परियोजना तयार पारेको हो । रोटरीका तीन अन्तर्राष्ट्रिय क्लबले यसमा सहयोग गरेका छन् । पिउने पानीको व्यवस्था भएपछि रोटरी क्लबले यो गाउँमा सिँचाइको आयोजना सुरू गरेको हो । आकासे पानीको भरमा खेती गर्दै आएका यहाँका किसानलाई सौर्य ऊर्जामा आधारित सिँचाइ आयोजनामार्फत सुविधा दिन रोटरी क्लब नारायणगढ लागिपरेको छ । सो गाउँलाई रोटरीले नमूना गाउँ बनाउने लक्ष्य लिएको छ । अध्यक्ष लामिछानेले भन्नुभयो, “उपभोक्ता लाभान्वित भएर जीवनयापनमा सहज भयो भने हाम्रो अभियानले सफलता पाउने छ । त्यहीअनुसार अन्य परियोजना ल्याउने योजनामा छौँ ।”