वीरगन्ज (पर्सा), १ भदौ : सडकमा जथाभावी फोहर फ्याँक्नेलाई आजदेखि वीरगन्ज महानगरपालिकाले जरिवानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ । महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ नियमित सरसफाइसँगै जथाभावी फोहर फ्याँक्नेलाई जरिवाना गर्दै आएको वीरगन्ज महानगरले आजदेखि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने भएको हो । महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फाल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहर फ्याँक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सर्पmद्दिन मियाँले जानकारी दिनुभयो ।
“जथाभावी फोहर फ्याँक्नेसँग हामीले २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउँदै आएका छौँ, अझै फोहर फाल्ने क्रम रोकिएको छैन्”, उहाँले भन्नुभयो, “जरिवाना गर्दा फोहर फाल्ने केही कम त भएको छ, तर अपेक्षाकृत घटेको छैन । त्यसैले अब फोहर फाल्नेलाई जरिवानामात्रै होइन, सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने तयारी गरेका छौँ ।” सरसफाइ शाखा प्रमुख मियाँका अनुसार हालसम्म जथाभावी फोहर फ्याँक्ने पाँच सय ७५ व्यक्ति र संस्थाबाट महानगरले रु १७ लाख ५४ हजार जरिवानावापत राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा जरिवानाबाट रु १५ लाख ३६ हजार तथा चालु आव २०८०÷८१ को साउनमा जरिवानावापत रु दुई लाख १८ हजार राजस्व सङ्कलन भएको छ । “घर, पसल र कार्यालयबाट निस्किने फोहर जताततै फ्याँक्ने स्थानीयमा प्रवृत्ति छ”, उहाँले भन्नुभयो, “त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले फोहर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेका छौँ ।
” यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएको उहाँको भनाइ छ । सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ । महानगरपालिको वडा नं १ देखि ३२ वटै वडामा वीरगन्जस्थित पृथीतारा एमके इन्टरनेसनल जेभीसँग गत २०७६ जेठ २ सम्झौला गरी नियमित सरसफाइ गर्दै आएको छ । बिहान, दिउँसो र राति गरी तीन चरणमा नाला र सडक सरसफाइ भइरहेको छ । नालाको सरसफाइ महानगर आफैँले गर्छ भने सडकको सरसफाइ साझेदार संस्था पृथी तारा एनके इन्टरनेशन जेभीले गरिरहेको छ ।