जेलमा रहेका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीका एक सहयोगीविरुद्ध ‘अतिवादी सङ्गठन’ खडा गरेको अभियोगमा सोमबार मुद्दा चलाइएको रूसी अदालतका प्रवक्ताले एएफपीलाई बताएका छन् । गत वर्ष युक्रेनमा रूसले ठूलो मात्रामा शत्रुता सुरु गरेपछि क्रेमलिनका मुखर आलोचकहरूविरुद्ध लगाइएका मुद्दाहरूको शृङ्खलामा यो पछिल्लो मुद्दा हो । साइबेरियाली शहर टोम्स्ककी पूर्व स्थानीय उपप्रमुख बनिसकेका ३१ वर्षीया केसेनिया फाडेयेभालाई जनवरी २०२२ मा रूसको ‘आतङ्कवादी’ सूचीमा समावेश गरिएको थियो । उहाँले टोम्स्कस्थित नाभाल्नीको राजनीतिक कार्यालयको नेतृत्व गर्नुभएको थियो, जहाँ विपक्षी नेतालाई सन् २०२० को अगष्टमा चुनावको पूर्वसन्ध्यामा सोभियतकालीन नोभिचोक विष खुवाइएको थियो । फाडेभाको कानुनी टोलीले सोमबार ९० वटा छुट्टाछुट्टै खण्डहरूमा सङ्कलित अदालतका कागजातहरू अध्ययन गर्न कम्तीमा १० दिनको समय मागेको थियो, तर न्यायाधीशले एक दिनका लागि मात्र स्थगित गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
फाडेयेभा सन् २०२० मा साइबेरियामा अन्य स्वतन्त्र कार्यकर्ताहरूसँगै टोम्स्क शहरको विधायिकामा निर्वाचित हुनुभएको थियो । यो कदमलाई राष्ट्रपति भ्लादिमिर पुटिनको शासनविरुद्ध रूसी विपक्षीहरूको विजयको रूपमा स्वागत गरिएको थियो । संसदीय निर्वाचनको एक वर्ष अगाडि स्थानीय निर्वाचन भएको थियो र यसलाई क्रेमलिनका लागि एक झट्काको रूपमा हेरिएको थियो, किनकि सत्तारूढ दलले घट्दो लोकप्रियता र आर्थिक सङ्कटको बारेमा बढ्दो जन आक्रोशको सामना गर्नुपरेको थियो । तर सन् २०२१ मा नाभाल्नीको राजनीतिक कार्यालयलाई ‘अतिवादी सङ्गठन’ घोषणा गरियो, जसले कर्मचारी, स्वयंसेवक र समर्थकलाई मुद्दाको जोखिममा पा¥यो । उहाँका धेरै सहयोगीहरूले रूस छोडेका छन्, यद्यपि फाडेयेभाले भाग्न इन्कार गर्नुभएको छ र डिसेम्बर २०२१ मा उहाँलाई ‘अतिवादी’ समूह सङ्गठित गरेको आरोपमा हिरासतमा लिइएको थियो ।