दुई सातादेखिको मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी बङ्गलादेशमा कम्तीमा ५५ जनाको मृत्यु हुनुका साथै १० लाखभन्दा बढी प्रभावित भएको अधिकारीहरूले आइतबार बताएका छन् । बाढी पहिरोका कारण अगष्ट १ पछि अहिलेसम्म कक्स बजारमा २१ जना, चटगाउँमा १९ जना, बन्दरबनमा १० जना र रङ्गमतीमा पाँच जनाको मृत्यु भएको चार जिल्लाका प्रशासकहरूले बताएका छन् । बङ्गलादेशको मौसम विभागका प्रमुख अजिजुर रहमानले एएफपीसँग भन्नुभयो, “यो बर्ष पछिल्ला केही वर्षहरूमाभन्दा भारी वर्षा भउको छ ।” उहाँका अनुसार अगस्ट ७ मा मात्रै ३१२ मिलिमिटर (१२ इन्च) वर्षा भएको थियो । अधिकारीहरूका अनुसार यस क्षेत्रमा अगस्ट ११ सम्म भारी वर्षापछि विशाल बाढी आएको थियो जसका कारण नदीहरू धार परिवर्तन गरी र वस्तीमा प्रवेश गरेका र यसबाट देशभर सयौं गाउँहरू डुबानमा परेका थिए । बाढीको पानी घट्न थालेपछि कति जनाको मृत्यु भयो भन्ने यकिन गर्न मात्र सम्भव थियो । ग्रीष्मकालीन मनसुनले दक्षिण एसियामा वार्षिक वर्षाको लगभग ८० प्रतिशत पानी पार्दछ । बर्षासँगै आउने बाढी र पहिरोका कारण मृत्यु र विनाश निम्त्याउँछ । बङ्गलादेशमा वर्षाको पूर्वानुमान निकै कठिन मानिन्छ । वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले मनसुनलाई बलियो र अनियमित बनाइरहेको छ । वन फँडानी र पहाडहरूमा भएका निर्माणजन्य गतिविधिले बाढी र डुवानको प्रभाव अझ खराब बन्ने गरेको छ ।