देशको पहिलो संस्कृत पाठशाला सञ्चालनका लागि स्थापना भएको ऐतिहासिक षडानन्द सीताराम गुठीको जग्गा खोजी थालिएको छ । भोजपुरको दिङ्लामा नेपालकै पहिलो पाठशाला सञ्चालनका लागि आबाल ब्रह्मचारी षडानन्द अधिकारीले विसं १९३२ मा स्थापना गरेको गुठीको जग्गा खोजी थालिएको हो । हालसम्म गुठीको नाममा करिब एक हजार दुई सय रोपनी जमिन रहेको भए पनि बाँकी जग्गा कहाँ–कहाँ छ भनेर खोजीकार्य भइरहेको षडानन्द सीताराम गुठीका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनुभयो । हाल फेला परेको जग्गामध्ये करिब दुई सय २० रोपनी जग्गा भने बाँझो रहेको उहाँको भनाइ छ । गुठीको नाममा कुल एक हजार सात सयदेखि दुई हजार रोपनीसम्म जग्गा रहेको बुझिएको अध्यक्ष पौडेलको भनाइ छ । खोजी गर्ने क्रममा सङ्खुवासभा जिल्लाको मानेभञ्याङमा गुठीको नाममा रहेको नौ रोपनी जग्गा फेला परेको उहाँको भनाइ छ । “षडानन्द सीताराम गुठीका नाममा रहेको जग्गा विगतका वर्षबाट नै खोजी गरिरहेका छौँ”, अध्यक्ष पौडेलले भन्नुभयो, “महाराजले यहाँ पाठशाला सञ्चालन गर्न धेरै ठाउँमा गुठी स्थापना गरेको देखिन्छ । खोजी गर्ने क्रममा सङ्खुवासभामा पनि गुठीका नाममा रहेको जग्गा फेला परेको अवस्था छ ।
खोजी गर्ने कार्यलाई हामीले जारी राखेका छौँ ।” तत्कालीन द्वन्द्वका समयमा यहाँको संरचनामा आगलागी गरिँदा कागजात जलेका कारण खोजीकार्यमा केही कठिनाइ देखिएको उहाँले बताउनुभयो । गुठीको स्वामित्वमा भोगचलन भएको जग्गा विसं २०३६ को नापीमा छुटेको पाइएको उहाँले बताउनुभयो । तत्कालीन समयमा गुठीको स्वामित्वमा रहेको कतिपय जमिन वन क्षेत्रमा परेको उहाँको भनाइ छ । गौचरन, गैरीचौरलगायत षडानन्दले गुठीको रूपमा राखेको बुझिए पनि ती क्षेत्रलाई वन क्षेत्रमा राखिएको पाइएको पौडेलले जानकारी दिनुभयो । आवश्यक प्रमाण जुटाएर नापीमा छुट भएका जग्गालाई गुठीको स्वामित्वमा ल्याउन पहल भइरहेको उहाँको भनाइ छ । “गुरुले स्थापना गरेका कतिपय जमिन वन क्षेत्रमा नापी भएको पनि देखिएको छ”, उहाँले भन्नुभयो, “कतिपय जमिन नापीमा छुटेको पाइएको छ । गुरुले राखेको जगेडा वनलाई त्यो समयमा धार्मिक वनमा राख्न छुटेको अवस्था पनि छ ।” गुठीको नाममा रहेको तर अतिक्रममा परेको जमिनलाई व्यवस्थित गर्ने काम पनि भइरहेको उहाँको भनाइ छ । कात्तिके बजार र दिङ्ला बजारमा रहेको गुठीको जग्गालाई कानुनी दायरामा ल्याएर व्यवस्थित गर्दै संरक्षण गर्ने काम भइरहेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । “कतिपय ठाउँमा गुठीको जग्गामा मानव बस्ती रहेको छ”, उहाँले भन्नुभयो, “त्यस्तालाई व्यवस्थित गर्न लागिपरेका छौँ । बस्ती नहटाए पनि त्यहाँबाट गुठीलाई केही आम्दानी भित्र्याउने हाम्रो योजना छ ।” गुठीको जमिनको खोजी तथा संरक्षण गर्दै यहाँ संस्कृत भाषाको पाठ्क्रम लागू गर्नका लागि राज्यसँग समितिले पहल गरिरहेको भए पनि त्यसको सुनुवाइ नभएको अध्यक्ष पौडेलले बताउनुभयो । गुरुकुलसहित यहाँका धेरै संरचना जीर्ण बनेपछि संरक्षण भइरहेको समितिले जनाएको छ ।
विस २०७२ को विनाशकारी भूकम्पले यहाँका धेरै संरचनामा क्षति पुर्याएको छ । यहाँ बालागुरु षडानन्दले नै साप्ताहिक हाट मेलाको सुरुआत गरेको जनाइएको छ । रामनवमीमा सतबिज मेला र चौमासा पुराण लाग्ने गरेको गुठीका अध्यक्ष पौडेलले जानकारी दिनुभयो । त्यस्तै तीज, ठूलीएकादशीलगायतका अवसरमा भव्य मेला लाग्ने गरेको छ । यहाँ आएर दर्शन गरे सन्तान प्राप्ति हुने तथा बौद्धिक क्षमतामा वृद्धि हुने धार्मिक विश्वास रहेको छ । तत्कालीन समयमा देशको पश्चिम नेपालका गुल्मी, सल्यान, प्यूठानसम्म र छिमेकी मुलुक भारतको सिक्किम तथा आसाम र भुटानलगायतबाट गुरुकुल शिक्षा लिन विद्यार्थी आउने गरेका थिए । अहिले पनि दाङ, स्याङ्जा, काठमाडौँ, धरान, विराटनगरलगायत अधिकांश ठाउँबाट दर्शन गर्न मानिस आउने गरेको अध्यक्ष पौडेलको भनाइ छ । खेती भइरहेको गुठीको जग्गाबाट वार्षिक दुई सय मुरी हारहारीमा धान आउने गरेको पौडेलले जानकारी दिनुभयो । यहाँ रहेको पार्वती कुण्ड र हनुमान कुण्डको संरक्षण गरिएको छ । चार रोपनी क्षेत्रमा रहेको भित्री बगैँचाको पनि संरक्षण थालिएको छ । त्यहाँ कागती, सुन्तला लगाउने काम भइरहेको छ । त्यस्तै षडानन्दले नै स्थापना गरेको बाहिरी बगैँचाको पनि संरक्षण गर्ने तयारी रहेको गुठीको भनाइ छ । यहाँका बगँैचामा एक सय आठ प्रजातिका बोटविरुवा रहेको स्थानीयको भनाइ छ । यहाँका धार्मिक तथा ऐतिहासिक संरचनाको संरक्षण गर्दै विकासमा स्थानीय सरकारले भूमिका खेल्ने षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिनुभयो । गुठीका नाममा रहेका सम्पूर्ण सम्पत्तिको खोजीका लागि नगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्ने उहाँको भनाइ छ । “षडानन्द क्षेत्र देशको नै सम्पत्ति हो”, उहाँले भन्नुभयो, “यसको विकासमा नगरले आवश्यक भूमिका खेलिरहेको छ । ऐतिहासिक सम्पदाको संरक्षण गर्दै गुठीको नाममा रहेको जग्गा खोजीमा नगरले आवश्यक सहयोग गर्दै आएको छ । गुठीको विधानअनुसार काम अघि बढेको अवस्था छ ।” यहाँका छात्राबाससहितको तीनवटा संरचनामध्ये दुई भत्किएका छन् भने एउटा जीर्ण अवस्थामा रहेको छ । जीर्ण बनेर भत्किएको एउटा भवन निर्माणका लागि केन्द्र सरकारसँग बजेट माग गरेको भए पनि बजेट नपरेको समितिले जनाएको छ । गुठी परिसरमा षडेश्वर राम–सीताको मन्दिर रहेको छ । रामचन्द्र नर्मदेश्वर, शिवालय र पशुपतिका चारवटा मन्दिर जीर्ण बन्दै गएका छन् । कैलाश डाँडामा रहेको बेद विद्याश्रम भवनको भने जीर्णद्धार भएको छ । अहिले २३ जना बटुकले (शिक्षार्थी) विभिन्न कर्मकाण्ड सिक्दै आएका छन् । यहाँ भागवत पुराण, चण्डीपाठलगायतको सिकाइ हुने गरेको छ । त्यसको अलवा अतिरिक्त विषयका रूपमा अहिले पनि संस्कृतसमेत पठनपाठन हुने गरेको छ ।