सुदूरपश्चिमका विभिन्न जिल्लामा हुड्को बजाएर गरिने नाच लोप हुने अवस्थामा पुगेको छ । पर्व, समारोह वा महत्वपूर्ण कार्यक्रमका पुरानो इतिहास झल्काउने गौरवगाथा जोडेर हुड्के नाच्ने चलन क्रमिक रुपमा घट्न थालेको छ । हुड्केली पश्चिम नेपालमा प्रचलित दमाईँ जातिले नाच्ने र गाउने लोकनृत्य एवम् गीत हो । सुदूरपश्चिममा हुड्के नाच देखाउनेलाई इतिहासकार मानिन्छन् । बढ्दो आधुनिकतासँगै परम्परागत हुड्केली नाच संस्कृति ओझेल पर्दै गएको शैल्यशिखर–६ का ७१ वर्षीय वुद्ध लालसिंह खत्रीको गुनासो छ । हुड्के नाचका जानकार शैल्यशिखर–६ का देवराम दमाईँ नयाँ पुस्ताले नाचलाई अनुसरण नगर्दा लोप हुने अवस्थामा पुगेको बताउनुहुन्छ । विभिन्न समुदायमा पुगेर हुड्के नाच देखाएवापत राम्रै आयआर्जन हुने गरेको भए पनि नयाँ पुस्तामा यसबारे रुचि हराउँदै जान थालेपछि संस्कृति नै लोप हुने चिन्ता भएको उहाँको बुझाइ छ । “विवाह र व्रतबन्ध होस् वा अन्य कुनै पर्वमा होस् हुड्के नाच देखाइन्थ्यो, हुड्केली नाच देखाएवापत अन्न र पैसा पाइन्थ्यो”, ६९ वर्षे हेमनती दमाईँले भन्नुभयो, “अचेल त यो नाचको माग नै हुन छाडेको छ ।” सुदूरपश्चिमको महत्वपूर्ण सांस्कृतिक विधा मानिने यो नाच जोगाउन नयाँ पुस्तालाई यसबारे जागरुक गराउनुपर्ने हुड्केली नाचका कलाकार महेश दमाईँको बुझाइ छ । हुड्केली नाचमा प्रायः पुराना राजा–रजौटा, वीर–वीरङ्गना र देवी देवताका जीवन गाथा गाउने गरिन्छ । “पछिल्लो समय त हुड्केली नाच सङ्कटमै परिसक्यो । मनमा जाँगर, सीप कला हुँदा पनि साथ दिने मान्छे छैनन्”, सुरेश दमाईँले भन्नुभयो, “अहिले त कतैबाट निमन्त्रणा आइहाल्यो भने पनि सहयोगी जुटाउनै धौधौ हुन्छ भएकाले पनि जान मान्दैनन् ।” उहाँका अनुसार नयाँ पुस्ताले न नाच सिक्न पनि खोज्दैनन् । “मैले बुबा र बाजेबाट हुड्केली नाच सिकेको हुँ, पहिले उहाँहरुसँगै गाउँ–गाउँमा पुग्थे”, हरिराम दमाईँले भन्नुभयो, “अचेल युवाहरुमा यसबारे चासो कम छ, मौलिक संस्कृतिको संरक्षण आवश्यक छ ।”