उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रको गाईघाट बजारसहित जलजले, देउरी, बगाहा, बोक्से तथा सहरी क्षेत्रका बालबालिका आँखा पाक्ने रोगबाट प्रभावित छन् । एक हप्ताअघि देखिएको आँखाको रोग अहिले बिस्तारै नगरक्षेत्रभरि फैलिन थालेको छ । जिल्ला अस्पतालका बालरोग विशेषज्ञ डा निरज सिंहका अनुसार अहिले दैनिक स–साना बालबालिकासमेत उपचारका लागि अस्पताल आउने गरेका छन् । “अधिकांश आँखा पाक्ने रोगबाट प्रभावित छन्”, उहाँले भन्नुभयो । दैनिक ८० देखि एक सय जनाको हाराहारीमा बालबालिका उपचारका लागि आउने गरेका छन् । जिल्ला अस्पतालका प्रमुख डा ज्ञानेन्द्र झाले नगरक्षेत्रका अधिकांश विद्यालयका बालबालिका यस रोगबाट पीडित छन् । गाईघाट बजारकी सन्ध्या थापा १५ वर्षीय छोरा, ९ वर्षीया छोरी र ४ वर्षीया छोरी आँखा पाक्ने रोगबाट पीडित भएको बताउनुहुन्छ । घरमै चिकित्सको सल्लाहअनुसार नियमित औषधि प्रयोग गरिरहेको उहाँले बताउनुभयो ।