भोजपुर, १३ साउन (रासस) : भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको ऐतिहासिक पाँचधारे पोखरी र किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षण थालिएको छ । एकीकृत पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर संरक्षण थालिएको हो । विसं १९४४ मा स्थापना गरिएको उक्त पोखरी र किरातेश्वर ढुङ्गे बगैँचालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै आर्थिक पक्षसँग जोड्ने लक्ष्यका साथ संरक्षण गर्न थालिएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताउनुभयो । यस वर्ष केन्द्र सरकारअन्तर्गत पर्यटन मन्त्रालयले पोखरीमा आवश्यक संरचना निर्माण गर्न तथा बगैँचाको विकासका लागि रू २० लाखका दरले बजेट विनियोजन भएको उहाँले जानकारी दिनुभयो । “पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पोखरीको संरक्षण गरिरहेका छौँ”, वडाध्यक्ष माङ्गपाहाङ्गले भन्नुभयो, “यस क्षेत्रको विकासका लागि केन्द्र सरकारले केही बजेट दिएको छ । उक्त बजेटले थप संरचना निर्माणमा सहयोग पुग्नेछ ।” पोखरीको ऐतिहासिकस्वरुपलाई यथावत राख्दै नयाँ संरचना निर्माण गरिने उहाँको भनाइ छ । पोखरी नजिकै रहेको बगैँचालाई पनि पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न योजना बनाइएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताउनुभयो । “यो क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको एकीकृत विकासका लागि काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “किरातेश्वर ढुङ्गे बगैँचा गुफाको संरक्षणका लागि यस वर्ष काम गर्ने योजना छ । यहाँ आउने पर्यटकले दुई स्थानको एकैसाथ अवलोकन गरेर आनन्द लिन सकुन् भन्ने हाम्रो लक्ष्य छ ।” बाह्रै महिना पानी आउने पाँच मुहान रहेको पाँचधारे पोखरीमा दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको स्थानीय बाबुराम शाक्यले बताउनुभयो । यहाँको पोखरीमा रहेका माछा कसैले मारेर खाए त्यसले बाधा पुग्ने जनविश्वास रहेको उहाँको भनाइ छ । “पाँचधारे एक ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल हो”, शाक्यले भन्नुभयो, “यहाँ दर्शन गरे चिताएको पुग्ने धार्मिक विश्वास छ । यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नसके आर्थिक उपार्जन बढ्ने देखिन्छ ।” उहाँका अनुसार यस पोखरीमा किरात समुदायका वान्तावा माङ्गपाहाङ्ग राईहरुले वंशावली भेला भएर पूजाआजा गर्ने गर्दछन् । पोखरीको नामबाट महिनामा दुई पटक बजार लाग्ने गरेको स्थानीय जानकार अधिराज राईले बताउनुभयो । यहाँ दैविशक्ति रहेको थाहा पाएपछि परापूर्वकालमा धनगञ्ज राईले यसको स्थापना गर्नुभएको उहाँको भनाइ थियो । वडा कार्यालयको पहलमा अहिले पोखरीको संरक्षण थालिएपछि स्थानीय खुसी भएका छन् । “किरातमा यो पोखरीप्रति आस्था छ”, राईले भन्नुभयो, “स्थानीय सरकारको पहलमा संरक्षण भएपछि हामीमा उत्साह थपिएको छ । पोखरीको अवलोकन तथा दर्शन गर्न विभिन्न ठाउँबाट मानिस यहाँ आउने गरेका छन् ।”