काठमाडौँको टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाएको छ । नगरभित्रको सार्वजनिक जग्गा अवैधरुपमा कब्जा गरेर बनाएका संरचना डोजर लगाएर हटाउन थालिएको हो । नगरप्रमुख प्रकाश अधिकारीका अनुसार टोखा–८ दुप्चेश्वर टोलको विभिन्न ठाउँमा बनाइएका संरचना हटाइएको छ । लामो समयदेखि नगरपालिकाभित्रको सार्वजनिक जग्गा व्यक्तिले भोगचलन गर्दै आएपछि बाध्य भएर हटाउन थालेको उहाँले बताउनुभयो । “संरचना भत्काउन पटक पटक सूचना जारी तथा प्रत्यक्ष भेटेर अनुरोध गरे पनि खाली नगरेपछि हटाएका हौँ”, नगरप्रमुख अधिकारीले भन्नुभयो । नगरभित्रका सम्पूर्ण सार्वजनिक जग्गा नगरपालिकाको संरक्षणमा हुनुपर्ने र कुनै व्यक्तिले पनि उपभोग गर्न नमिल्ने उहाँको भनाइ छ ।
