भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच शुक्रबार भेटवार्ता भएको छ । श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घे दुई दिने भारत भ्रमणमा हुनुहुन्छ । प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घेलाई नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा हार्दिक स्वागत गर्नुभएको छ । भेटवार्ताबारे भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ट्वीटगर्दै भन्नुभएको छ, “यस वर्ष दुई देशले कूटनीतिक सम्बन्धको ७५ औँ वर्षगाँठ मनाइरहेका बेला लामो समयदेखिको सम्बन्धलाई पुनरावलोकन गर्ने र थप गति दिने अवसर प्राप्त भएको छ । राजधानीको हैदरावाद हाउसमा वार्ता भइरहेको छ ।” यसअघि राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता गर्नुभएको थियो । भारतको छिमेक प्रथम नीति र भिजन सागरमा श्रीलङ्का एक महत्वपूर्ण साझेदार हो । यो भ्रमणले दुई देशबीचको लामो समयदेखिको मित्रतालाई अझ प्रगाढ बनाउनुका साथै सबै क्षेत्रमा पारस्परिक लाभका सहयोगका लागि मार्गको खोजी गर्ने अपेक्षा गरिएको छ । विक्रमासिङ्घे बिहीबार नयाँ दिल्ली आइपुग्नुभएको थियो । उहाँलाई केन्द्रीय विदेश राज्यमन्त्री भी मुरलीधरनले स्वागत गर्नुभएको थियो ।